वैदेशिक लगानी भित्र्याउन सहज बन्दै स्वचालित मार्ग
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीलाई थप सहज बनाउन वैशाख १७ गतेदेखि कार्यान्वयनमा आएको स्वचालित मार्ग फलदायी बन्दै गएको छ । ‘लगानी सम्मेलन २०२४’मा घोषणा गरी सञ्चालनमा ल्याइएको प्रत्यक्ष वैदेशिक लगानीमा स्वचालित मार्गबाट अहिले लगानी प्रतिबद्धता आउने क्रम बढेको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार विदेशी लगानीलाई सहजीकरण गर्ने उद्देश्यका साथ ल्याएको स्वचालित मार्गबाट हालसम्म नौ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । स्वचालित मार्ग सञ्चालनमा आएको करिब छ महिना नबित्दै उद्योग तथा व्यवसाय स्थापनाका लागि करोडौँ रकमको प्रतिबद्धता आउनुलाई सकारात्मकरूपमा लिनुपर्ने विभागका निर्देशक अर्जुन सेन ओलीले बताए । कार्यान्वयनमा ल्याएको समयमा पनि करोडौँ विदेशी लगानी स्वीकृत गरिएकोमा पछिल्ला दिनहरूमा पनि निरन्तर लगानी प्रतिबद्धता आउनु सकारात्मक पक्ष भएको विभागका अधिकारीहरू बताउँछन् ।
विदेशी लगानीकर्ता भौतिकरूपमा उपस्थित हुनु नपर्ने र लगानी ल्याउनका लागि लगानीकर्ता नेपाल आउन नपर्ने भएकाले स्वचालित मार्गबाट लगानी आउने क्रम बढेको विभागले जनाएको छ । लगानीकर्ताहरू विश्वको जुनसुकै स्थानमा भए पनि उनीहरूले नेपालको उद्योग तथा व्यावसायिक क्षेत्रमा लगानी रकम भित्र्याउन सक्ने व्यवस्था स्वचालित मार्गले गरेको छ । शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिको लागि लगानी गर्ने र स्वचालित मार्गबाट विदेशी लगानी स्वकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनको लागि विभागले ऐन तथा यस नियमावलीबमोजिम विदेशी लगानीको स्वीकृतिको लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणलीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गरिएको हो ।
विभागका अनुसार स्वचालित मार्ग सञ्चालनमा आएदेखि असोजसम्म नौ अर्ब १२ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता दुई सय १२ वटा उद्योगको लागि आएको हो । वैशाखमा एक अर्ब ५० करोड ८२ लाख रुपैयाँ, जेठमा चार अर्ब १३ करोड ९५ लाख रुपैयाँ, असारमा दुई अर्ब ४६ करोड ८४ लाख रुपैयाँ, साउनमा ५९ करोड ७५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । त्यस्तै भदौमा २६ करोड ५० लाख रुपैयाँ र असोजमा १५ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता वैशाखमा २२ वटा, जेठमा ६८ वटा, असारमा ४९ वटा, साउनमा ३१, भदौमा २१ र असोजमा २१ वटा उद्योगको लागि आएको हो । लगानी प्रतिबद्धता आएको मध्ये एकल र संयुक्तरूपमा आएको विभागले जानकारी दिएको छ । एकल र संयुक्त लगानी आएको वर्गीकरण नगरे पनि एकलभन्दा संयुक्तरूपमा आउने लगानी प्रतिबद्धता बढी रहेको विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जानकारी दिएको छ । स्वचालित मार्गको आकर्षणको रूपमा रहेको एकल र संयुक्त लगानीमध्ये लगानीकर्तालाई छनौटको अधिकारी समेत दिइएको छ ।
विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्बद्ध निकायहरूलाई प्रणालीमार्फत नै स्वचालितरूपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण मानिएको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म भएको उद्योग तथा व्यवसाय आउन सक्ने व्यवस्था गरिएको छ । उक्त प्रणालीमार्फत विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता मात्र जनाउन सक्नेछन् । लगानीको लागि पहिलो चरणको काम भने स्वचालित मार्गबाट हुनेछ । जसले गर्दा लगानी प्रतिबद्धता मात्र गर्नका लागि नेपाल आइरहने प्रवृत्तिबाट लगानीकर्ता मुक्त हुनेछन् । विदेशी अर्थात् लगानीकर्ताले लगानी नेपालको ऐन, नियमा रही लगानी प्रतिबद्धता प्रणालीमार्फत जनाउँछन्, त्यसलाई विभागले स्वीकृत गर्दछ । लगानी रकम स्वीकृतिपश्चात् भने उनीहरू नेपाल आउने वा नेपालमा रहेका प्रतिनिधिमार्फत उद्योग दर्ता, परियोजना प्रस्ताव, कम्पनी दर्ता, साझेदारिता, उत्पादन विवरण, जग्गा प्राप्ति, भिसा प्राप्तिलगायतका प्रक्रियाहरू अघि बढाउन सक्नेछन् ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट आउने विदेशी लगानीलाई सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्नसक्ने व्यवस्था गरेको हो । साथै, स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा समेत तोकिएको छ । स्वचालित मार्गबाट आउने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय तोकिएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्नका लागि स्वचालित मार्गका लागि नयाँ नीति लिएको विभागका अधिकारीहरूले बताएका छन् । यसअघि स्वचालित मार्गबाट १० करोड रुपैयाँसम्म लगानी स्वीकृति गर्ने व्यवस्था थियो । सो समयमा स्वचालित मार्गबाट १० करोड रुपैयाँ लगानी स्वीकृति दिने र सात दिनभित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने, लगानी स्वीकृति र उद्योग सञ्चालनसम्बन्धी बाँकी प्रक्रिया छ महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।
विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न सक्नेछन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट आउने विदेशी लगानीलाई सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्नसक्ने व्यवस्था गरेको हो । लगानी प्रतिबद्धताका साथै उक्त मार्गबाट नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए), साझेदारी सदस्यता सम्झौता (एसएसए) र प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गर्नसक्ने व्यवस्था गरिएको छ । अर्कोतर्फ सामान्य तवरबाट आउनेभन्दा स्वचालित मार्गबाट आउने लगानी रकम कमी भए पनि निरन्तर रकम आउने राम्रो मानिएको छ । कतिपय पुराना लगानीकर्ता र सीमित नयाँ लगानीकर्ता सामान्य तवर अर्थात् भौतिकरूपमा नेपाल आएर लगानी गर्नेगरेका छन् भने यहाँ आउन नमान्ने तर लगानी गर्न इच्छुक लगानीकर्ताले स्वचालित मार्ग अपनाएका विभागका अधिकारीहरूले बताए ।
सामान्य र स्वचालित दुवै मार्गबाट लगानी आउँदा भने मुलुकको अर्थतन्त्रमा फाइदा पुग्छ । स्वचालित मार्गबाट लगानी प्रतिबद्धता आएअनुरूप लगानी रकम भित्र्याउन सके मात्र फलदायी हुने उद्योगीहरू बताउँछन् । लगानी प्रतिबद्धता आउने र सोहीअनुरुप वातावरण बनाए मात्र मुलुकको औद्योगिक तथा व्यावसायिक क्षेत्र लाभान्वित हुनसक्छ यदि पुरानै समस्याहरू यथावत् रहेमा स्वचालित मार्ग पनि फलदायी हुन नसक्ने उद्योगी रशिदमिर्जा वेग बताउँछन् ।
औद्योगिक विकासको लागि नेपालमा जग्गा प्राप्ति, सडक, बिजुली, भण्डारलगायतका समस्याहरू यथावत् रहेका छन् जसले गर्दा आएको लगानी समेत फिर्ता हुने अवस्था रहेको छ । अर्कोतर्फ झन्झटिलो प्रक्रिया र कर्मचारी प्रशासनले दिने दुःख, र लगानीपश्चात् लैजाने मुनाफामा विश्वस्त हुन नसक्ने अवस्थाका कारण विदेशी लगानी आकर्षित भएको पाइँदैन । सामान्य तवरबाट चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । एक सय ३१ वटा उद्योग र छ हजार पाँच सय ४३ जनालाई रोजगारीसहित उक्त लगानी प्रतिबद्धता जनाएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया