शुभकामना आदान–प्रदानले मात्र मुलुक उँभो लाग्दैन
काठमाडौं । कुनै पनि चाडपर्व आउँदा शुभकामना आदान–प्रदान गर्न हामीलाई हतार हुनेगर्छ । त्यस्तै, नेपाली नयाँ वर्षको उपलक्ष्यमा र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पनि शुभकामना दिने प्रचलन पहिलेदेखि नै छ । प्रविधिको विकासले गर्दा आजकल त झन् बिहानैदेखि फेसबुक र मेसेञ्जर शुभकामनाहरूले रंगिएका र सजिएका हुन्छन् । यसरी आदान–प्रदान हुने शुभकामना लाग्छ वा लाग्दैन त्यो आफ्नै ठाउँमा रहन्छ । शुभकामना आदान–प्रदान गर्नु राम्रो संस्कार हो । नेताहरू, पदाधिकारीहरू र प्रशासकहरू मात्र होइनन् आमजनता विभिन्न चाडपर्वका अवसरहरूमा शुभकामना आदान–प्रदानमा व्यस्त रहन्छन् । यसरी शुभकामना आदानप्रदान गर्दा मुलुकको बिग्रिँदो अवस्थाका बारेमा चिन्ता पनि सँगसँगै हुनु आवश्यक ठानिन्छ । शुभकामनाका क्षणिक वक्तव्य र मन्तव्यले मात्र देश विकास सम्भव छैन । सबैले हरपल देशका खातिर चिन्तन गर्नुपर्छ, नाटकीय होइन वास्तविकतामा उत्रिनु जरुरी छ ।
पर्यटन प्रवर्द्धनमा जोड दिने
विश्वमा सानो तर सुन्दर देश भनेर चिनिन्छ, नेपाल । विदेशी पर्यटकहरू नेपाल घुम्नका लागि लाखौँ खर्च गर्न तयार हुन्छन् । नेपालीले उनीहरूबाट सभ्यता पनि सिक्दै आएको पाइन्छ । तर व्यवहारमा भने लागू भएको देखिँदैन । आर्थिक समृद्धिका लागि पर्यटन विकासले चाहिँ निरन्तरता पाएको देखिन्छ । कोरोना संक्रमणकालमा भने पर्यटन क्षेत्रबाट मुलुकले खासै उपलब्धि हासिल गर्न भने सकेन । यो समस्या नेपालले मात्र भोगेको होइन, विश्वले नै भोगेको समस्या हो । पर्यटनका लागि अझ धेरै गर्नु जरुरी छ । जिल्लाजिल्लामा रैथाने उत्पादनबाट बनेका परिकारहरू पर्यटकहरूलाई चखाउनुपर्छ र खुवाउनुपर्छ । जिल्लाजिल्लाबाट रैथाने उपजहरू बाहिरिनु दुःखको कुरा हो । विभिन्न जिल्लाहरूमा रहेका तमाम धार्मिकस्थल वा तीर्थस्थल, ऐतिहासिक दरबारहरू, गढीहरू र झरनाहरूलाई पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्छ । त्यसका लागि सरकारबाट हरेक वर्ष बजेटमा यथासम्भव रकम विनियोजन गरिनु जरुरी देखिन्छ ।
कलकारखानाहरू पुनः सञ्चालन गर्ने
देशको अर्थतन्त्रमा कुनै बखत अहम् भूमिका निर्वाह गरेका र हाल बन्द अवस्थामा रहेका सरकारी तथा निजी कलकारखानाहरूलाई व्युँताउनका लागि सरकारले आवश्यक नीति अवलम्बन गर्नु जरुरी देखिन्छ । २०४६ पछि ध्वस्त भएका कैयन सरकारी औद्योगिक प्रतिष्ठानहरूलाई पुनः सञ्चालनका लागि विशेष ध्यान दिनु जरुरी छ । कतिपय उद्योगहरूका लागि आवश्यक पर्ने कच्चापदार्थ कृषिमा आधारित हुने भएकाले कृषकहरूले पनि अप्रत्यक्षरूपमा रोजगारी पाउने कुरा निश्चित हुन्छ । उदाहरणका लागि बन्द रहेको सरकारी उद्योग चिनी कारखाना पुनः सञ्चालनमा ल्याइयो भने उखु कृषकहरूले काम पाउँछन्, नगदे बालीको रूपमा उखु खेती लगाइने हुन्छ । त्यस्तै, हेटौडा कपडा कारखाना सञ्चालनमा ल्याइएको खण्डमा कपास खेती फस्टाउने र धागो कारखानाहरूले कपास खरिद गर्ने सम्भावना रहन्छ ।
परनिर्भर र आयातमुखीलाई परास्त गर्ने
देशलाई परनिर्भर र आयातमुखी बनाइनुले नै देशमा बेरोजगारीको समस्या चरम उत्कर्षमा पुगेको छ । कल कारखानाहरू सबैजसो बन्द अवस्थामा छन् । व्यावसायिक खेती, पशुपालनमा र त्यसका लागि बजार पहुँचका निमित्त सरकारले गम्भीरतापूर्वक जोड दिएमा मात्र अर्थतन्त्रमा उपलब्धिमूलक हुनेछ, जसले गर्दा आयात र परनिर्भरतामा कमी आउने हुन्छ । उत्कृष्ट कृषकलाई पुरस्कार र प्रोत्साहनको व्यवस्था भएमा खेतबारी बाँझो पल्टिने थिएनन् ।
यसो गर्दा देश केही हदसम्म उँभो लाग्छ–
१. सौन्दर्य प्रसाधनका वस्तुहरू स्वदेशमै उत्पादन गरी त्यस्ता वस्तुहरूको आयात पूर्णरूपमा बन्द गर्ने ।
२. काजु, आलमन्ड, किसमिसलगायत महँगा खालका मसलाहरूको आयातमा प्रतिबन्ध लगाई त्यस्ता उपजहरू स्वदेशमै उत्पादन गर्न किसानहरूलाई प्रोत्साहन गर्ने ।
३. बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकहरूलाई सन्तोषजनक प्रतिफल दिन लगाउने ।
४. सहकारीहरूमा भएको बेथितिलाई निरुत्साहित गर्न आवश्यक नीति बनाई तत्काल लागू गर्ने ।
५. सरकारी जग्गा मिलेमतोमा हडप्नेहरूमाथि छानबिन गरी ती जग्गाहरू सरकारको नाममा ल्याउने ।
विदेश पलायन रोक्ने
पहिले–पहिले विशेष विषय र विद्यावारिधि तथा मास्टर्स अध्ययनका लागि विद्यार्थीहरूलाई विदेश जाने अवस्था थियो भने हालका दिनहरूमा विद्यार्थीहरू बाह्र कक्षा उत्तीर्ण हुँदाबित्तिकै विदेशतिर जानुपर्ने चलन सुरु भएको छ । त्यस्तै, वैदेशिक रोजगारका लागि युवायुवतीहरूलाई खाडी मुलुकमा जान बाध्य पार्नु सरकारको कमजोरी हो । बरु एकतिहाइ कमाइ होस् आफ्नै देशमा रमाउन चाहन्छौँ तर जोखिम मलेर वैदेशिक रोजगारमा जान चाहन्नौँ भन्नेहरू पनि नभएका होइनन् । खाडी मुलुकहरूबाट पटकपटक कैयनको लास भित्रिनु गम्भीर विषय हो । यसमा सरकारको ध्यान जानुपर्छ । रेमिट्यान्स मात्र हेर्नुहुँदैन, आर्थिक विकासका लागि अन्य विकल्पहरू खोज्नुपर्छ ।
व्यवसायीहरूलाई प्रोत्साहन गर्ने
नेपालमा कम्पनीहरूको संख्या ज्यादै छ, कतिपय कम्पनीहरू झोलाहरूमा थन्किएर बसिरहेका छन् भने कतिपय दर्जनौँ कम्पनीहरू एउटा कोठामा साँघुरिएर बसेका देखिन्छन् । ‘झोलामा खोला’ भन्ने त हामीहरू धेरैले सुन्ने गरेका छौँ । खास सञ्चालनमा आएका कम्पनी, उद्योग तथा व्यवसायहरूले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा त्यसो भएको देखिँदैन । कतिपय कम्पनीहरू सुविधा लिनका लागि मात्र दर्ता भएको पाइन्छ । हालका दिनहरूमा कम्पनी उद्योग तथा व्यवसायहरू खारेज गर्नेको संख्या बढ्दो छ, जुन चिन्ताको विषय हो ।
स्वास्थ्यप्रति जनचेतनाको खाँचो
आधुनिक जीवनशैलीको नाममा उपभोक्ताहरूले स्वास्थ्य बिगारिरहेको पाइन्छ । हामीहरूले जानीजानी प्राकृतिकभन्दा अप्राकृतिक उपभोग्य सामग्रीहरू बढी मात्रामा उपभोग गर्नेगरेका छौँ । यसका लागि पनि सरकारीस्तरबाटै जनचेतनाको खाँचो छ । पहिले–पहिले बोटमा चढेर तित्री वा इमली, तिँदु, चिउरी टिपेर खाने चलन थियो, हाल त्यो चलनमा कमी हुँदैआएको पाइन्छ । अहिले गाउँगाउँका विभिन्न दोबाटोहरूमा साना बजारहरू पनि खुल्दै गइरहेका छन् । जहाँ विभिन्न खालका पसलहरू सञ्चालनमा छन् । त्यसमध्ये फलफूल पसल पनि चल्छन्, जहाँ मधेशबाट तथा भारतबाट आयात गरिएका फलफूलहरू पाइन्छन् । सजिलैसँग किनेर खान छाडेर रुखमा को चढोस् भन्ने मनस्थितिमा छन् अहिले गाउँघरका बासिन्दाहरू । गाउँमा युवाहरू पनि खासै देखिँदैनन्, उनीहरू रोजगारको सिलसिलामा देशभित्रका अन्यत्र स्थानमा र विदेशमा छन् । बुढाबुढी र बालबालिका रुख चढ्ने कुरा पनि आउँदैन । त्यसैले गाउँघरका कैयन फलफूलहरू बोटमै सुकेर वा कुहिएर जाने अवस्था छन् । मकै, कोदो, फापरलगायतका अनाज समेत भारतबाट आयात हुनु विडम्बनाको कुरा हो । खेतबारीहरू बाँझो राख्दै युवाहरू कामको सिलसिलामा विदेश जाने बाध्यताले गर्दा पहाडका गाउँहरूमा पहिलेको जस्तो चहलपहल छैन । कतिपय बसाई सरेर मधेश तथा सदरमुकाममा गइसकेका छन् । कतिपयका गोठहरू खाली भइसके भने कतिपयका घर तालाबन्दी अवस्थामा भेटिन्छन् । गाउँमा उपलब्ध रैथाने दालहरू पनि अहिले नेटो काटेर अन्यत्रै जान्छन् र गाउँमा बचेखुचेका बासिन्दाले बजारका अस्वस्थकर दाल खानुपर्ने अवस्था छ । तरकारी पनि सिजन अनुसारभन्दा पनि विषादीयुक्त तरकारी खाने चलन बढ्दैगइरहेको छ । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दै गइरहने र अस्पताल धाइरहने अवस्था छ । सहरका बासिन्दाहरूको जस्तै गाउँलेहरूको जीवनशैली पनि असुरक्षित बन्दै गइरहेको छ ।
देश हाँक्नेहरूलाई सुझाव
देशको आर्थिक अवस्था झन्पछि झन् खस्किँदो अवस्थामा छ, देश गम्भीर दुर्घटनामा परिसकेको भान हुन्छ, देशलाई यथास्थितिमा फर्काउन सबै पार्टीका नेताहरू एकजुट हुनु जरुरी छ, खेलाँची गर्ने अवस्था छैन । प्रतिपक्षको खबरदारीलाई पनि सरकारमा बस्ने पार्टीका नेताहरूले स्वीकार गर्नैपर्छ । एकोहोरो चालाले मात्र देशमा समृद्धि आउँदैन । घरिघरि फेरिने सरकारको अनिश्चितताले गर्दा जनताहरू रनभुल्लमा पर्दैआइरहेका छन् । जनताका लागि आयआर्जनका खातिर आवश्यक योजनाहरू बनाइनुपर्छ, जसका लागि सम्वन्धित मन्त्रालय, विभाग कार्यालयका साथै संघसंस्थाहरू सक्रिय हुनु नित्तान्त आवश्यक छ । हरेक आवका बजेट भाषणमा फलाकिएका कैयन कामहरू थाँती रहन्छन् । गर्न सकिने कामका लागि मात्र बजेटमा व्यवस्था हुनुपर्छ । जनता जागरुक नभएकै कारण मुलुक झन्पछि झन् नाजुक अवस्थामा पुगेको छ । सरकारका कमीकमजोरीका बारेमा पहिलेजस्तो बेलाबेलामा जनताले खबरदारी गरेको पनि देखिँदैन । कुनै पनि समय नेपाल टाट पल्टने अवस्थामा पुग्न सक्छ । त्यसैले सरकारले पनि जनमुखी कार्य गर्नका लागि विभिन्न योजना तर्जुमा गर्ने, बजेटको व्यवस्था गर्ने र योजना पूरा हुने अवस्थामा र पूरा भइसकेपछि कडाइका साथ अनुगमन र निरीक्षण गर्ने । साथै, कैफियत तथा कमजोरी देखिएमा दोषीउपर कडा कारबाही गर्ने गरेमा देश उँभो लाग्ने देखिन्छ । त्यसैले हामी सबै मिलेर देशको उन्नतितर्फ लागौँ, हरेक क्षेत्र डामाडोल भएको टुलुटुलु हेरेर नबसौँ । देश बिग्रिँदा चिन्ता नलिने तर चाडपर्वहरूमा शुभकामना आदानप्रदान मात्र गर्दा त्यसले कुनै अर्थ राख्दैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया