काठमाडौं । सरकारले नेपाली श्रमिकलाई द्वन्द्वग्रस्त मुलुक इजरायल नपठाउने भएको छ । पछिल्लो समय इजरायलले दुई हजार जना नेपाली श्रमिक लैजाने तयारी गरे पनि द्वन्द्वका कारण तत्काल इजरायलमा नेपाली श्रमिक नपठाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।
इरायल र लेबनानबीच द्वन्द्व बढेसँगै सरकारले त्यहाँ रहेको नेपालीहरूको अवस्था बुझ्दै आएको छ । नेपाली श्रमिक इजरायल पठाएर जोखिम मोल्न नचाहेसँगै इजरायलको रोजगारी खुला हुन नसकेको विभागका अधिकारीहरू बताउँछन् ।
इजरायल र लेबनानबीच द्वन्द्व चर्किँदै गएसँगै परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूको अवस्था बुझ्नका लागि तेल अभिभस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो । सोही क्रममा नेपाली श्रमिक इजरायल पठाउने–नपठाउने बारेमा बुझ्नका लागि दूतावासलाई आग्रह गरेको थियो । दूतावासले इजरायलको बारेमा जस्तो निर्णय पठाउँछ, त्यहीअनुरूप अगाडि बढ्ने तयारी भइरहेको विभागले जनाएकोे छ ।
विभागका प्रवक्ता ऋषिराम तिवारीका अनुसार पछिल्लो समय श्रम मन्त्रालय र इजरायली पक्षले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रूपमा लैजाने सहमति गरे पनि कार्यान्वयन गर्न सक्ने अवस्था छैन । साउनमा श्रममन्त्री शरदसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारले तत्काल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कुल आठ सय नेपाली श्रमिक इजरायल लैजान सहमति जनाएका थिए । सो संख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जनासम्म लैजान सक्ने गरी सहमति गरिएको थियो । त्यसपछि विभागले प्रक्रियाअघि बढाएको थियो । विभागले इजरायल जान चाहनेको संक्षिप्त सूची तयार गर्नुको साथै श्रम स्वीकृति पनि दिँदै आएको छ ।
विभागले भदौ २४ गते करिब २१ जनाको सहायक श्रमिकको चिठ्ठा नतिजा निकालेको थियो । विभागले असारमा इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुकसँग आवेदन समेत माग गरेको थियो । पाँच सय जना मुख्य र तीन सय जना वैकल्पिक उम्मेदवारसहित कुल आठ सय जनाको लागि आवेदन माग गरेको थियो । मासिक सेवा सुविधा, काम गर्नुपर्ने अवधि र महिला र पुरुषको कोटासहित आवेदन माग गरेको विभागले हाल आएर भने इजरायल रोजगारी सुरक्षित नरहेको भन्दै श्रमिक पठाउने प्रक्रिया तत्काल अघि नबढाउने पक्षमा पुगेको हो ।
विभागले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इजरायलका लागि भने एक सय एक जनालाई श्रम स्वीकृति दिएको छ । नयाँ र श्रम स्वीकृति नवीकरण गरी सो संख्यामा श्रम स्वीकृति दिइएको विभागका प्रवक्ता तिवारीले जानकारी दिए । साउनमा २२ महिला र १७ पुरुष गरी ३९ जना, भदौमा १० पुरुष र २२ महिला गरी ३२ जना र असोज ३० महिला र सात पुरुष गरी ३० जनालाई इजरायलका लागि श्रम स्वीकृति दिइएको हो । गत आर्थिक वर्षमा सात सय एक महिला र तीन सय चार गरी एक हजार पाँच जनालाई इजरायल जान इच्छुक नेपाली श्रमिकलाई श्रम स्वीकृति दिइएको विभागले जनाएको छ ।
इजरयालस्थित नेपाली दूतावासले जस्तो जानकारी पठाउँछ सोहीअनुरूप विभाग अघि बढ्ने तयारी गरेको छ । दूतावासले इजरायलमा रहेका नेपालीहरूलाई जुनसुकै समयमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने भन्दै सचेत रहन इजरालयमा रहेका नेपालीहरूलाई आग्रह गर्दै आएको छ ।
इजरायलमा रहेका नेपालीहरूलाई त्यहाँको सुरक्षा नियमबारे जानकार रहन र सुरक्षित रहन आग्रह गर्दै आएको छ । अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन समेत दूतावासले आग्रह गर्दै आएको छ ।
इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था समान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय जना नेपाली सुरक्षित रहेको जानकारी परराष्ट्रलाई गराएका छन् । पराराष्ट्रले इजरायल र लेबनानमा रहेका नेपालीहरूको बारेमा भने जानकारी लिँदै आएको बताएको छ । परराष्ट्रका अनुसार इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनामा रहेका करिब एक हजार दुई सय नेपाली सुरक्षित रहेको बताएका छन् । लेबानमा रहेका अधिकांश नेपाली श्रमिक घरायसी काममा रहेको बताइएको छ । सरकारले द्वन्द्वग्रस्त मुलुकमा नेपाली श्रमिक पठाउन नहुने र त्यहाँ रहेकाहरूलाई समेत फिर्ता ल्याउनु आवश्यक छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी अनिवार्य रहेको मन्त्री भण्डारीले बताउँदै आएका छन् । तर अनिवार्य भए पनि द्वन्द्वग्रस्त मुलुकमा नेपाली पठाउन नहुने सरोकारावालाहरू बताउँछन् । वैदेशिक रोजगारीका लागि सुरक्षित गन्तव्य सरकारले खोज्नुपर्ने सरोकारावालहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया