Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजदूतको दौडधूपले बिग्रिन्छ के ?

राजदूतको दौडधूपले बिग्रिन्छ के ?


फरक मत : एक जना विदेशी राजदूतको ‘दौडधूप’लाई लिएर समाचार, लेख, रचनादेखि सामाजिक सञ्जालमा समेत निकै बहस प्रचारप्रसार भइरहेको छ । हाम्रो समाजको दिग्गजहरु समेत पनि यस्ता अर्थहीन बहसमा समावृष्ट हुन गएको देशको लागि राम्रो लक्षण होइन । यस्ता हल्लाखल्लाबाट जनतामा नचाहिँदो भ्रम सृजना हुन्छ । तसर्थ, मुलुकको प्रमुख एजेण्डाहरु नै ओझेलमा पार्ने गरी चलाइएका यस्ता निरर्थक हल्लाहरुबारे जनतालाई शिक्षित गराउने काम गर्न अति आवश्यक भइसकेको छ र यो काम राजनीतिक नेता र बुद्धिजीवीहरुले गर्नैपर्छ ।

विश्वभर सबैले मानिरहेको एक अलिखित चलन भनेको आर्थिक र राजनीतिक आधारमा ठूलो दर्जामा राखिएका राष्ट्रहरुलाई अरु राष्ट्रले बढी मान सम्मान इज्जत दिनु हो । संयुक्त राष्ट्र संघको ठूला बैठकहरु न्युयोर्कमा हुँदा सयौँ मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले अमेरिकी राष्ट्रपतिसँग बसेर फोटो लिन खोज्ने रहेछ, किन होला भनी हाम्रा दिग्गजहरुले जनतालाई भन्न सक्नु प-यो नि !

जसरी मानवजातको इतिहासमा प्राचीनकालदेखि आजसम्म धनी र गरिब, विद्वान र साधारण, बलिया र कमजोर, शिक्षित र अशिक्षितबीचको खाडल आजसम्म कायम नै छन्, त्यसैगरी साना र ठूला राष्ट्रहबीचको भेदभाव कहिल्यै अन्त्य हुनेवाला छैन । र, यो भेदभावलाई मुलुकको ‘आत्मसम्मान र सार्वभौमसत्ता’सँग जोड्नु मूर्खता हो ।

विश्वको दोस्रो सबैभन्दा शक्तिशाली राष्ट्र चीनको राष्ट्रपतिको एक दिनको लागि भएको नेपाल भ्रमण विश्व समाचार बनेकै हो, हामीले गौरव गर्नैपर्छ । केही घण्टामात्र नेपालमा बसेकोलाई नेपालको आत्मसम्मानमा चोट पु-यायो भन्न मिल्ला र ? भारतको प्रधानमन्त्री पटक–पटक नेपाल भ्रमणमा आएकोले नेपालको इज्जत बढेको भन्नु उचित होला कि नेपालमा हस्तक्षेप गर्न आएको भनी ‘आत्मसम्मान र सार्वभौमसत्ता’सँग जोड्ने ? भनिन्छ, परराष्ट्र नीतिमा सिद्धान्त भनेको हुँदै हुँदैन, परराष्ट्रनीतिको मामिलामा नेपाल पनि अत्यन्त स्वार्थी हुनैपर्छ, तीन करोड जनताको स्वार्थमा काम गर्नैपर्छ । यसमा स्वार्थी हुन नेताहरु लाज मान्नुपर्ने कुनै कारण छैन ।

लुकीछिपी राजदूतहरुलाई भेट्ने होइन, खुलेआम भेट्नुप-यो– राष्ट्रनिर्माणको खातिर । कुनै राजदूतले कुनै पार्टी विशेषको आन्तरिक झगडामा मध्यस्थकर्ता गर्न खोजेकै हो भने पनि हाम्रा दिग्गजहरुले यसबाट देशलाई बेफाइदा के कसरी कहाँनिर भयो किटान गरेर विवरण दिन सक्नुप-यो, खाली आत्मसम्मानको माला जपेर जनतालाई भ्रमित पार्नुभएन ।

नेपालमा विश्वकै सबैभन्दा शक्तिशाली दुई मुलुक अमेरिका र चीनका राजदूतद्वयले नेपालजस्तो भूगोल भएको मुलुकमा चासो देखाउनु सामान्य कुरा हो । त्यसैगरी नेपालसँग एक विचित्रको कूटनीतिक सम्बन्ध रहेको र दक्षिण एसियाको सबैभन्दा शक्तिशाली मुलुक भारतको राजदूतले अरु राजदूतहरुभन्दा बढी सक्रियता देखाएर बिग्रिन्छ के त ? यी तीन जना राजदूतहरुको सक्रियताले तीन करोड जनताको न प्रतिव्यक्ति आय घट्ने हो, न त बेरोजगार संख्या बढ्ने हो । यसको ठीक उल्टो, चातुर्यका साथ ‘कूटनीतिक खेल’ खेल्नसकेमा समग्र अर्थतन्त्रमा सहयोग पु-याउन सकिन्छ ।

राजदूतहरुको दौडधूपलाई राष्ट्रको ‘आत्मसम्मान र सार्वभौमसत्ता’सँग जोडेर हीनताको भावना राख्ने मनोवृत्ति नेपाली मिडिया, बुद्धिजीवी र राजनीतिज्ञहरुले छोड्नुप-यो । उहाँहरुको अर्जुन दृष्टि ती राजदूतहरुको ‘दौडधूप’बाट नेताहरुले चतुर तरिकाले तिकडम खेलेर के कसरी तीन करोड जनताको जीवनस्तर बढाउने र रोजगारी सृजना गर्ने भनी राय/सल्लाह दिनेमा हुनुप-यो ।

गत २००/३०० वर्षदेखि अहिलेसम्म कायम रहेको नेपालको ‘आत्मसम्मान र सार्वभौमसत्ता’लाई शक्तिशाली राष्ट्रहरुको दुई/चार जना राजदूतको दौडधूपले खलबल्यायो भनी जनतालाई दिमाग पखाल्ने काम बन्द गर्नुप-यो । नेपाली नागरिक खास गरी युवा पंक्तिलाई निराशावादीहरुको जमातमा परिणत गर्नेजस्तो घोर आपत्तिजनक कामकुरो हाम्रा दिग्गजहरुले कुनै हालतमा गर्नुभएन । निराश र हीनताको भावना भएको समाजले देश बन्दैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x