Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनिजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा

निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा


काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउन्डेसन अस्ट्रेलियासँगको साझेदारीमा निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा आएको छ । निजगढ नगरपालिका–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरी सेवा सुचारु गरिएको हो । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिब ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । यसले स्थानीय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले यो भेगमा गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य अस्पताल ल्याउने आफूहरूको सपना साकार भएको बताए ।

द फ्रेड हलोज फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले यो अस्पताल, द फ्रेड हलोज फाउन्डेसनको लागि नयाँ अध्यायको सुरुआत रहेको उल्लेख गरे । यसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको उनको भनाइ छ । नेपालमा करिब ९३ हजार तीन सय जना दृष्टिविहीन रहेको जनाइएको छ । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ ।

प्रतिष्ठानअन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोप्याथी र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ । जसका लागि अत्याधुनिक उपचार विधि र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतियाविन्दु हो । अन्धोपन भएकामध्ये अनुमानित ६६ दशमलव आठ प्रतिशत व्यक्ति मोतियाविन्दुको कारणबाट भएको देखिन्छ । २३ हजार फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा चार तला रहेका छन् । यसमा आँखा उपचारका लागि दुई शल्यक्रिया कोठामा चार वटा वेड, ओपेडी (आउटडोर पेसेन्ट विभाग) र आईपीेडी (डे केयर), एक पोस्ट अपरेटिभ वार्ड, र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्वारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्नेछन्, जसले मधेश प्रदेशमा उच्च गुणस्तरको उपचार सेवामा पहुँच वृद्धि गर्नेछ ।

आगामी पाँच वर्षमा यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित दुई लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्षरूपमा यस क्षेत्रका ३० लाखभन्दा बढी व्यक्तिहरूमा गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्ने आकलन गरिएको छ । नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुईतिहाइ बढी दृष्टिविहीन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रममार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँचसम्बन्धी विद्यमान लैंगिक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ । स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अनुमानित चार÷पाँच प्रतिशत अंश रहेको देखिन्छ । त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरी सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकूल प्रणालीहरू प्रयोगमा ल्याउने जनाइएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x