Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामदार लैजाने विषयमा कोरिया सरकारको अनुमति पर्खिँदै

कामदार लैजाने विषयमा कोरिया सरकारको अनुमति पर्खिँदै


प्रवीण राउत
काठमाडौं, असार २५
नेपाली कामदार लैजाने विषयमा कोरिया सरकारले कुनै निर्णय नलिँदा युवाहरु दक्षिण कोरिया जानबाट वञ्चित हुनपुगेका छन् । दक्षिण कोरिया सरकारले नेपाली कामदार लैजाने विषयमा हालसम्म कुनै आधिकारिक निर्णय नगरेको हुँदा नेपाली युवाहरु कोरिया पठाउन नसकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ‘सरकार सरकार (जीटुजी)बीच भएको सम्झौताअनुरुप कोरिया जान सकिने हो तर युवाहरुलाई कोरिया पठाउनको लागि नेपाल सरकारबाट कुनै रोकावट छैन’, विभागका महानिर्देशक कुमार दाहालले भने, ‘कोरियाली कम्पनी तथा सरकार नै तयार नभएको अवस्थामा हामीले कसरी पठाउन सक्छौँ ? के हामीले कोरियाको विमानस्थलसम्म मात्र पु-याएर अलपत्र पार्ने ?’

कोभिड १९ को कारण अन्तर्राष्ट्रिय उडान बन्द हुन पुग्दा युवाहरु कोरिया जानबाट वञ्चित हुनपुगेका हुन् । उनले कोरिया पठाउने विषयमा अहिले पनि दुई पक्षबीच निरन्तर वार्ता भइरहेको बताए । ‘उनीहरु अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि पहिले भएको सम्झौताअनुरुप नेपालबाट कामदार लैजान तयार छन्’, उनले भने, ‘उनीहरु चार्टर्ड विमानमार्फत लैजाने विषयमा केही बोलेका छैनन् । त्यसैले हामी चार्टर्ड विमानको खर्च व्यहोर्छौँ जान दिनुस् भन्दैमा जानसक्ने अवस्था छैन ।’

कोभिड १९ को कारण नेपाली कामदारहरु कोरिया पुगेको खण्डमा भने १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था छ तर त्यसको लागि कोरियाको कुनै पनि कम्पनीले नेपालबाट कामदार ल्याएर क्वारेन्टाइनमा राख्छु भनेको छैन । ‘दुई पक्षबीच भएको सम्झौताअनुरुप कोरिया जानको लागि हवाइ शुल्कबापत ४० देखि ४५ हजार रुपैयाँ लाग्छ’, महानिर्देशक दाहालले भने,

‘यदि चार्टर्ड विमानमार्फत जाने हो भने करिब डेढ लाख लाग्ने देखिन्छ । जसले गर्दा युवाहरुलाई महँगो उडान खर्च लाग्छ भने कोरियन सरकार चार्टर्ड उडानमार्फत कामदार लैजान तयार छैन ।’ नेपालको मात्रै नभएर पाकिस्तान, बंगलादेशबाट समेत चार्टर्ड विमानमार्फत युवाहरु लैजाने पक्षमा कोरिया सरकार रहेको पाइँदैन । कोरिया जानको लागि सेलिङ ट्राभल एण्ड टुर कम्पनीले ४० देखि ४५ हजार रुपैयाँमा दक्षिण कोरिया लैजाने गर्दै आएको छ । विभागले अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पहिलो चरणमा २५ सय पठाउने बताएको छ ।

विभागले कोरिया मात्र नभएर खाडी राष्ट्रहरुमा समेत ती मुलुकका सरकारले कामदार आउनको लागि अनुमति नदिएमा पठाउन नसकिने बताएको छ । ‘युवाहरु जान खोजेर मात्र हुँदैन, सरकार अर्थात् आधिकारिक निकायले अनुमति नदिई हामी कसरी अघि बढ्नसक्छौँ’, उनले भने, ‘त्यसैले जो विदेश जान चाहेका छन्, ती युवाहरुले यो कुरा बुझ्नु आवश्यक छ ।’

पछिल्लो समय अर्थात् अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया जानको लागि उडानतालिका प्राप्त गरेका एक सय ६२ जना नयाँ र ४७ जना पुनः प्रवेश गर्ने गरी कुल दुई सय जना नेपाली युवाहरुलाई कोरिया प्रवेशमा रोक लगाएको थियो । सोसँगै सन् २०१९ कोरिया जानका लागि भाषा र सीप परीक्षा पास गरेका सात हजार जना नेपाली युवाहरु हवाइ उडान सुचारु हुने र कोरिया जान पाउने आशामा छन् भने २०१७/०१८ का युवाहरु समेत कोरिया जाने प्रतीक्षामा बसिरहेका छन् । सन् २०२० मा कोरियाले नेपालको लागि सात हजार पाँच सय कामदारको कोेटा पठाएको छ भने उनीहरुलाई डिसेम्बरसम्ममा कोरिया पठाउनुपर्ने हुन्छ ।

कोरिया जान पाऊँ भन्दै युवाहरुले गरे प्रदर्शन : रोजगारीका लागि दक्षिण कोरिया जान पाऊँ भन्दै बुधबार युवाहरुले प्रदर्शन गरेका छन् । सम्पूर्ण प्रक्रिया पूरा गरी उडान पर्खाइमा रहेका युवाहरुले बुधबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) पासर आयोजकले गरेको प्रदर्शनमा युवाहरुले सरकारलाई कोरिया जाने वातावरण बनाइदिन सचेत गराएका थिए । सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारु गर’, ‘उडान खोली जान दे सरकार’, ‘प्रधानमन्त्रीज्यू बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देऊ’, ‘काम रोक्न पाइँदैन, नालायक सरकार चाहिँदैन’, ‘सरकार सक्छौँ भने देशमै देऊ रोजगार, गरी खान दे सरकार, सक्दैनौ भने लाखौँ बेरोजगार युवाहरुको भविष्य नबिगार’लगायतका प्लेकार्ड बोकी प्रदर्शन गरेका थिए । सहभागीहरुले कोभिड १९ का कारण सामाजिक दूरी कायम राखी सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

नेपाली युवाहरु सन् २००८ देखि कामका लागि कोरिया जाने गरेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार ईपीएसमार्फत गएका करिब ४० हजार युवाहरु कोरियामा छन् । कोरिया गएका कामदार युवाहरु चार वर्ष १० महिनापछि स्वदेश फर्किनुपर्ने व्यवस्था छ ।

कतारमा आममाफी पाएकासहित ४६३ नेपाली स्वदेशमा : वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका चार सय ६३ जना नेपाली युवाहरु बुधबार स्वदेश फर्किएका छन् । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतारमा आममाफीमा संलग्न एक सय ६१ जना तथा सरकारले निर्धारण गरेको प्राथमिकतामा परेकासहित चार सय ६३ जना नेपाली युवा बुधबार स्वदेश फर्किएको बताए । कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका र कतारका विविध कानुन उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रक्रियामा रही कतारको डिटेन्सन सेन्टरमा रहेका १ सय ६१ जना नेपालीहरु काठमाडौं आएका हुन् ।

उनीहरु दोहास्थित नेपाली राजदूतावासको समन्वयमा कतार एयरवेजको क्युआर ३३४६ को उडानबाट नेपाल फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपाली युवाहरु लिएर कतारबाट उडेको कतार एयरलाइन्स काठमाडौंमा सवा १ बजे आइपुगेको थियो । यसअघि १९ जुन २०२० मा यस्तै प्रक्रियाअन्तर्गत ४३ जना नेपाली नागरिकहरू स्वदेश फर्किसकेका छन् ।

त्यसैगरी सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा तीन सय दुई जना नेपालीलाई समेत बुधबार नै स्वदेश ल्याइएको छ । दुई वटा छुट्टाछुट्टै उडानमार्फत उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल एयरलाइन्सको आरए २३९२ को उडानबाट तीन महिलासहित एक सय ४८ जना र हिमालय एयरलाइन्सको एच ९५३६२ को उडानबाट एक महिलासहित एक सय ५४ जना युवाहरुलाई काठमाडौं ल्याइएको हो ।

कतारबाट युवाहरु लिएर आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्रमशः करिब बिहान ८ बजे र ११ बजे काठमाडौं आइपुगेको विमानस्थलले जानकारी दिएको छ । यस्तै कतारमा मृत्यु भएका दुई जना नेपालीको शव समेत नेपाल एयरलाइन्समार्फत बुधबार नै काठमाडौं ल्याइएको छ । दूतावासका अनुसार एक सय ४८ जना नागरिक फिर्ता लैजानको लागि प्रयोग गरिएको नेपाल एयरलाइन्सको विमानमार्फत नै ती शवहरु स्वदेश ल्याइएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x