कर्जा विस्तार गर्न बैंकहरू असफल
बजारबाट निरन्तर तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी बढाउन नसकेपछि थुप्रिएको निक्षेप केन्द्रीय बैंकमा लगेर राख्न थालेका छन् । बजारमा कर्जाको माग नै नभएपछि बैंकहरूले महँगो ब्याजमा सङ्कलन गरेको निक्षेप सस्तो ब्याजमा राष्ट्र बैंकमा राख्नुपर्ने अवस्था आएको हो । कर्जाको माग बढ्न सकेको छैन भने बैंकमा निक्षेप राखेर ब्याज खानेहरू बढ्दै गएका छन् ।राष्ट्र बैंकको तथ्याङ्कअनुसार अहिलेम्म वित्तीय प्रणालीमा सङ्कलन भएको निक्षेप ६६ खर्ब ३६ अर्ब रुपैयाँ छ भने ऋण प्रवाह ५२ खर्ब ७५ अर्ब रुपैयाँ छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर, अहिले ७८ दशमलव १६ प्रतिशतसम्म लगानी गर्न सकेका छन् । यस आधारमा बैंकहरूसँग छ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने पैसा छ ।
व्यवसायीहरूले ऋणको माग नगर्दा कर्जा प्रवाह हुन नसकेको बैंकर बताउँछन् । सरकारी खर्च पनि खासै बढ्न सकेको छैन । जसले गर्दा निर्माण क्षेत्र अझै सुस्त छ । अर्कोतर्फ घरजग्गा कारोबार पनि सुस्त छ । निर्माणका काममा तीव्रता नआउँदासम्म र घरजग्गा कारोबार नफस्टाउँदासम्म कर्जाको माग बढिहाल्ने स्थिति देखिँदैन । त्यसैले बैंकहरूले प्रणालीमा थुप्रिएको पैसा केन्द्रीय बैंकमा राखेर तरलता व्यवस्थापन गरेका हुन् । आइतबार मात्रै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा एक खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गरेका छन् । गएको शुक्रबार मात्रै एक खर्ब ८५ अर्ब १५ करोड रुपैयाँ राष्ट्र बैंकलाई दिएका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राखेका हुन् ।
आइतबार नै राष्ट्र बैंकले २१ दिनको निक्षेप सङ्कलन उपकरण जारी गरेर ५० अर्ब रुपैयाँ तानेको छ । बैंकहरूले ५९ अर्ब ६५ करोड रुपैयाँ राख्न बोलकबोल गरेका थिए । यसअघि कात्तिक २१ गते राष्ट्र बैंकले एक खर्ब तान्न खोज्दा बैंकहरूले दुई खर्ब सात अर्ब १० करोड राख्न बोलकबोल गरेका थिए । बैंकहरूले चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म सात खर्ब ८९ करोड २० लाख रुपैयाँबराबरको निक्षेप सङ्कलन सुविधा उपयोग गरेका छन् । यस्तै ९६ खर्ब ५२ अर्ब १५ करोड रुपैयाँबराबर स्थायी निक्षेप सुविधा उपयोग गरेका छन् ।
ब्याजदर घट्दा पनि बढेन कर्जाको माग
निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर पनि घटाउँदै लगेका छन् । एक÷डेढ वर्षअघि बैंकहरूसँग तरलता निकै कम थियो । त्यसबेला १३ प्रतिशतसमम्म ब्याज दिएका बैंकहरूले अहिले छ÷सात प्रतिशत ब्याज दिइरहेका छन् । विगतमा ब्याजदर महँगो हुँदा कजार्एको मागमा गिरावट आयो । अहिले बैंकहरूले ब्याजदर घटाएका छन्, तर पनि कर्जाको माग बढ्न सकेको छैन ।
कुनै समय ब्याजदर बढी भएको भन्दै बैंकबाट कर्जा नलिएका व्यवसायीहरू अहिले ब्याजदर कम हुँदा पनि अर्थतन्त्र सुस्त रहेको भन्दै ऋण लिन तयार देखिँदैनन् । किनभने कुनै पनि क्षेत्रमा लगानी गरेर तत्काल फाइदा हुने सम्भावना न्यून छ ।
वितरणयोग्य नाफामा असर पर्नसक्छ
बैंकहरूले कर्जा विस्तार गर्न नसक्ने तर बैंकमा निक्षेप राखेर ब्याज खानेहरू बढ्दा बैंकहरूको नाफामा असर पर्न सक्छ । हुन त पहिलो त्रैमासमा बैंकहरूको नाफामा खासै असर गरेको छैन । तर, वितरणयोग्य मुनाफा प्रभावित भएको छ । बजारबाट महँगोमा उठाएको पैसा सस्तोमा राष्ट्र बैंकमा राख्नुपर्दा बैंकहरूको नाफा प्रभावित हुने जानकारहरू बताउँछन् । यसबाहेक बैंकहरूको अन्य सूचकमा पनि प्रभाव पर्न सक्छ ।
आर्थिक वृद्धिको लक्ष्य पूरा नहुन सक्छ
सरकारले यस आर्थिक वर्ष २०८१÷८२ मा छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । त्यसका लागि सहयोग पुग्ने गरी राष्ट्र बैंकले तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्नुपर्छ । तर, अहिलेको स्थितिलाई हेर्दा त्यस्तो देखिँदैन । केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर साढे १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । तर, कर्जा विस्तारको गति हेर्दा यी कुनै पनि लक्ष्य पूरा हुने सङ्केत देखिँदैन ।
बैंकहरुमा १८ करोड ३२ लाख निक्षेप राख्दै राष्ट्र बैंक
काठमाडौ, नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १८ करोड ३२ लाख रुपैयाँबराबरको रकम संस्थागत निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरूमा राख्न प्रस्ताव आह्वान गरेको हो ।रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही कात्तिक २७ गते मंगलबारसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यसरी राखिने रकमको अवधि तीन सय ९३ दिन अर्थात् नोभेम्बर १९, २०२४ देखि डिसेम्बर १६, २०२५ गतेसम्म रहने छ । लगानीको लागि छुट्याइएको कुुल रकममध्येमा वाणिज्य बैंकहरूको लागि १४ करोड ६७ लाख, बिकास बैंकहरूको लागि दुई करोड ७४ लाख र फाइनान्स कम्पनीहरूको लागि ९१ लाख रुपैयाँ रहेको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा–व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सहरी विकास र स्थानीय सरकार
- किन हुन्छ, धेरै भ्रष्टाचार ?
- ‘ऋणम् कृत्वा घृतम् पिवेत’को नीति गलत
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया