Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’

ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’


काठमाडौं । वहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा छिमेकी देशको आसन्न औपचारिक भ्रमणलाई अर्का निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त देशको कार्ड खेलेको भनेर संज्ञा दिए । यी वहालवाला प्रधानमन्त्रीको यो चौथो कार्यकाल हो भने उनको अहिले कार्ड मानिएको त्यो छिमेकी देशको आसन्न औपचारिक भ्रमण पनि तेस्रो पटक हुन लागेको हो । त्यसैलाई तेस्रो कार्यकालबाट निवर्तमान भएका प्रधानमन्त्रीले उक्त देशको कार्ड खेलेको भनेर संज्ञा दिनुले यति उच्चतहका यी व्यक्तिले देशको कूटनीतिलाई कसरी चलाइरहेका रहेछन् भन्ने बुझिन्छ, बुझाउँछ । वहालवाला प्रधानमन्त्रीको एउटा छिमेकी देशको औपचारिक भ्रमण हुनै लाग्दा यसरी अर्को छिमेकी देशलाई भड्काउने गरी दिइएको अभिव्यक्ति जुन माध्यममा आए त्यसको पनि उत्तिकै अर्थ रहला । देशबाट यो तहको भ्रमण हुन लाग्दा निवर्तमान प्रधानमन्त्रीले ‘चाइना कार्ड’ खेल्न लागेको भनेर बताइएको सञ्चारमाध्यम पनि भ्रमण हुन लागेको देशको विपरीत ध्रुवको अर्थात् अर्को छिमेकी देश भारतको हो ।

नेपाल यस्तो दुई छिमेकी देशको बीचमा छ, जो ती देशबीच भने आपसी मेल छैन । त्यस्तोबेला बहालवाला प्रधानमन्त्रीको एउटा छिमेकी देश चीनको आसन्न औपचारिक भ्रमण हुन लागेको अवस्थामा अर्का निवर्तमान प्रधानमन्त्रीले चिनियाँ कार्ड खेल्न लागेको भनेर आफ्ना देशका अखवारलाई दिएका अन्तर्वार्ताबाट त्यो देश भारतका जनताले के बुझ्ने ? यो प्रश्न सामान्य छैन । निश्चय नै नेपालका प्रधानमन्त्री जो भए पनि र जतिपटक भए पनि प्रधानमन्त्री हुना साथ पहिलो विदेश भ्रमण भारतबाटै हुने गर्थ्यो । यसपटक त्यस्तो परम्परा तोडिएको देखियो । यसो हुँदा यी प्रधानमन्त्रीले नयाँ अभ्यास थाले भन्नेचाहिँ होइन । पहिलेपहिले नयाँ प्रधानमन्त्री बन्नासाथ सबैभन्दा पहिला शुभकामना दिनेमा भारतका प्रधानमन्त्री हुन्थे । त्यही शुभकामनामा नवनियुक्त प्रधानमन्त्रीलाई आफ्नो देशको भ्रमणको निम्ता दिइन्थ्यो । गणतन्त्र स्थापना भएपछि यसअघि एकजना प्रधानमन्त्रीले मात्र त्यस्तो निम्ता नपाई कार्यकाल सकिएको थियो । यस पटक भने नयाँ प्रधानमन्त्रीलाई त्यताबाट कम्तीमा सय दिनसम्म र अर्को छिमेकी देश चीनको भ्रमण हुनै लागेको समयसम्म त्यस्तो निम्ता आएको छैन । यो पृष्ठभूमिलाई हेर्दा प्रधानमन्त्रीको यो चीन भ्रमण अर्को निवर्तमानले भनेजस्तो त्यस्तो कार्ड खेल्नका लागि होजस्तो देखिँदैन । प्रधानमन्त्रीका रूपमा पहिलो भेटघाट भने नेपालका प्रधानमन्त्रीले भारतकै प्रधानमन्त्रीसँग गरेको देखिन्छ ।

नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण हुनै लाग्दा पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय पत्रिका ‘द हिन्दू’लाई अन्तर्वार्ता नै दिए । त्यसैमा उनले ओलीले ‘चाइना कार्ड’ खेल्न सक्ने भन्दै केही कूटनीतिक सन्देश वा जानकारी गराएका हुन् । तर उनको यो अभिव्यक्ति भने आलोचनामुक्त रहेन । यस्तो अभिव्यक्ति दिन उनले रोजेको मध्यम भारतीय पत्रिका ‘द हिन्दू’ पनि चर्चाको विषय बनेको पाइयो । कुनै देशको उच्च पदाधिकारी जुन देशको भ्रमण गर्दैछन् त्यस्तो बेला त्यही देशका माध्यमहरूले भ्रमणकर्ता देशका विशिष्ठ व्यक्तित्वसँग यस्ता अन्तर्वार्तामार्फत भ्रमणलाई सफल बनाउने सन्दर्भमा विषयहरूको उठान गर्छन्, दुई देश समस्या पहिचानमा यसले मद्दत गर्ने मानिन्छ । तर अहिले सन्दर्भ फरक–फरक देखियो । एउटा देशको भ्रमण छ र अर्को देशका माध्यमसँग भ्रमणको औचित्यमाथि नै प्रश्न उठ्ने गरी वार्तालाप हुन्छ भने त्यो राम्रो अभ्यास मानिँदैन । यो अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कोट्याएका ‘चाइना कार्ड’ प्रयोग गर्नेमा केन्द्रित देखिएको भनेर लगाएका आरोप गम्भीर मानिएको हुनुपर्छ । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका तथा हालका प्रमुख प्रतिपक्षी दलको नेताको यस्तो भनाइ निश्चय नै कूटनीतिक मर्यादाविपरीतकै हुनपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x