Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरोडौं मूल्यका रुद्राक्ष यत्तिकै थन्कियो

करोडौं मूल्यका रुद्राक्ष यत्तिकै थन्कियो


रामहरी चौलागाइँ
काठमाडौँ, असार २४
कोरोना महामारीका कारण नेपालबाट चीनतर्फ निर्यात हुँदै आएको करोडौं मूल्यबराबरका रुद्राक्ष यतिकै थन्किएको छ । गत मसिंर महिनादेखि चीनमा कोरोना भाइरस संक्रमण सुरु भएयता गरिएको लकडाउन र बन्द अन्तर्राष्ट्रिय उडानले नेपालमा संकलित भएको करोडौं मूल्यबराबरको रुद्राक्ष त्यसै थन्किएको हो । व्यापारीहरुले गाउँगाउँबाट किसानसँग खरिद गरी संकलन गरेको करोडौं मूल्यको रुद्राक्ष ठमेल र बौद्ध क्षेत्रमा त्यसै थन्किएर अलपत्र अवस्थामा रहेको भोजपुरका व्यापारी पुष्प घलेले बताए ।

उनका अनुसार साउनदेखि कात्तिक महिनासमम रुद्राक्षको सिजन चल्छ । झापातिर साउनदेखि नै रुद्राक्ष पाकेर यसको संकलन हुनथाल्छ भने पहाडी भेगतिर केही ढिलो हुन्छ । साउनदेखि मंसिर महिनासम्म संकलन गरिएको रुद्राक्ष खरिदको लागि फागुनदेखि व्यापारीहरुको चहलपहल सुरु हुने गरेको घलेले बताए । तर यसपालि सिजन सुरु हुनुअगावै कोरोना महामारी चलेपछि यसको व्यापार चौपट भएको छ । महंगोमा गाउँ–गाउँबाट संकलन गरेर काठमाडौं ल्याइसकेको रुद्राक्ष चिनियाँ व्यापार आउन नसक्दा थन्किन पुगेको छ ।

फागुन महिनादेखि चिनियाँ व्यापारीहरु रुद्राक्ष खरिदको लागि आउने गरेका थिए । तर अहिले कोरोना महामारीका कारण व्यापारीहरु नआएका कारण गोदाममा त्यसै थन्काएर राख्नुपरेको गुनासो उनको छ । अहिले संकलित रुद्राक्ष गोदाममा थन्किएर रहेको कारण मूल्यमा पनि गिरावट आएको छ । यसैको व्यापार गरेर परिवार र आफ्नो गुजारा चलाउँदै आएका व्यापारीहरु अलमलमा परेका छन् । उनीहरु कोरोना कहिले नियन्त्रण होला र व्यापारी आउलान् भनेर प्रतीक्षा गरेर बसेका छन् ।

नेपालको संखुवासभा, भोजपुर, धनकुटा र झापालगायतका जिल्लामा रुद्राक्षको व्यावसायिक खेती गरिँदै आएको छ । अन्य जिल्लाहरुमा भने व्यावसायिक रुपमा यसको खेती गरिएको छैन । घर आँगनमा सोख र धार्मिक हिसाबले मात्र रोप्ने प्रचलन भए पनि यसको महत्वको बारेमा त्यति ध्यान दिएको पाइँदैन । धार्मिक हिसाबले मात्र ठाउँअनुसार प्रयोगमा आउने गरेको पाइन्छ । नेपालमा यसको माग कमै रहेको छ । तर चीनमा भने यसको माग उच्च छ । नेपालमा उत्पादित अधिकांश रुद्राक्षको खपत पनि बढीजसो चीनमै हुन्छ ।

चीनमा मानिसहरुले गला र हातमा ब्रासलेट लगाएझैँ रुद्राक्ष पहिरिने गरेका छन् । खासगरी धनी वर्गमा यसको प्रयोग हुने गरेको बताइन्छ । १ किलो गुणस्तरीय रुद्राक्ष ३०–३५ लाख मूल्यसम्ममा खरिद बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् । चीनबाट माग बढेपछि नेपालको पूर्वी पहाडी जिल्लाहरुमा यसको व्यावसायिक खेती गर्ने प्रचलन समेत हाल बढिरहेको छ । रुद्राक्ष पनि फरक–फरक गुण र प्रजातिका हुने व्यापारीहरु बताउँछन् । तसर्थ सबै रुद्राक्ष उच्च मूल्यमा बिक्री हुँदैन ।

तर पैसा आकारको ढ्याक प्रजातिका रुद्राक्षको दाना अत्यन्तै मूल्यवान् हुने व्यापारीहरुको भनाइ छ । उनीहरुका अनुसार चिनियाँ व्यापारीहरुले एकमुखे र यस्ता साना प्रजातिकालाई बढी नै मूल्य तिरेर खरिद गर्छन् । खोजेजस्तो उपयुक्त दाना फेला पारे भने चिनियाँ व्यापारीले जति पनि मूल्य तिर्न तयार हुन्छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x