सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
काठमाडौं । सहर वा नगर नागरिकको मात्र होइन, आफ्नो अनुकूलतामा रहने प्राणीहरूको लागि पनि हो । सहरमा यत्रतत्र छरिने फोहोर वस्तुहरू काग, कुकुर र अन्य मांसाहारी प्राणीहरूले खाइदिएपछि सहरको सुन्दरतामा केही हदसम्म भए पनि टेवा पुग्छ । सहरमा बसोबास गर्नेहरूले आफू सहरिया भन्ठान्छन्, गौरव गर्छन् । तर दायित्वबोध भने गरेको पाइँदैन । आफ्नै घर कम्पाउन्डको सेफ्टी ट्याङ्की रसाएर बाटोमा बग्दैगरेको हुन्छ, बटुवाहरूले त्यही फोहोर दुर्गन्धित पानी कुल्चेर जुत्ता–चप्पलमा टाँसेर घर आँगनसम्म पुर्याउँछन् । सवारीसाधनका पाङ्ग्राहरूले पनि त्यो फोहोर आ–आफ्ना घर आँगनमा पुर्याउँछन् । तर दुर्गन्धित पानी बाटोमा बगाइदिने, छतबाट बाटोतिर फोहोर पानी फ्याँक्ने अशोभनीय क्रियाकलापहरू केही सहरियाहरूमा पाइन्छ । यो काम पक्कै पनि सभ्य नागरिकको होइन । काठमाडौंका ढलहरू अस्तव्यस्त अवस्थामा छन् । वर्षादमा ठूलो पानी पर्दाबित्तिकै ठाउँठाउँमा ढलहरू फुटेर बाटो नै जलमग्न हुनेगर्छ । जुत्ता हातमा समाएर त्यहीँ दुर्गन्धित ढलको फोहोर पानीमा हिँड्नुपर्छ । एक अर्थमा भन्नुपर्दा गाउँभन्दा सहर धेरै नै फोहोरी ठाउँ हो ।
नेपालकै उदाहरण दिँदा काठमाडौं ७७ जिल्लाका मानिसहरू बस्ने, आवतजावत गर्ने मुख्य सहर र संघीय राजधानी पनि हो । यहाँ ७७ जिल्लाको फोहोर जम्मा हुन्छ भन्नुमा फरक पर्दैन । जिल्लाको कुनै एक गाउँमा सीमित फोहर हुन्छ, जुन माटोमा सजिलै मिल्छ र जनस्वास्थ्यमा खासै असर गर्दैन । गाउँलेहरूलाई स्वस्थ रहनका लागि गाउँको वातावरणले पनि साथ दिन्छ । सहरको वातावरण भनेको प्रदूषित, दुर्गन्धित अनि अव्यवस्थित हुने कुरा सत्य हो । वागमती, विष्णुमती, धोबीखोलालगायत अन्य खोलानाला र नदीहरू ज्यादै नै फोहोर बनाइएका छन् । धार्मिक हिसाबले नदी वा खोलालाई देवीको रूपमा लिइन्छ र खोला–नदीलाई गंगा, सरित र सरिता पनि भनिन्छ । देवीको स्वरूपमाथि मलमूत्र ओइराइदिने अनि खोलाछेउमै महल ठड्याएर व्यवस्थित पूजाकोठामा उनै देवी–देवताको पूरा गर्नुको कुनै अर्थ छैन । बर्खामा मुहानदेखि नै उर्लिएर आउने खोलानालाहरूले आफ्नो बाटो हिँड्न खोज्छन् । नदिनाला हिँड्ने वा बग्ने ठाउँको छेउछाउमा रहेका महल वा भवनका कोठाकोठामा फोहोर पानी छिर्ने नै भयो । आपत परेपछि मात्र मान्छेको बुद्धि पलाउँछ र पछुताउँछ पनि । नचाहिने काम गरिएछ भनेर उसले स्वीकार्दैन । नबुझिकन र दीर्घकालीन सोच नराखिकन किनिएको घडेरीमा बनाइएको घरबाट कसैलाई पनि सुख मिल्दैन । खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरू बाढीले उजाड पारेका घटनाहरू नौला होइनन् ।
यस वर्षको वर्षादले काठमाडौंमा धेरै नै क्षति पुगेको कुरा सर्वविदितै छ । सुकुम्बासी समस्या समाधानतर्फ लाग्ने कसैलाई पनि फुर्सद् छैन । सुकुम्बासी बस्तीमा पनि राजनीतिक चक्र चलिरहन्छ । कोहीकोही करोडपति पनि सुकुम्बासी बनेर सुविधा लिने गरेको पनि सुनिन्छ । यी त भए सहरमा बस्नेहरूको असभ्यता अनि फोहर क्रियाकलाप र मापदण्डविपरीत बनाइने महलहरूका बारेको प्रसंगहरू । कुनै पनि नदीनाला स्वच्छ हुनुपर्छ अनि कंचन हुनुपर्छ । किनकि नदीनाला भनेका जलचर प्राणीहरूका लागि आवश्यक पर्ने स्थान हो । जलचर प्राणीहरू लोप हुने गरी फोहोर फाल्ने विषादी हाल्ने गर्नाले इकोसिस्टम बिग्रिने हुन्छ । इकोसिस्टम बिग्रियो भने प्रकृतिमा विभिन्न विकृतिहरू पैदा हुने हुन्छ । प्राणीहरूको स्वतन्त्रता र अधिकारलाई हनन् गर्नु कुनै पनि मानवका लागि राम्रो होइन । जलवायु परिवर्तनका बारेमा धेरै गोष्ठी भए सेमिनारहरू पनि भए तर त्यसले केही पनि उपलब्धि हासिल भएनन् खाली भत्ता पचाउने काम मात्र हुन पुग्यो ।
सहर नभई नहुने गलत सोच
केही वर्षयता गाउँगाउँबाट सहर पस्नेहरूको संख्या बढ्दो छ । गाउँमा रहेका पुराना कलात्मक घरमा ताल्चा ठोकेर, गोठ र खोर रित्तो पारेर, ठेका–मदानी मिल्काएर गञ्जागोल सहरमा पस्न खोज्नु उचित हुँदैन । सहरमा बस्नेको भन्दा गाउँमा बस्नेको आयु स्वतः १०/१२ वर्ष बढी हुन्छ । सहरमा पाइने खाद्यवस्तु गाउँको तुलनामा गुणस्तरहीन हुन्छन् । गाउँमा आफैँले पालेका गाईवस्तु दुहेर सेवन गरिने गोरस सहरबजारका डेरीमा किन्नुपर्ने सेतो रसभन्दा कैयन गुणा बढी लाभकारी हुन्छन् । तरकारी र फलफूल पनि सहरबजारका भन्दा गाउँकै उत्तम हुन्छन् । प्रकृतिले हामीलाई मौसमअनुसारका उपजहरू उपयोग गर भनेको हुन्छ ।
कुकुरका केही स्वभावः आफ्नो जिभ्रोलाई कप आकारको बनाएर पानी मुखभित्र प्रवेश गराउने क्षमता हुन्छ कुकुरमा । गाईभैँसीजस्तो तनतनी पिउने गर्दैनन् कुकुरहरूले । कुकुर भोकै भए पनि धेरैदिन बाँच्न सक्छ । बिशेषगरी कात्तिक महिनामा कुकुरहरू समूहमा रहेर दिनभर भोकै हिँडेका देखिन्छन् । एउटा पोथी कुकुरसँगको सहबासका लागि धेरै भाले कुकुरहरू पछि लाग्ने गर्छन् । कात्तिक महिनामै कुकुरहरू एकआपसमा झगडा गर्दै कसैको कान नै छिनिने अवस्थामा देखिन्छन् भने कसैको छालै झुन्डिने गरी घाइते भएका देखिन्छन् । प्रकृतिले प्राणीहरूमा पनि विविधता बनाइदिएको छ । त्यस्तै, वनस्पतिमा पनि विविधता छ । सहरमा रहेका भुस्याहा कुकुरहरूलाई व्यवस्थित गर्नका लागि नगरपालिका कार्यालयले पनि दायित्वबोध गर्नुपर्छ । यत्रतत्र फ्याकिने फोहोर वस्तु खाएर सहर सफा गर्ने भूमिकामा रहेका कुकुरहरूलाई व्यवस्थित बनाउनका लागि नीति नै बनाउनुपर्छ । मासुपसलका अगाडि धेरै कुकुरहरू बसेका देखिन्छन् । मासु पसलेले सकेसम्म सबे कुकुरलाई पुग्नेगरी हड्डी र खेरजाने मासु दिने गरेका हुन्छन् । कसैकसैले कुकुरहरूलाई बिस्कुट खान दिएको पनि देखिन्छ । तर बिस्कुट कुकुरको स्वास्थ्यको लागि पोषक वस्तु भने होइन ।
रोगी कुकुरलाई उपचार
लुते कुकुर वा खुइरे कुकुर हामीले कतैकतै बाटोमा देखेका हुन्छौँ । त्यो देख्दा हामीलाई दिगमिग वा सिकसिक लाग्न सक्छ । तर उसको व्यथा हामीले बुझिदिएमा सच्चा मानवीयता ठहर्छ । सकिन्छ भने उसको उपचार गर्नका लागि कुकुरसँग सम्बन्धित संस्थाहरूको सहयोग लिनु राम्रो हुन्छ । मानिस आफू बिरामी भएको पत्तो पाउँछ तर प्राणीहरू बिरामी परेको पत्तो पाउँदैन ।
कुकुर सेवा
कतैकतै कुकुरलाई निश्चित समयमा जम्मा पारेर खानेकुरा खुवाउने गरेको पनि देखिन्छ । एकदिन बुढानीलकण्ठको चपलीस्थित जेष्ठ नागरिक पार्कको गेटछेउमा कुकुरहरू जम्मा पारेर अलगअलग भाँडोमा खानेकुराहरू राखिदिएर खुवाएको दृश्य यो लेखकको नजर परेको थियो । मलाई लागेको थियो कुकुर सेवामा लाग्ने यी व्यक्ति सच्चा मानिस रहेछन् र उनले जीवजन्तुको भावना बुझ्दारहेछन् ।
कुकुरले नालीको फोहोर पानी पिउन बाध्य
बाटोको छेउमा रहेको फोहोर नालीमा बग्ने दुर्गन्धित पानी कुकुरले पिइरहेको देखिन्छ । त्यस्तै, बाटोमा परेको खाल्डोमा जमेको फोहोर पानी पनि कुकुरले पिएको हामीले देखेकै हुन्छौँ । त्यसैले ठाउँठाउँमा कुकुरलाई भाँडोहरूमा सफा पानी पिलाउने व्यवस्था भएमा उचित ठहरिन्छ ।
भुस्याहा कुकुरलाई कसरी व्यवस्थित गर्ने
काठमाडौं महानगरले कुनैबखत कुकुरलाई विष खुवाएर मार्ने नीति पनि लिएको थियो । यस्तो क्रुर नीति लिनु जायज कुरा होइन । पर्यावरणीय हिसाबले जबर्जस्ती प्राणी हत्या गर्नु अपराध नै हो । कुकुर स्याहारका लागि संस्थाहरूलाई केही बजेट दिएमा ती संस्थाहरू कुकुर स्याहारमा लाग्ने निश्चित देखिन्छ ।
कुकुरले सवारी साधनलाई किन लखेट्नुका कारण
सवारीसाधनहरू कृत्रिम वस्तु हुन् । मानिसले कृत्रिम वस्तु स्वीकार्छ तर मानवबाहेकका अन्य प्राणीहरूले कृत्रिम वस्तु स्वीकार्दैनन् । त्यसैले कुकुरहरूले मोटरकार, मोटरसाइकल, स्कुटरलाई अस्वाभाविक वस्तु देख्छन् र लखेट्न खोज्छन् । कुकुरहरूले गुडिरहेका सवारीसाधनहरू लखेट्दा विशेषगरी मोटरसाइकल र स्कुटरचालकले संयमता अपनाउनुपर्छ । कुकुरले लखेट्यो भन्दैमा गति तीब्र पार्नु हितकर हुँदैन । गति तीब्र पारेमा सवारी असन्तुलित भएर दुर्घटना हुन सक्छ ।
किन भुक्छन् कुकुरहरू
कसैले ठूलोखालको धोक्रो वा बोरा बोकेर हिँडेको देखेमा त्यसरी धोक्रो वा बोरा बोकेर हिँड्नेहरूलाई कुकुरले अस्वाभाविक दृश्यको रूपमा लिन्छ वा बुझ्छ अनि जुरुक्क उठेर भुक्दै ती मान्छेनिर पुग्छन् । टोक्ने उद्देश्यले नभै आफूबाट उनीहरू टाढिऊन् भनेर नै भुक्ने गर्छन् । बोरा बोक्नेहरूको हातमा लट्ठी हुने हुँदा भुक्दै गरेका कुकुरलाई भगाउने गरेका हुन्छन् । औपचारिक पोशाकमा रहेका सैनिक र प्रहरी देखेमा पनि कुकुरहरू भुक्छन् । सैनिक वा प्रहरीले लगाउने गरेको पोशाक अन्य मानिसले लगाउने पोशाकभन्दा फरक बुट्टामा देखिने हुँदा कुकुरहरूलाई त्यो रङ तथा आकारका पोशाक रुचाउँदैनन् र भुक्ने गर्छन् । योगी वा साधुलाई देखेमा पनि कुकुरहरू भुक्ने गर्छन् । उनीहरूको पहिरन पनि सामान्य मानिसको भन्दा फरक देखिने हुँदा कुकुरहरू भुक्दै योगीको नजिक पुग्ने गर्छन् । यस्तै, एम्बुलेन्सको आवाज तथा दमकलको आवाज सुनेपछि पनि कुकुरहरू भुक्नेगर्छन् ।
कुकुरको आफ्नै इलाका
एकआपसमा परिचित कुकुरहरू प्रायः एकै ठाउँमा बस्छन् । अन्य इलाकाबाट आएको नौलो कुकुर देख्दाबित्तिकै उसलाई लखेटेर सिमाना कटाइदिन्छन् वा झम्टेर घाइते समेत बनाइदिन्छन् ।
कुकुरहरूको व्यवस्थापनमा नगरपालिकाको भूमिका
काठमाडौंमा यदाकदा भुस्याहा कुकुरहरूको व्यवस्थापनका लागि संस्था तथा व्यक्तिहरू पनि लागेको देखिन्छ । दुईतीन वर्षअघि लाजिम्पाटदेखि नारायणगोपाल चोकसम्म बिजुलीका खम्बाका फेँदमा कुकुरले पिऊन् भनेर भाँडोमा पानी राखिएको देखिन्थ्यो । ती भाँडाहरू कवाडीवालाहरूले उठाएर लगेपछि फेरि दोहो¥याएर कुकुर सेवा गर्न कसलाई पो मन लाग्ला र ? कुकुर हत्या गर्नुभन्दा व्यवस्थित गर्नु राम्रो हुन्छ । कुकुर एक गुण नबिर्सने प्राणी हो । एकपटक खान दिएपछि ऊ घर अगाडि आएर बस्नथाल्छ र नौला मानिस आएमा भुक्छ पनि । बरु मानिसले गुण बिर्सनसक्छ कुकुरले गुण कदापि बिर्सिँदैन । खुसी हुँदा पुच्छर हल्लाउँछ र कान पनि चलाउँछ । केही खान दिएपछि ऊ मान्छेसँग लाडिन खोज्छ । कुनै बखत बालुवाटारमा एकजना पेस्तोलधारी मोटरसाइकल चालकले केही कुकुरहरूको एकै चिहान बनाइदिएका थिए । राति मोटरसाइकल आवश्यक नपरी सकेसम्म नचलाउँदा पनि हुन्छ । मान्छेको निद्रा समेत खोसिने गरी ठूलो आवाजमा रातमा मोटरसाइकल चलाउनेको पनि यहाँ कमी छैन । यसमा पनि नियन्त्रण गर्नु जरुरी छ । नगर प्रमुखज्यूहरू ! भुस्याहा कुकुरको व्यवस्थापन आजैदेखि गर्नुपर्यो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया