Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो सेयरबजारमा पनि उत्साह

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो सेयरबजारमा पनि उत्साह


वासिङट्न । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा जित हासिल गरेपछि डलरको मूल्यमा उच्च वृद्धि भएकोे छ । यस्तैे सेयरबजारमा पनि तीव्र वृद्धि भइरहेको छ । यस्तै बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले भने ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका हुन् । धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भएको थियो ।

युरोपका मुख्य सेयर सूचकांकहरू बुधबार बिहानको कारोबारमै घटेका छन् । एसियाली बजारमा जापान, भारत र ताइवानको बजार बढ्यो । बाँकी धेरैजसो देशका सेयरबजारमा गिरावट देखियो । चीनको बजार पनि घट्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ कम्पनीको सेयरमूल्य प्रभावित भयो । बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।

‘ट्रम्प ट्रेड पूर्ण गतिमा छ’, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भने । ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ । यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ । यसले मुख्य प्रतिद्वन्द्वीविरूद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध एक दशमलव पाँच प्रतिशतभन्दा बढीले बढ्यो । फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दैछ ।

‘फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अंक कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ, ट्रम्पका नीतिहरू स्वाभाविकरूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दैछौँ’, स्कोप मार्केटका विश्लेषक जोशुआ महोनीले पूर्वानुमान गरे ।

बिटक्वाइनको मूल्य छ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको छ । ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबीच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ’, स्ट्रिटरले भने, ‘ट्रम्पको अर्को राष्ट्रपतिकालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उनका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ ।’ रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x