Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुले लगानी गर्न सकेनन्

बैंकहरुले लगानी गर्न सकेनन्


सुरेश राउत
काठमाडौँ, असार २४
बैंक तथा फाइनान्स कम्पनीहरुबीच हुने एकआपसको अल्पकालीन अवधिको लागि हुने कारोबार अर्थात् अन्तरबैंक कारोबार रकम घटेको छ । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामको लागि भन्दै ०७६ चैत ११ गतेदेखि पूर्णरुपमा देशव्यापी लकडाउनको घोषणा गरेको थियो । सोही कारण वित्तीय क्षेत्रको कर्जा तथा निक्षेपमा पनि कमी आएसँगै अन्तर्बैंक कारोबार रकममा पनि कमी आएको हो ।

पछिल्लो समय सबैतिर बन्द भएको कारण बैंकहरुले लगानी गर्न नसकेपछि बैंकमा पैसा थुप्रिनपुगेको छ । पुँजीगत खर्च कम भएको कारण जसले जहाँ काम गरेका छन्, उनीहरुले भुक्तानी पाउन भने समस्या नपर्ने भएको छ । तर, देशमा लगानी भने अत्यन्त न्यून देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले १४ खर्ब रुपैयाँको हाराहारीमा मात्र अन्तर्बैंक कारोबार गरेका छन् ।

उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र १३ खर्ब ८० अर्ब ८५ करोड रुपैयाँको अन्तर्बैंक कारोबार गरेका छन् । उक्त अवधिमा सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने एक खर्ब १८ अर्ब सात करोड रुपैयाँबराबरको अन्तर्बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले झण्डै १५ खर्ब रुपैयाँको हाराहारीमा यस्तो कारोबार गरेका थिए ।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले १३ खर्ब २४ अर्ब ७५ करोड र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले एक खर्ब ७४ अर्ब ६६ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका थिए । बैंकिङ क्षेत्रमा अन्तर्बैंक कारोबार रकम घटेकै कारण यस्तो कारोबारको ब्याजमा पनि कमी आएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर्बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ वैशाखको छ दशमलव १२ प्रतिशतको तुलनामा २०७७ वैशाखमा घटेर चार दशमलव छ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ वैशाखको नौ दशमलव ५९ प्रतिशतको तुलनामा २०७७ वैशाखमा आठ दशमलव ९६ प्रतिशत कायम भएको छ । २०७६ वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर चार दशमलव २९ प्रतिशत रहेकोमा २०७७ वैशाखमा तीन दशमलव ५१ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७७ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ४४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १० दशमलव ९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६७ प्रतिशत र १२ दशमलव २३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

ब्रोकर कम्पनीको चुक्ता पुँजी बढाउन सिफारिस : संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले सेयर ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी बढाउन सिफारिस गरेको छ । समितिले ब्रोकर कम्पनीहरुको हाल कायम रहेको दुई करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर १० करोड रुपैयाँ पु¥याउन सिफारिस गरेको हो ।

सेयर बजारका बारेमा अध्ययन गर्न गठित प्रतिनिधिसभाको अर्थ समितिले चुक्ता पुँजी बढाउन सिफारिस गरेको हो । सांसद रामकुमारी झाँक्री संयोजकत्वको गठित उपसमितिले २०७९ असार मसान्तसम्म ब्रोकर कम्पनीहरुले हालको दुई करोड रुपैयाँ चुक्ता पुँजीलाई बढाएर १० करोड रुपैयाँ पु¥याउन समयसीमा तोक्न सिफारिस गरेको छ ।

यसैगरी उपसमितिले सेयर बजारको वर्तमान आवश्यकताअनुसार ब्रोकर कम्पनीहरुलाई मर्जरमा गई वित्तीयरुपमा सबल बनाउन समेत सिफारिस गरेको छ । यसैगरी बैंकको सहायक कम्पनीलाई ब्रोकर कम्पनीको लाइसेन्स दिनुपर्ने सुझाव पनि गठित उपसमितिले अर्थ समितिलाई दिएको छ । यसअघि बैंकहरुले सेयर ब्रोकर कम्पनीको समेत काम गर्नुपर्ने माग गर्दै आएकोमा ब्रोकर एसोसिएसनले बैंकहरुको उक्त कारोबारको विपक्षमा आवाजहरु उठाउँदै आएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x