Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह

आर्थिक कूटनीतिलाई बढावा दिन महासंघको राजदूतहरूलाई आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक कूटनीतिलाई बढावा दिनेगरी काम गर्न नवनियुक्त राजदूतहरूलाई आग्रह गरेको छ । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरूसँग महासंघले आयोजना गरेको अन्तर्क्रियामा राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्यसम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरिएको हो ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको बताए । कार्यक्रममा उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवर्द्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको उल्लेख गरे । साथै, उनले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता समेत जनाए । यसैगरी अध्यक्ष ढकालले महासंघको अन्तर्राष्ट्रिय सञ्जाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने बताए ।

कार्यक्रममा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नेपालको आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको उल्लेख गरे । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो’, उनले भने, ‘तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो ।’ ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी वार्षिक सातदेखि नौ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब शून्य दशमलव दुई प्रतिशत मात्र हो । त्यसैले लगानी प्रवर्द्धन सबैको चासोको विषय हुनुपर्ने उनको धारणा थियो ।

यस्तै, उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने पनि बताए । ‘उच्च विदेशी मुद्राको सञ्चितिलाई विदेशी लगानीकर्ताहरूले सदुपयोग गर्न सक्छन्,’ उनले भने । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गर्न सकिनेतर्फ पनि उनले ध्यानाकर्षण गराए । ‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्यौं,’ उनले भने । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानीय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।

मध्यपूर्वी मुलुकहरूमा नेपाली कृषिजन्य उत्पादनहरूको सम्भावना रहेको औल्याँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्य मुलुकहरूमा पनि नेपाली उत्पादनका लागि गैरभन्सार अवरोध समस्याका रूपमा रहेको उनको भनाइ थियो ।

यसैगरी उनले अब नेपाल अतिकम विकसित मुलुकहरूबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा पाइने सुविधा कटौतीले निजी क्षेत्रमा प्रभाव पर्ने बताए । छलफलका क्रममा सहभागी नवनियुक्त राजदूतहरूले स्तरोन्नतिबाट न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने उनीहरूको भनाइ थियो ।

बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्ति सम्झौताका लागि पहल गर्नुपर्ने बताए । यस्तै, चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । यस्तै, राजदूतहरूले निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञानबहादुर मगरले आर्थिक कूटनीति विस्तार मन्त्रालयको प्राथमिकता रहेको बताउँदै यसमा विशेष पहल गरिने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवनियुक्त राजदूतहरूले आर्थिक कूटनीतिलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए । कार्यक्रममा महासंघका पदाधिकारीलगायतको समेत सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x