निर्यातमा दिइने नगद अनुदान भुक्तानी गर्दै सरकार
काठमाडौं । निर्यात व्यापारलाई प्रोत्साहनस्वरूप अघि बढाइएको निर्यात नगद अनुदानको बाँकी रकम भुक्तानी गर्ने तयारी सरकारले गरेको छ । यसअघि पनि निर्यातमा नगद अनुदान भुक्तानी गर्दै आएको सरकारले चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएको छ ।
निर्यात नगद अनुदान भुक्तानीको लागि नेपाल राष्ट्र बैंक र उद्योग विभागले आवश्यक समन्वयमा काम गरिरहेको छ । निर्यात नगद अनुदानका लागि राष्ट्र बैंकले आवश्यक जानकारी विभागलाई पठाउने छ । विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार निर्यात नगद अनुदान रकम वितरणको लागि आवश्यक कागजात राष्ट्र बैंक समक्ष माग गरेको बताए । ‘निर्यात नगद अनुदानका लागि उद्योगीहरूले वाणिज्य बैंकमा दिएको आवेदन राष्ट्र बैंकले संकलन गर्दै आएको छ,’ उनले भने, ‘राष्ट्र बैंकबाट आवश्यक कागजात आएपछि अनुदान वितरण अघि बढ्ने छ ।’
करिब तीनदेखि चार अर्ब निर्यात नगद अनुदान रकम वितरण गर्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा गरेर उक्त रकम बाँकी रहेको राष्ट्र बैंकका अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि यकिन रकम भने पुस मसान्तभित्र आउने उनीहरूले बताए । निर्यात नगद अनुदान लिनका लागि उद्योगीहरूले पुस मसान्तभित्रमा आवेदन दिने हुँदा सोही समयमा रकम पनि यकिन हुने बताइएको छ ।
सरकारले चालू आर्थिक वर्षको लागि निर्यात नगद अनुदान शीर्षकका लागि एक अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड रुपैयाँ वितरणका लागि अर्थले विभागलाई रकम पठाएको छ । राष्ट्र बैंकले अनुदानका लागि आवश्यक तथ्याङ्क संकलन गर्न नसक्दा रकम वितरणमा ढिलाइ भएको निर्देशक ओलीले बताए । ‘पहिलो त्रैमासमा ६५ करोड रुपैयाँ वितरण गर्ने योजना रहेको थियो आवश्यक कागजात उपलब्ध नहुँदा दोस्रो त्रैमासको लागि सरेको छ, उनले भने, पुस मसान्तसम्म उद्योगीले बैंकहरूमार्फत् आवेदन दिने हुँदा दोस्रो त्रैमासमा रकम भुक्तानी गरिने छ ।’
निर्यात नगद अनुदान भुक्तानीको लागि उत्पादनमा समेत निर्भर रहने विभागका अधिकारीहरूको भनाइ छ । ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९’भित्र रही रकम वितरण गर्नुपर्ने हुँदा तोकिएको वस्तु, वस्तु उत्पादनमा मूल्य अभिवृद्धि, आवेदन, अनुगमनलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । वस्तुहरूको उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत, ५० प्रतिशत, ७० प्रतिशत र ८० प्रतिशत गरी वस्तु निर्यात गरेमा नगद अनुदानको व्यवस्था गरिएको छ ।
कुनै उद्योगले एक आर्थिक वर्षमा आफनो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यको आधारमा बढीमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने भएको छ । अनुसूची १ बमोजिमको वस्तुको निर्यात गरेमा कुल निर्यात मूल्यको पाँच प्रतिशतले हुन आउने रकम, अनूसूची २ बमोजिमका वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको चार प्रतिशतले हुन आउने रकम, दफा ४ को उपदफा १ बमोजिमको सूत्रको आधारमा अनुसूची १ बमोजिमका वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत र अनुसूची २ बमोजिमका वस्तुको उत्पादनमा कम्तीमा ७० प्रतिशत मूल्य अभिवृद्धि गरी वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको एक प्रतिशतले हुन आउने थप रकम अनुदानबापत प्राप्त गर्न सक्नेछन् ।
पुरानो व्यवस्थाअनुरूप तीन प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो । निर्यातकर्ताले निर्यात गरेबापत पाउने अनुदान जुन आर्थिक वर्षमा प्राप्त गरेको हो, सोही आर्थिक वर्षको वासलातमा हिसाब देखाई आम्दानी बाँध्नुपर्ने व्यवस्था रहेको छ ।
गत आर्थिक वर्षसम्म करिब चार अर्ब रुपैयाँ निर्यात नगद अनुदान रकम वितरण गर्न बाँकी रहेकोमा सोही वर्ष ९० करोड रुपैयाँ वितरण गरिएको थियो । उक्त रकम गत आर्थिक वर्षको पहिलो त्रैमासमा वितरण गरिएको हो । यता व्यवसायीहरूले भने आर्थिक वर्ष २०७९/८० देखि साढे तीन अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताउँदै आएका छन् । फडेरेसन अफ नेपाल एक्सपोर्टस एसोसिएसनका अनुसार दुई वर्षको साढे तीन अर्ब रुपैयाँभन्दा बढी अनुदान रकम प्राप्त हुन सकेको छैन । अनुदान रकम पाउन नसक्दा उद्योगीहरू समस्यामा परेको एसोसिएसनका अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् । कार्यविधिअनुरूप उद्योगहरूले अनुदानको लागि प्रतीतपत्र (एलसी) अर्थात् ग्राहकको अनुरोधमा बैंकले ग्यारेन्टी बसिदिने अनिवार्य छ भने कच्चापदार्थ विदेशबाट ल्याएको हकमा भने ३० प्रतिशत भ्यालु एड समेत हुन आवश्यक छ । अनुदान लिन निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंकमा दाखिला भएको कागजात र कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ । निवेदन दिँदा निकासी प्रयोजनको लागि जुन बैंक (‘क’ वर्ग) बाट कारोबार गरिएको हो उक्त कागजात पेस गर्नुपर्ने हुन्छ ।
निर्यातजन्य अनुदान प्राप्त गर्ने उत्पादनहरूमा भने प्रशोधित चिया, प्रशोधित कफी, प्रशोधित अलैँची, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, पिउने पानी, उत्पादित कपडा, तयारी पोशाक, गलैँचा र उनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान, पोलिस्टार यार्न/फाइबर भिस्कोर्ष यार्न÷एक्रेलिक यार्न/कटन यार्न, तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटा समान तथा अन्य भाँडाकुँडा)को वर्चस्व रहेको छ । उक्त उत्पादनकर्ता तथा उद्योगीहरूलाई भने निरन्तर निर्यात नगद अनुदान पाउँदै आएको विभागले जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३० करोड ९६ लाख रुपैयाँको निर्यात हुँदा एक अर्ब ४२ करोड ८५ लाख रुपैयाँ निर्यात अनुदान रकम वितरण गरिएको छ भने आर्थिक वर्ष २०७७/७८ मा एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँको सामान निर्यात भएकोमा एक अर्ब २८ करोड ८६ लाख रुपैयाँ निर्यात नगद अनुदान रकम वितरण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया