Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुग्यो

फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुग्यो


काठमाडौं । फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुगेको छ । फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा (एनपीएल) न्यूनतम तीन दशमलव १२ प्रतिशतदेखि अधिकतम ३४ दशमलव ६४ प्रतिशतसम्म पुगेको छ ।

सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्सको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ दशमलव ६० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा यस आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ दशमलव ६४ प्रतिशत पुगेको छ । समृद्धि फाइनान्सको निष्क्रिय कर्जा पनि २३ दशमलव ४७ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा समृद्धि फाइनान्सको निष्क्रिय कर्जा चार दशमलव ७९ प्रतिशत थियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल फाइनान्सको निष्क्रिय कर्जा पनि बढेर क्रमशः १३ दशमलव ५६ प्रतिशत र १० दशमलव ३६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको निष्क्रिय कर्जा क्रमशः चार दशमलव ७२ प्रतिशत र ११ दशमलव ७५ प्रतिशत थियो । सेन्ट्रल र प्रोग्रेसिभ फाइनान्सको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः आठ दशमलव ७१ प्रतिशत र सात दशमलव ४७ प्र्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा क्रमशः सात दशमलव ४३ प्रतिशत र १२ दशमलव ४५ प्रतिशत थियो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टिपर्पस र गुडविल फाइनान्सको भने क्रमशः चार दशमलव ९७ र चार दशमलव ९१ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई फाइनान्समा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव २२ प्रतिशत र तीन दशमलव ९७ प्रतिशत थियो । बेस्ट, आईसीएफसी र गोर्खाज फाइनान्समा भने पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ९८, तीन दशमलव ६६ र तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको निष्क्रिय कर्जा क्रमशः पाँच दशमलव ४९, तीन दशमलव २३ र एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । श्री इन्भेस्टमेन्ट र मज्जुश्री फाइनान्सको निष्क्रिय कर्जा क्रमशः तीन दशमलव १९ र एक दशमलव २० प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सहरूको निष्क्रिय कर्जाको अनुपात क्रमशः एक दशमलव २० र दुई दशमलव ८५ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वित्तीय विवरणअनुसार पनि फाइनान्स कम्पनीहरूको औसत निष्क्रिय कर्जा बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये नौ दशमलव ८७ प्रतिशतले हुन आउने १० अर्ब दुई करोड २० लाख ९६ हजार सात रुपैयाँ बराबरको कर्जा निष्क्रिय देखिएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव २७ प्रतिशत अर्थात् तीन अर्ब एक करोड ९३ लाख ८० हजार सात सय रुपैयाँले बढी हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात अर्ब २७ लाख १६ हजार रुपैंयाँ बराबर निष्क्रिय कर्जा थियो ।

राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जाको अधिकतम सीमा पाँच प्रतिशतभन्दा नाघ्नु हुँदैन । यस्तो कर्जा तोकिएको अनुपातभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाही स्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x