Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारी क्षेत्रलाई अगाडि बढाउन दीर्घकालीन रणनीति बनाइने

सहकारी क्षेत्रलाई अगाडि बढाउन दीर्घकालीन रणनीति बनाइने


काठमाडौं, असार २५
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउने तयारी थालेको बताएकी छिन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको पच्चीस वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे बोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने दस्तावेज बनाउने गरी तयारी गरिएको बताइन् ।

सहकारी क्षेत्रलाई सुशासनयुक्त बनाउने ठूलो चुनौती रहेको भन्दै मन्त्री अर्यालले सरकार, सहकारी अभियन्ता, विज्ञ सबै मिलेर सचेत हुनुपर्नेमा जोड दिइन् । बोर्डले तयार गरेको दीर्घकालीन रणनीतिमा छलफल गरेर सुझाव दिनसमेत त्यस अवसरमा मन्त्री अर्यालले आग्रह गरिन् । त्यस अवसरमा राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन गर्नका लागि तयार पारिएको मस्यौदाका विषयमा पनि छलफल गरिएको थियो । सहकारी नीतिको सम्बन्धमा मन्त्री अर्यालले सहकारी नीति छलफलका लागि ल्याइएको भन्दै त्यसलाई सबै मिलेर समग्र सहकारी क्षेत्रलाई कसरी राम्रो बनाउने भनेर छलफलमार्फत् अगाडि बढाइने बताइन् ।

सहकारी क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले हिजो र आजको सहकारीमा धेरै अन्तर भएकाले आजको आवश्यकताअनुसार सहकारीलाई अगाडि बढाउनुपर्ने बताइन् । सहकारीलाई व्यवसायिकतामा लैजानुपर्ने, उत्पादनसँग जोड्नुपर्ने र सुशासन कायम गर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सहकारी नीतिको मस्यौदामाथि धेरै छलफल र अध्ययन गरेर सुझाव दिनसमेत आग्रह गरिन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बचत तथा ऋण सहकारीलाई बढी नियमन गर्न आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी क्षेत्रलाई अझ बढी नियमन गर्न आवश्यक रहेको बताए । रणनीतिक योजना र सहकारी नीतिका सन्दर्भमा छलफलपछि बोर्डका सहअध्यक्ष दक्ष पौडेल र सदस्यसचिव चक्रबहादुर पराजुलीले सबैले राय लिएर अगाडि बढाइने बताए । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना तयार गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x