Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयात्रुलाई सात घण्टा विमानमै थुन्यो नेपाल वायुसेवा निगमले

यात्रुलाई सात घण्टा विमानमै थुन्यो नेपाल वायुसेवा निगमले


काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेको आरएनए २१७ विमान बुधबार तोकिएको समयभन्दा सात घण्टा ढिला गरी काठमाडौंबाट भारतको राजधानी नयाँदिल्ली उडेको छ । सात घण्टासम्म यात्रुलाई सास्ती दिए पनि निगमले यात्रुहरूलाई कुनै जानकारी भने दिएन । एक यात्रुले आर्थिक दैनिकलाई दिएको जानकारीअनुसार बुधबार दिउँसो १ बजेर ४५ मिनेट जाँदा काठमाडौंबाट नयाँदिल्ली उड्नुपर्ने उक्त विमान राति ८ बजेर २५ मिनेट जाँदा मात्र उडेको थियो ।

दिउँसो १ बजेर ४५ मिनेटमा विमान उडान हुने भएपछि यात्रुहरू बिहान ११ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यात्रुहरू ११ बजे विमानस्थल पुगेर बोर्डिङ पास लिएपछि मात्र साँझ छ बजेर ४५ मिनेटमा मात्र उड्ने जानकारी दिइयो । तर, उक्त विमान छ बजेर ४५ मिनेटमा पनि उड्न सकेन ।

त्यसपछि निगमले यात्रुहरूलाई चाँडै उड्ने भनेर साँझ ७ बजे विमानमा चढाएको थियो । तर, त्यसको झण्डै डेढ घण्टा अर्थात् ८ बजेर २५ मिनेटमा मात्र उक्त विमान काठमाडौंबाट नयाँदिल्लीका लागि उड्यो । डेढ घण्टा विमानमा यात्रुलाई थुनेर राख्दा पनि निगमले कुनै कारण बताएन ।

समयमै उड्ने भनेर विमानस्थल पुगेका यात्रु झण्डै साढे आठ घण्टा विमानस्थलमा रुमलिएर बस्नुपरेको थियो । निगमले यात्रुप्रति गरेको व्यवहारले अन्तर्राष्ट्रियस्तरमै बदमासी भएको छ । अर्कोतिर साढे आठ घण्टा किन यात्रुलाई अलपत्र पारियो भन्ने बारेमा पनि कुनै जानकारी नदिनाले नागरिकको सुसूचित हुने अधिकार पनि हनन् भएको छ ।

निगमको लापरबाहीको कारण दिल्लीलाई ट्रान्जिट बनाएर आफ्नो अन्तिम गन्तव्यमा जानुपर्ने यात्रुलाई ठूलो समस्या परेको छ । कतिपय यात्रुका दिल्लीबाट हुने उडान छुटेको छ । नयाँ उडानको लागि यात्रुहरूले छुट्टै थप पैसा खर्च गर्नुपरेको छ । दिल्लीबाट अर्को उडान छुटेकाहरूले अर्को विमानको लागि थप भाडा मात्र होइन दिल्लीमा होटलमा बस्न पनि थप खर्च गर्नुपरेको छ ।

निगमसँग अहिले दुईवटा वाइड र दुईवटा न्यारो गरी चारवटा अन्तर्राष्ट्रिय उडानका विमान छन् । ती चारवटा विमानको उडानसमेत मिलाउन नसक्दा निगम व्यवस्थापन मात्र होइन पर्यटन मन्त्री बन्द्री पाण्डेको क्षमतामाथि पनि प्रश्न उठेको छ । निगमको व्यवस्थापनको लापरबाहीको कारण यात्रुले दुःख पाएको यो पहिलो घटना भने होइन । तर, विनाजानकारी विमानस्थलमा साढे आठ घण्टाभन्दा बढी कुर्नुपर्ने अवस्था आएको चाहिँ पाण्डे पर्यटन मन्त्री भएपछिको पहिलो घटना हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x