Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररासायनिक मल घोटालामा मुछिए वर्षमान पुन

रासायनिक मल घोटालामा मुछिए वर्षमान पुन

२० लाख डलर ठगी गरेको आरोप


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन रासायनिक मल खरिद घोटाला प्रकरणमा मुछिएका छन् । चीनबाट ल्याइएको ३५ सय मेट्रिक टन रासायनिक युरिया मलको भुक्तानी पुनको नेतृत्वमा नदिई ठगी गरेको भन्दै चिनियाँ व्यापारीले माओवादी मुख्यालय पेरिसडाँडामा उजुरी दिएका हुन् ।

नेता पुनले सुन तस्करीमा मुछिएका अभियुक्त भीमकान्त भण्डारी र नवीनकुमार तुलाधरसँग मिलेर चिनियाँ कम्पनीलाई ठगी गरेको भन्दै उजुरी परेको हो । सो उजुरीलाई माओवादी नेताहरूले लुकाएका छन् भने पीडित चिनियाँ कम्पनीका मालिकलाई नेपालमा बस्न नदिइएको पाइएको छ । उजुरीमा वर्षमान पुनको नेतृत्वमा दुई मिलियन (२० लाख) अमेरिकी डलर रकम ठगी गरेको र त्यसको पीडित आफूहरू भएको उल्लेख छ ।

उजुरीमा विध ल्याबका सञ्चालक तथा एक सय किलो सुन तस्करीका अभियुक्त भीमकान्त भण्डारी र ललितपुरस्थित होटल हिमालयनका मालिक नवीनकुमार तुलाधरको मिलेमतो रहेको उल्लेख छ । उनीहरूले चिनियाँ कम्पनीबाट ३५ सय मेट्रिक टन रासायनिक युरिया मल नेपाल ल्याएर भुक्तानी नदिएको उल्लेख छ । उजुरी चिनियाँ अंग्रेजी भाषामा छ । उजुरीमा उल्लिखित सबै विवरण र नेपालमा भएको रासायनिक मल खरिद ठेक्का प्रक्रियाका विवरण मिल्दाजुल्दा छन् ।

‘माओवादीका केही नेताहरूका कारण चिनियाँसँगको सम्बन्धमा दरार पैदा भएको छ । हामीमाथि भएका धोका र दुव्र्यवहार सार्वजनिक गर्दैछौँ, हामीलाई विश्वास छ हाम्रो माओवादी भाइचाराले यो अपराधको सही अनुसन्धान गरी नैतिक मञ्चमा ल्याउनेछ,’ उजुरीमा लेखिएको छ, ‘यो धोकाधडी र ठगी प्ररकरणको नायक तपाईँको पार्टीको मुख्य नेता वर्षमान पुन ‘अनन्त’ र बिध म्यानेजमेन्टका मालिक भीमकान्त भण्डारी हुन्  ।’

गत वर्ष जन्डिसबाट पीडित पुनको उपचारमा आफूहरूले सहयोग गरेको तर पुनकै समूहले अहिले आफूहरूलाई पीडित बनाएकोे उजुरीकर्ताको आरोप छ । उजुरीअनुसार नेता पुन ज्ञारेन्टी बसेपछि चिनियाँ कम्पनी सिएन्डडीले भीमकान्त भण्डारीको स्वामित्वमा रहेको बिध म्यानेजमेन्टमार्फत नेपालमा ३५ सय टन युरिया मल नेपाल पठाएको उल्लेख छ । कोरोनाको समयमा भण्डारीको बिध म्यानेजमेन्टले अस्वाभाविक चलखेल गरी चीनबाट कृषि सामग्री केन्द्रका लागि मल ल्याउने ठेक्का पाएको थियो । जुन विवादित बनेको थियो ।

तातोपानी भन्सार नाका हुँदै नेपाल भित्र्याइएको उक्त मल बैंकको प्रतितपत्र नभएपछि करिब दुई महिनासम्म भन्सार नाकामै थन्किएको थियो । तर, पछि प्रतितपत्र बनाएर भन्सारबाट छुटाइएको थियो । अहिले त्यही मलको भुक्तानी नपाएको भन्दै चिनियाँ पक्षले ठगी गरेको आरोप लगाएको छ ।चिनियाँले दिएको उजुरीमा भीमकान्तले चिनियाँ कूटनीतिज्ञ, सेनाका अधिकारी र व्यवसायीलाई आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत नजिकको व्यक्ति रहेको र आधिकारिक प्रतिनिधि भएको बताउने गरेका थिए । उनीहरूले वर्षमान पुन नै ठगीको मुख्य योजनाकार रहेको आरोप लगाएर उजुरी दिएका छन् ।

‘वर्षमान पुनले नै यो सबै गरेका हुन् । किनकि वर्षमानकै जोडबलमा चाइना नर्थेन इन्टरनेसनलको एजेन्सी राइट भीमकान्त भण्डारीलाई दिएको थियो । यो घोटालामा ललितपुरस्थित हिमालयन होटलका मालिक बताउने नवीनकुमार तुलाधर पनि संलग्न छन्’, उजुरीमा भनिएको छ, ‘उनीहरूले वर्षमान पुनकै साहारामा सिएन्डडीको विश्वास हासिल गरेका थिए । उनीहरूले नेपालमा दुई मिलियनबराबरको मल ल्याएर भुक्तानी भने दिएनन् । हामीलाई ठगी गरे । तपाईँले तातोपानी भन्सार कार्यालयमा बुझ्न सक्नुहुन्छ ।’

टेन्डर प्रक्रियामा संलग्न भनिएको ग्लोबल म्याटिक सिंगापुर, ह्वाइट ग्लोब कम्पनीका सबै कागजात समेत जाली रहेको उजुरीमा दाबी छ । सिएन्डडी कम्पनीबाट नेपालमा मल ल्याउने बहानामा भएको एउटा ठूलो मल घोटालाबारे हामी उजुरी गर्दैछौँ भन्दै उजुरीकर्ताले यो घटनालाई आर्थिक अपराधसँग तुलना गरेका छन् ।

ठेक्का प्रक्रियामा संलग्न रहेको सिनोम्याक हाई कम्पनीको कागजात समेत नक्कली तयार पारेको विषयमा आफूहरूले तत्कालीन कृषि सामग्री केन्द्र लिमिटेडका उच्च अधिकारीसँग प्रश्न उठाएको समेत उजुरीमा दाबी छ । उनीहरूले ठेक्का प्रक्रियामा संलग्न गरेको बैंकिङ कागजातसमेत नक्कली तयार पारेको आरोप छ । नक्कली हस्ताक्षरबारे सिनोम्याकको महाप्रबन्धकले नै पुष्टि गरेको दाबी समेत उजुरीमा छ । माओवादी मुख्य नेता वर्षमान पुनकै योजनामा यस्तो आर्थिक अपराधबारे आफूहरूले थाहा पाउँदा आश्चर्यचकित भएको उनीहरूको उजुरी दिनेहरूले उल्लेख गरेका छन् ।

पुनकै योजनामा चिनियाँ राज्य समर्थित उद्योगलाई ध्वस्त बनाएको आरोप उनीहरूले लगाएका छन् । ती उजुरीकर्ताले पुनमाथि आम माओवादी कार्यकर्ता ठगीको आरोप समेत लगाएका छन् । ‘हामीलाई गहिरो आश्चर्य छ । हाम्रा इमान्दार माओवादी कार्यकर्ता साथीहरू पनि यस्ता नेताबाट ठगिएका छन् । त्यसैले हामीले यो सूचना तत्काल नेपालस्थित चिनियाँ राजदूतावासलाई दियौँ, नेपालस्थित वाणिज्यदूतावासलाई पनि दियौँ । हामीलाई चिन र नेपालले यो ठूलो ठगीको अनुसन्धान गरी कारबाही गरोस् भन्ने अपेक्षा छ’, उजुरीमा भनिएको छ, ‘जसमा दुवै देशका केन्द्रीय निकायहरू संलग्न छन् । आशा छ दुवै देशको सरकारले पीडितहरूलाई न्याय देओस् ।’
तत्कालीन प्रधानमन्त्री प्रचण्ड सरकारकै पालामा माओवादी मुख्यालयमा उजुरी गरिएको भए पनि सुशासनको ठूलो गफ लगाउने प्रचण्डले यो उजुरी भने थाहा नपाएको नाटक गरेको आरोप लगाइएको छ ।

उजुरीसँग मिल्दो प्रकरण
कृषिका लागि रासायनिक मल आयात गर्न कृषि सामग्री कम्पनी लिमिटेडले १० सेप्टेम्बर, २०२१ मा टेन्डर आह्वान गरेको थियो । त्यसको ठेक्का सिल्क÷ सिनोम्याक÷ ग्लोबलम्याटिक÷ बिध म्यानेजमेन्ट संयुक्त जेभीले पायो । जसमा २५ हजार मेट्रिक टन मल नेपाल भित्र्याउने उनीहरूको सम्झौतामा उल्लेख थियो । सोही सम्झौताअनुसार भण्डारी तुलाधर र पुनले नेपालमा मल ल्याउने तयारी थाले ।

कृषि सामग्री कम्पनी र जेभीबीच २४ नोभेम्बर २०२१ मा २५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि दुई करोड ३७ लाख अमेरिकी डलरको ठेक्का सम्झौता भयो । सम्झौता अनुसार, जेभीले रासायनिक मल २९ मार्च २०२२ सम्ममा आपूर्ति गरिसक्नुपथ्र्यो । तर, समयमा मल आएन । यता किसान मल विनै धान रोप्न बाध्य भए । समयमा मल ल्याउन नसकेपछि कृषि सामग्री केन्द्र लिमिटेडले भण्डारीसहितको संयुक्त जेभीलाई कालोसूचीमा राखियो ।

रासायनिक मल ल्याउने ठेक्का पाएको संयुक्त जेभीमा रहेको कम्पनी ग्लोबम्याटिक्स त्यही कम्पनी हो जससँग ओम्नीले कोरोना संक्रमणको पहिलो लहरका बेला चीनबाट स्वास्थ्य सामग्री आपूर्तिमा सहकार्य गरेको थियो । खोज पत्रकारिता केन्द्रलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले सिंगापुरको अकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेटरी अथोरिटीबाट प्राप्त कम्पनीबारेको विवरणअनुसार, सन् १९८७ मा दर्ता भएको ग्लोबमेटिक्सको कार्यक्षेत्र सौर्य ऊर्जा, जलविद्युत्सँग सम्बन्धित छ ।

नेपाली नागरिक नवीन तुलाधरका नाममा दर्ता यो कम्पनीको निर्देशकमा सिंगापुरका नागरिक ट्यान बी हङ रहेको कम्पनी दर्तासम्बन्धी कागजपत्रमा देखिन्छ । नवीन तिनै व्यक्ति हुन् जसलाई चिनियाँ उजुरीकर्ताले ठगीको आरोप समेत लगाएका छन् ।

तुलाधरको यो कम्पनी तस्करीमा संलग्न भएको आरोपमा यसका दिल्लीस्थित प्रबन्धक नरोत्तम श्रेष्ठ सन् २०१० अक्टोबरमा दिल्लीमा पक्राउ परेका थिए । नेपालको बाटो हुँदै सिंगापुरबाट भारतमा सहतुसको ऊन तस्करी गरेको आरोप उक्त कम्पनीमाथि छ । श्रेष्ठ १३० किलो उच्च गुणस्तरको ऊन तस्करी गरेर दिल्ली लैजाँदै गर्दा पक्राउ परेका थिए ।

तिब्बती हरिणको रौँबाट बनाइने सहतुस ऊनको उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध छ । यही कम्पनीको साझेदारीमा नेपालमा मल भित्र्याउने ठेक्का सम्झौता तत्कालीन सरकारले गरेको थियो । तर, समयमै मल भने ल्याउन सकेन । अन्तर्राष्ट्रिय बजारमा मलको भाउ घटेको समय पारेर चिनियाँ कम्पनीबाट तातोपानी भन्सार हुँदै भित्रिएको ३५ सय मेट्रिक टनको भुक्तानी नदिएको चिनियाँ पक्षको आरोप छ ।

भीमकान्त र वर्षमान कनेक्सन
कुनै समय नेपाल सरकारको सुब्बा तहको कर्मचारी थिए भिमकान्त भण्डारी । उनको विगतबारे यसअघि आर्थिक दैनिकमा समाचार प्रकाशन भएको थियो । सोही समाचारपछि अख्तियारले उनलाई अकुत सम्पत्तिमा मुद्दा समेत दायर गरेको थियो । भण्डारी विकास समिति ऐनअन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका थिए ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयमा प्रवेश गरेपछि भण्डारीको रवाफ बदलिएको थियो । त्यतिबेला उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रक्रियामा संलग्न भएको ओम्नी समूह बाहिरिएलगत्तै अप्रत्यासितरूपमा सोही व्यापार सम्हालेका थिए । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिधसँग सुरुमै पाँच करोड ६५ लाख २५ हजार रुपैयाँबराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो । कोरोनाकालमा निकै चर्चामा रहेको बिध ल्याबमा एकाएक ४० करोड लगानी भित्र्याएर भण्डारीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको प्रमाण छोडेका थिए ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x