काठमाडौँ । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।
पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् ।
बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले राससलाई बताए ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केहि दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको बताए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रुपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ ।
मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
“अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरुमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ”, मौसमविद् अधिकारीले भन्नुभयो । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले उल्लेख गरे ।
पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौँ बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँको भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ । भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौँ बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरु डिले भइरहेका हुन् । “उडान नियमित भइरहकेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भने ।
काठमाडौँमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौँको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आइतबार बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया