Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररोयल मार्बलद्वारा राजस्व ठगी

रोयल मार्बलद्वारा राजस्व ठगी


शंकर लुइँटेल
विराटनगर, असार २४
विराटनगरबाट व्यावसायिक कारोबार गर्दै आएको रोयल मार्बलबाट भन्सार राजस्वदेखि फर्मले बुझाउने मुअकर र आयकरमा समेत व्यापक छली गर्ने गरेको पाइएको छ । समाचारस्रोतका अनुसार विराटनगरको धरान रोडअन्तर्गत कन्चनवारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालीले आफ्नो कारोबार सुरु गरेको एक वर्षमा नै राजस्व छली गर्न सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालयबाट भएको फर्मको अडिट रिपोर्टमा नै सक्का लागेपछि आन्तरिक राजस्व कार्यालयले रोयल मार्बललाई दुई लाख १३ हजार रूपैयाँ कर निर्धारण गरिदिएको छ ।

उक्त रोयर मार्बल प्रालीले आफ्नो कारोबार चार करोड ८९ लाख देखाएर अग्रिम आयकर भन्दै एक लाख ५० विवरणमा उल्लेख गरेपछि फर्मको कारोबारमाथि नै सक्का भएको स्रोतले बताएको छ । रोयल मार्बलले भ्याट स्टक भन्दै ५५ लाख क्रेडिट आफ्नो अडिट रिपोर्टमा उल्लेख गरी आफ्नो स्टक चार करोड देखाएको स्रोतले जनाएको छ । अहिले पनि उक्त फर्मलाई सुक्ष्म ढंगले राजस्वबाट निगरानीमा राखेको रहस्य खुलेको छ ।

उक्त फर्मबाट सञ्चालकहरूले व्यापक राजस्व चुहावट भएको रहस्य खुलेसँगै उक्त फर्मको भन्सार एजेन्टदेखि विराटनगर भन्सार कार्यालयसम्मको सेटिङमा मार्बल तथा टायल्स समेत आयात हुँदै आएको नयाँ रहस्य पनि खुल्न पुगेको छ । भारतबाट आयत हुने टायल्समा भन्सार दरबन्दीअनुसार ननब्राण्डेडका नाममा आयत हुने टायल्सलाई तीन सय १० रूपैयाँ स्क्वायर मिटर भन्सार राजस्व र १३ प्रतिशत मुअकर असुली हुँदै आएको छ । तर ब्राण्डेट टायल्सका नाममा थप ३० प्रतिशत राजस्व र १३ प्रतिशत मुअकर असुली गर्ने प्रावधान रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार दरवन्दिमा रहेको सानो कमजोरी प्रावधानले गर्दा उक्त फर्मले ब्राण्डेट टायल्सलाई ननब्राण्डेट घोषणा गरेर भन्सार मूल्यांकनलाई नै प्रभावित बनाएर टायल्स आयात गर्ने गरेको छ ।

रोयल मार्बलको सञ्चालकमा दिपेश तायल र अमित सिंघल रहेका छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ गतेदेखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ । एक वर्षको छोटो अवधिमा आन्तरिक राजस्व कार्यालयबाट फुल अडिट गरी हिसाब मिलाउन सचेत गराउँदा समेत अदृश्य शक्तिको आडमा सञ्चालकहरूबाट मार्बलको कारोबार हुने गरेको दाबी स्रोतले गरेको छ ।

उक्त फर्मका सञ्चालकले मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिसन भनी रकम कट्टा गरिदिने फर्म सञ्चालकको नियतका कारण सरकारले सोचेभन्दा न्यू राजस्व बुझाउन सञ्चालकहरू सफल भएको समाचारस्रोतको दाबी छ । यसरी बिक्री भएको मालमा समेत भरसक बिल बिजक नै जारी नगर्ने र जारी गरी हालेमा न्यून भ्याट बिल प्रयोग गरी भ्याटजस्तो राजस्वमा व्यापक ठगी भएको आशंका राजस्वस्रोतले गरेको छ ।

स्रोतका अनुसार रोयल मार्बलले बिल बिजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने नयाँ फर्मुला अपनाएको रहस्य पनि खुलेको छ । जसले गर्दा आन्तरिक राजस्व कार्यालयमा रोयल मार्बलमाथिको उजुरी विगत एक वर्षभित्रमा पटक–पटक परेको छ । पटक–पटक सरकारलाई राजस्व ठग्ने गर्दा समेत कुन निकायबाट संरक्षित रहेको छ भन्ने विषय अहिले आएर खोजी हुन थालेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x