यथास्थितीकरण
काठमाडौं । संसार परिवर्तनशील छ । समाज परिवर्तनशील छ । हरेक वस्तु र घटनाहरू परिवर्तनशील छन् । निरन्तर परिवर्तन हुनु नै प्रकृतिको नियम हो । यसैले यथास्थितिवाद संसारका नियमहरूको बर्खिलाप छ । तर यसो भन्दैमा खुरुखुरु परिवर्तन हुन मात्र दिने सजिलो अवस्था छैन । यसमा पुरानाहरूले सवै कुरालाई पुरानैरूपमा राखिरहन खोज्ने शक्ति र प्रवृत्ति पनि यहाँ विद्यमान छन् भन्ने कुरालाई हामीले गौर गरेर बुझ्नुपर्छ । यो हाम्रो विकासका नियमहरूमा लागू हुन्छन । समाज विकासमा लागू हुन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा लागू हुन्छन् । राजनीतिमा पनि लागू हुँदै आइरहेका छन् । यसैले यो भन्न सकिन्छ कि परिवर्तनका नियमहरू सर्वव्यापी छन् । यसैले जो यसकाविरुद्ध जान्छ उसलाई यथास्थितिवादी भन्न सकिन्छ । राजनीतिमा यथास्थितिवादी र परिवर्तनकारी शक्ति भनी यसैले छुटयाउनु परेको हो । यथास्थितिवादी र परिवर्तनवादी शक्तिको बीचमा जहिले पनि द्वन्द्व भइरहन्छ । यहि दुई शक्तिको बीचमा द्वन्द्व भएरै अहिलेसम्म परिवर्तनका अवयवहरू श्रृङ्खलाबद्धरूपमा अगाडि बढेर यहाँसम्म आइपुगेको हो । म हाम्रो देशको राजनीतिभित्र यही परिवर्तनकामी र यथास्थितिबीचको टकरावको शृङ्खलाहरूलाई यहाँ राख्न चाहन्छु ।
राजतन्त्र
राजतन्त्रभित्र पनि पृथ्वीनारायण शाह एउटा कुशल राजनीतिज्ञ र परिवर्तनकामी राजा थिए । उनले परम्परागतरूपमा भाइ अंश लगाई टुक्रिएर कमजोर भएका राज्यहरूलाई एकजुट बनाई एउटै राज्य बनाउने सोचले काम गरे । नेपाल मण्डलभित्रका यसैगरी टुक्रिएका अरू राज्यहरूलाई पनि एकीकरण गरी एउटा बलियो राज्य बनाउनु त्यस बेलाको समयको माग थियो । किनभने नजिकै भारतमा संसारभर साम्राज्य फैलाउँदै गइरहेको अंग्रेजको शासन थियो । उनीहरूबाट नेपाललाई बचाउनु पनि थियो । बलियो र एकिकृत राज्य बिना यो काम गर्न सकिँदैन थियो । उनले नेपालको एकिकरण गरि बलियो र ससक्त राज्य बनाएको देखिन्छ । अंग्रेजलाई नेपाल खानबाट बचाएको नै देखिन्छ । यस दृष्टिकोणबाट नियाल्दा पृथ्वी नारायण शाहलाई दक्षिण एसियाका साम्राज्यवाद विरोधी नेता थिए भन्न सकिन्छ । पृथ्वी नारायण शाहको नीति पनि देश र जनताको हित अनुकूल भएको देखिन्छ । म उनको दिव्य उपदेशलाई पनि यहाँ राख्न चाहन्छु ।
आर्थिक नीतिको सम्बन्धमा
– खानी भएको ठाउँमा गाउँ छ भने पनि त्यसलाई सारेर खानी चलाउनु ।
– कपडा बन्न जान्नेलाई नमुना बनाई देखाइदिनु ।
– आफ्नो देशको जडीबुटी देश लैजानु र नगद खैचिनु ।
– प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतानहरू हुन् ।
आन्तरिक नीति
अन्याय मुलुकमा हुन नदिनू । निञा निसाप बिगान्य्रा भन्याको घुस लिन्या र घुस षान्या हुन । ईन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, यी राजाका महासतुर हुन ।
विदेश नीति
‘यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीन बादशाहसँग ठूलो घाहा राख्नु । दषिण समून्द्रको बादशाहसँग पनि घाहा त राख्नु । तर त्यो माहाचतुर छ । हिन्दुस्थाना दबाईराख्या छ । सरजिमीमा परिरहेछ । हिन्दुस्थान जाग्यो भनि कठिन पर्नेछ भनि किल्ला खोज्न आउन्याछ ।’
माथिको भनाइबाट विचार गर्दा पृथ्वी नारायण शाह त्यस जमानाका परिवर्तनकारी राजा थिए । तर उनी पछि उनका सन्तानहरूले उनका उपदेशहरूलाई बेवास्ता गरी चलेको देखिन्छ । राजा महेन्द्रको समयमा पुनः पृथ्वी नीतिलाई अनुशरण गरेको भन्न सकिन्छ । राजा महेन्द्रको २०१७ शालपछिका दश वर्षमा उद्योगधन्दाको व्यापकरूपमा स्थापना भएको देखिन्छ । संसारका थुप्रै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापनाका कारण नेपाल एउटा अखण्ड र असंलग्न राष्ट्रकोरूपमा संसारको सामु चिनाउन पनि सफल भएको कुरा कतै नछिपेको तथ्य हो । पूर्ब पश्चिम राजमार्ग लगायत देसका महत्वपूर्ण राजमार्गहरू यसै बेला बनेको हो । शिक्षा क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको स्थापना यसैबेला भएको हो । उत्तरी सिमानामा १७ ठाउँमा रहेको भारतीय सेनाका चेकपोस्टहरू यसैबेला हटाइएको थियो । किसानको हितमा मोहियानी हकको स्थापना र जमिन्दारहरूलाई जमिनको हदबन्दी तोकिएको थियो । वास्तवमा यी कामहरू राजा महेन्द्रले उत्तरी छिमेकी देश चीनका शासक माओको सल्लाहबमोजिम गरिएको भन्ने छ । जे भए पनि राजा महेन्द्रले पृथ्वी नारायण शाहको उपदेश हुबहु लागू गरेको मान्न सकिन्छ । यिनीपछि यिनका छोरा वीरेन्द्र पनि भद्र र जनताको हित अनुकूल शासन गर्नुपर्छ भन्ने राजा नै थिए । विश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्नु र असंलग्न परराष्ट्र नीतिलाई बलियोसँग अपनाउन कोसिस गर्नु राजा वीरेन्द्रको स्वाधीन राष्ट्रको रूपमा नेपाललाई उभ्याउने प्रयास थियो । तर यो बेलासम्म परिस्थिति निकै परिवर्तन भइरहेको थियो । संसारभर लोकतन्त्रको हावा चलिरहेको समय थियो । लोकतान्त्रिक आन्दोलनलाई राजा वीरेन्द्रले दबाउन चाहेका थिएनन् । भाइ ज्ञानेन्दले भने परिस्थितिलाई यथास्थानमा राख्न चाहेका थिए । यहीबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय यथास्थितिवादी शक्ति मिलेर राजा वीरेन्द्रको वंश नाश गरेको अनुमान सबैले गरेका छन् ।
राजा ज्ञानेन्द्रको शासन र सात दल
राजा ज्ञानेन्द्र जुन समय निकै शक्तिशाली थिए । वीरेन्द्रको वंशनाशपछि श्रीपेज पहिरेका उनले भन्ने गरेका थिए । ‘म दाजुजस्तो शासक होइन ।’ कडाइका साथ निरंकुश शासन गर्ने उनको भनाइको आशय थियो । तत्कालीन सात दलमा पनि निराशा र कुण्ठाबाहेक केही बाँकी थिएन । संवैधानिक राजतन्त्र कालमा जनताका अपेक्षा पूरा गर्नतिरभन्दा पजेरो संस्कृति र भ्रष्टाचारमा रमाइरहेका शासकहरूलाई ज्ञानेन्द्रले सबक सिकाइरहेका थिए । राजालाई दाम चढाउने र प्रधानमन्त्रीका लागि नारायणहिटीमा निवेदन हाल्ने तहमा नेताहरू ओर्लिएका थिए । यसबाट के भन्न सकिन्छ भने ज्ञानेन्द्र जति यथास्थितिका पक्षपाति थिए त्यति सात दल पनि थिए भन्न सकिन्छ । मदन भण्डारी र मनोमोहन जीवित रहँदाको कार्यकाल छोडेर संवैधानिक राजतन्त्रको त्यो समयलाई नियाल्ने हो भने यस्तै देखिन्थ्यो । सात दलका विरोध कार्यक्रमहरूमा मानिसहरू भेला हुनै छाडेका थिए । कारण जनतामा दलप्रति कुनै आशा भरोसा मरिसकेको अवस्था थियो ।
माओवादीसँग सात दलको सहकार्य
ज्ञानेन्द्रले लात हान्न थालेपछि गिरिजाप्रसाद कोइरालाले माओवादीसँग सहकार्यको प्रस्ताव पठाए । माओवादी नेता प्रचण्डले गिरिजालाई, ‘तपाईं राजा नभन्नुस म बहुदललाई स्वीकार गर्छु भन्ने सन्देश पठाए ।’ यसपछि भएको दोस्रो जनआन्दोलनले पुनः दलहरूको शासन आयो । विस्तारै राजा फालिए, गणतन्त्र आयो । यस बेलाको परिवेशसम्म सात दल पनि यथास्थितिबाट परिवर्तनकामीको रूपमा रूपान्तरित भएको भ्रम नेपाली जनतालाई परेको थियो । गणतन्त्र आएपश्चात् भएको चुनावबाट माओवादी पार्टीले बहुमत ल्याएसम्म माओवादी पार्टी यथास्थितीकरणको विपक्षमा र परिवर्तनकामी शक्तिको रूपमा देखिन्थ्यो । तर राष्ट्रपतिको चुनावमा गिरिजाप्रसाद कोइरालालाई समर्थन नगर्नेबित्तिकै प्रचण्ड काम्रेडको कोइरलासँग मनमुटाव बढ्यो । जसबाट चुनाव जितेर आए पनि गिरिजाप्रसाद कोइरालाले तीन महिनासम्म प्रमको पद छोड्नै मानेनन् । उनले राखेको सर्त मान्य हुने सर्तमा मात्र प्रचण्डलाई सत्ता छोड्न राजी भए । सर्वसम्मत निर्णय गर्ने परिपाटीलाई बदलेर बहुमतको निर्णय गर्ने परिपाटीलाई मान्नुपर्ने सर्त थियो । यसपछि भने माओवादी पार्टीलाई पनि संसदीय व्यवस्था फलामको चिउरा चपाएसरी भयो । पुराना दलहरू यथास्थिति चाहन्थे माओवादीले अग्रगमन त भनेको थियो तर यो कस्तो हो ? व्यवहारमा नदेखिकन माओवादी पार्टीमा पनि विखण्डन सुरु भयो । यसपछि भने माओवादी पार्टी पनि कमजोर भयो र यथास्थितिमै रमाउन थालेको महसुस सबैले गरेका थिए ।
हर्क, बालेन र गोपी हमालको उदय
नेपालको राजनीतिमा हर्क, बालेन र गोपी हमालको उदय भयो । यो स्थानीय निकायमा पूर्वमध्य र पश्चिम नेपालमा समेत सबैतिर प्रभाव पर्नेगरी नयाँ सोच र नयाँ विचारको उदय भएको थियो । हर्क बालेन र गोपी हमालदेखिँदा व्यक्ति देखिए पनि यिनीहरूको आगमन जनआक्रोशको विस्फोटन थियो । निश्चित विचार र सिद्धान्तले परिपक्व नभए पनि यो राजनीति र समाजलाई यथास्थितीकरण गरिराख्ने शक्तिको विरुद्ध थियो । आजको मितिसम्म यिनीहरू यथास्थितिको विरुद्ध उभिएको नै देखिन्छ । यथास्थितिमा रमाउने शक्तिहरू अहिले पनि उनीहरूलाई यथास्थितिमा कसरी ल्याउने भन्ने कसरत गरिरहेको देख्न सकिन्छ । यसैले उनीहरू यी तीन व्यक्तिहरूको खुब विरोध गर्छन् र रिस गर्छन् । मिल्ने भए थुन्ने र कार्यवाही गर्नेसम्मको हर्कतमा यथास्थितिवादी शक्तिहरू देखिएका छन् ।
संसद्मा रविको आगमन
रविको रास्वापा पार्टी बालेन, हर्क र गोपी हमालको विजयबाट उत्साहित भएर देखापरेको अर्को शक्ति हो । यो पार्टीसँग पनि विचार र सिद्धान्त त केही पनि छैन । उत्साह उमंग र नयाँ केही गरौँ भन्ने जोस जाँगरचाहिँ सिर्जना भएरै आएको हो । रविका आफ्ना व्यक्तिगत कमजोरीलाई बिर्सने हो भने यसले पनि राजनीतिमा भएको यथास्थितिलाई रोक्न ताकत राख्ने मनसाय यसमा भएको देखिन्छ । स्वयं काम्रेड प्रचण्ड र नारायणकाजीजस्ता नेताहरूलाई संसदीय व्यवस्थाभित्र बसेर केही गर्न सकिँदैन होला भन्ने मरिसकेको जागर पुनः सिर्जना गरेर रक्तसञ्चार गरेको अनुभूति हुन्छ । नेता नारायणकाजीले आफू गृहमन्त्री हुँदा ठूलाठूला भ्रष्टाचारका फाइल खोल्नु र यसमा कार्यवाहीका लागि प्रयास गर्नु यसैको प्रतिफल हो भन्न सकिन्छ ।
अन्तमा कुनै पनि वाद र व्यवस्था आउनु नै सफलताको कसी होइन । बरु सफलता यसको कार्यान्वयन पक्ष कस्तो छ ? त्यसमा भर पर्छ । ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारमाथि निर्मम नहुने हो भने चीनले कसरी प्रगति गर्न सक्थ्यो र सिङ्गापुर कसरी सिङ्गापुर हुनसक्थ्यो ? उदाहरण यही नै काफी छ । यथास्थितिलाई रोक्न सक्ने क्षमता नयाँ पिढीमा जति विकास हुन सक्छ । नेपालको भविष्य त्यसमै निर्भर बन्नेछ । यसैले परिवर्तनको पक्षमा घरघरबाट उठ्नुपर्छ, हरेक पार्टीबाट जाग्नुपर्छ । बस्तीबस्तीबाट उठ्नुपर्छ । परिवर्तनको बिगुल देशैभर फुकिनुपर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया