एउटी नर्सको कथा व्यथा
काठमाडौं । चिकित्सा विज्ञानमा नर्सिङ सेवालाई त्यति राम्रो मानिएको देखिँदैन । हुन त यो मानिसको बुझाइ मात्र हुन सक्छ । कुनै मानिस बिरामी भयो भने उसको नजिक र प्रिय भन्ने नै एउटी नर्स हुन सक्छे । किनभने बिरामीको हेरचाह गर्ने, सरसफाइ गर्ने, औषधि खुवाउने आदि काम त्यही नर्सले मात्र गरेकी हुन्छे । जीवनको अन्तिम अवस्थामा वा बिरामीलाई हरेक किसिमको सहयोग गर्ने पनि त्यही नर्स हुन सक्छे । तर अधिकांश मानिसले यो बुझ्न सकिरहेका हुँदैनन् । त्यही नर्सलाई उपेक्षा गरेका पनि हुन्छन् ।
हो, यी विभिन्न कारणहरूले गर्दा नर्स पेसालाई उपेक्षा गरिए पनि मानिसले अन्तिम अवस्थामा पाउने सेवा, सहयोग र अथक प्रयास गरेर बचाउने काम गर्ने भनेको एउटी नर्स नै हुन् । एउटी नर्सले मानवीय पक्षलाई विचार गरेर काम नगर्ने हो भने कुनै पनि बिरामीको अवस्था कस्तो हुनेछ हामी सवैले बुझ्नुपर्छ ।
— कुनै पनि बिरामीसँग चौबीसै घण्टा साथमा रहने नर्स नै हुन्छे । एउटी नर्सले समयमा औषधि नखुवाए बिरामीको अवस्था के होला ?
— एउटी नर्सले बिरामीको घाउ खटिरा सफा नगर्ने हो भने त्यो बिरामीले कति दुखाइ सहनुपर्ला ?
— एउटी नर्सले बिरामीको हेरचाह नगरे के होला ?
— एउटी नर्सले बिरामीले लगाएको कपडा परिवर्तन नगरे बिरामी कति फोहोरी देखिएला ?
— एउटी नर्स आफ्नो कर्तव्यमा चुकिदिई भने बिरामीको लागि कति जोखिम आउला ?
— एउटी नर्सले बिरामीसँग राम्रो बोली र व्यवहार नगर्ने हो भने बिरामीको मानसिकता कस्तो होला ?
— एकछिन मात्र एउटी नर्स बिरामीको साथ नहुने हो भने त्यस बखतमा बिरामीले के सोचेको हुनेछ ? यसतर्फ हामीहरूको विचार पुगेको छ ?
अझ महत्वपूर्ण कुरा के छ भने एउटा चिकित्सक सधैं बिरामीको साथ हुन सक्दैन । तर, नर्स भने सधैं बिरामीको साथमा हुन्छे । निश्चय नै यी बुँदाहरूप्रति हामीहरूको ध्यान जान सकेको छैन । बिरामीको सुरुको अवस्थादेखि अन्तिम अवस्थासम्म स्याहारसुसार गरेर बिरामीलाई बचाउने काम ती उपेक्षित गरिएकी नर्स नै हुन्छिन् ।
तल्लोस्तरको काम र पदले गर्दा अधिकांश मानिसहरूको बुझाइमा नर्सिङ पेसालाई राम्रो मानेका हुँदैनन् । तर, जब कुनै मानिस बिरामी भएर अस्पतालको शय्यामा रहन्छ, त्यसबेला भने उसले नर्सिङ सेवालाई बुझेको हुन्छ, कति संवेदनशील रहेछ भन्ने कुरा । सधैँभर बिरामीको साथ र उसकै सेवामा रहने सेवा गर्ने भनेको नै नर्स हो ।
अर्को कुरा नर्सको काम कर्तव्य यति संवेदनशील हुन्छन् कि धेरै मानिसले बुझेकै हुँदैनन् । एउटी नर्सले बिरामीको मनोविज्ञान बुझ्नैपर्छ । त्यस अनुरूप उसको हेरचाह स्याहारसुसार र उपचार आदिमा लाग्नुपर्छ । यही मनोविज्ञानको आधारमा कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्ने हो ।
चिकित्सा क्षेत्रमा एउटी नर्सको काम धेरै र महत्वपूर्ण हुन्छन् र त्यतिकै संबेदनशील पनि छन् । मानवीय पक्षसँग जोडिए पनि नर्सिङ सेवालाई जति महत्व दिनुपर्ने हो त्यति दिएको पाइँदैन । अहिले अविकसित देशहरूमा नर्सिङ सेवाको महत्व बढ्दै गएको देखिन्छ । साधारणतया थोरै पारिश्रमिक दिएर धेरै सेवा लिन सकिने भनेको पेशा भनेको नर्सिङ नै हो । एउटी नर्सले कति धेरै बिरामीलाई सेवा दिनुपर्छ ? तपाईँ हामीले जवाफ दिन सक्छौँ ? निश्चय नै सक्दैनौँ ।
एउटी नर्स अस्पतालको एउटा कुनाबाट अर्को कुनामा कति पटक ओहोरदोहोर गर्छे, हामी हिसाब राख्न सक्छौँ र ? कति पटक व्यवस्थापनसँग सम्पर्क राख्न पुग्छे ? र, कति पटक बिरामी ऐया आच्छु भन्दै हस्याङ्फस्याङ् गर्दै तुरुन्त पुगेकी हुन्छे, त्यस तर्फ विचार पुगेको छ ?
एउटी नर्सले आर्थिक लाभले सेवा गरेकी हुन्न । आर्थिक लाभलाई नै महत्व दिएकी भए धेरै लाभ लिन सकिने क्षेत्र अरू नै होलान् । काम र सेवाको दृष्टिकोणबाट हेर्दा नर्सिङ सेवा यति संवेदनशील र महत्वपूर्ण देखिन्छ तर यसमा मानिसको बुझाइको कमी रहेको अवश्य नै हो । एउटी नर्स बिरामीसँग, औषधिसँग, चिकित्सकसँग, व्यवस्थापनसँग, स्याहार सुसारसँग, सरसफाइसँग जोडिएर आफ्नो कर्तव्य निभाउनु निकै कठिन कार्य हो । यस्ता महत्वपूर्ण, संवेदनशील र मानवीय पक्षसँग जोडिएको पक्षमा सुधार गर्नेतर्फ सबैको ध्यान जानुपर्छ ।
निश्चय नै नर्सको काम निकै संवेदनशील छ र दुःखको पनि । सडकको एक छेउ तथा बाटोको एक छेउमा तपाईँ हामीले कुनै मानव मलमूत्र देख्यौँ भने छिछि र दुरदुर गरी पर भागेका हुन्छौँ । कसैले लगाएको कपडाको एक छेउमा सानो दाग देखियो भने के लागेको हो ? आची लागेको हो कि क्या हो भनेका हुन्छौँ । त्यस्तैगरी कतै रगतको टाटो देखिनासाथ हामी निकै डराएका हुन्छौँ । कतै पिसाब देख्नासाथ हामीहरू घिनाएका हुन्छौँ । यी कुरादेखि हामी निकै टाढा हुन चाहन्छौँ । भनाइको अर्थ यी तुच्छ कुरा हुन् र यिनीहरूको हामीहरूले सरसफाइ गर्नै हुन्न भन्ने एक प्रकारको धारणा बनाएका हुन्छौँ । तर, यिनै काम एउटी पढेलेखेकी नर्सले कत्ति पनि घिन नमानी बिरामीको दिसा स्याहारेकी हुन्छिन् । पिसाब स्याहारेकी हुन्छिन् । रगतका टाटा सकिनसकी धोइपखालेकी हुन्छिन् । बिरामीको लागि जति सरसफाइ गर्नुपर्ने हो सबै तिनै नर्सले मनैदेखि सेवा भावनाले गरेकी हुन्छिन् । यस्तो सेवा दिने नर्स र उनको पेसालाई किन उपेक्षा गरिएको हुन्छ । बुझ्न सकिएको छैन । कतिपय अवस्थामा त एउटी नर्सले न्यूनतम पारिश्रमिकमा बिरामीको घरमै पुगेर पनि सेवा उपलब्ध गराएकी हुन्छिन् । उनको यस्तो मानवीय सेवालाई अवमूल्यन गरेर न्यूनतम पारिश्रमिकमा श्रमशोषण गरिनुलाई कुनै पनि अवस्थामा राम्रो भन्न सकिँदैन । तर, भइरहेको छ ।
लामो अवधिसम्म अध्ययन गर्नुपर्ने र शुल्क पनि बढी नै खर्चिएर पाएको शिक्षालाई उपेक्षा गर्दै एउटा पियनको भन्दा पनि कम मूल्यमा सेवा लिइरहेको अहिलेको अवस्थामा सुधारको आवश्यकता देखिएको छ । अन्यथा यो अरू केही नभएर मानव शोषण मात्र हुनेछ ।
अमेरिकाजस्तो विकसित मुलुकमा भने एउटी नर्सको सेवालाई उच्च मूल्याङ्कन गरिएको देखिन्छ । डाक्टर सरह नै उसले बिरामी जाँच्न र प्रेस्क्रिप्सन लेख्न पाउँछे भने हामी कहाँ यो सुविधा दिइएको छैन । यसकारण अधिकांश नर्सहरू आफ्नो देशमा सेवामा कार्यरत हुनुभन्दा देशै छोडेर विदेश पलायन भएको अहिलेको अवस्था हो ।
स्वदेशमा सेवा गर्दा न वृत्तिको न आर्थिक दृष्टिकोणबाट नै सन्तुष्ट हुन सक्ने अवस्था छ । यसकारणले गर्दा धेरैजसो नर्सहरू सेवाको कदर र राम्रो पारिश्रमिकको लागि विदेश प्रवाह हुने भीड बढी रहेको छ । यसरी स्वदेशी दक्ष चिकित्सासम्बन्धी जनशक्ति बाहिर जाने हो भने हाम्रो देशको स्वास्थ्य सेवाको अवस्था अझै दयनीय हुनेछ र सबैको लागि चिन्ताको विषय हुनेछ । त्यसकारण नर्सिङ पेसालाई उपेक्षा नगरी स्वदेशमा टिकाउने गरी आवश्यक व्यवस्था गर्नु नित्तान्त आवश्यक देखिएको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया