Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरभरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित

भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित

एउटा मात्रै कम्पनीको उत्पादनस“ग मिल्ने मापदण्ड राखेको आरोप


काठमाडौं । भरतपुर महानगरपालिकाले आफ्नो इलाका भित्र सीसीटीभी राख्न खुलाएको टेन्डर विवादित बनेको छ । एउटा चिनियाँ कम्पनीको उत्पादनसँग मात्रै मिल्नेगरी मापदण्ड राखेर टेन्डर खुलाएपछि विवाद भएको हो ।

महानगरपालिकाले आफ्नो इलाका भित्र विभिन्न स्थानमा भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) सहितको सीसीटीभी क्यामेरा जडान गर्न असार २८ गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्र आह्वान गर्दा चिनियाँ कम्पनी दाहुवासँग मात्रै मिल्नेगरी स्पेसिफिकेसन तोकिएको भन्दै व्यापारीहरुले आपत्ति जनाएका हुन् ।

भरतपुर महानगरपालिकाले तोकेको मापदण्ड काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले २०८० पुसमा तोकेको मापदण्डसँग दुरुस्तै मिल्न गएको छ । त्यसबेला पनि प्रहरीले चिनियाँ कम्पनी दाहुवाको उत्पादनसँग मिल्नेगरी मापदण्ड तोकेर टेन्डर खुलाएको थियो । त्यस विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । जुन अहिलेपनि विचाराधिन छ ।

व्यापारीहरुले एउटा मात्रै कम्पनीको उत्पादनसँग दुरुस्त मिल्ने स्पेसिफिकेसन राख्नु कुनै संयोग नभएर सेटिङमा गरिएको हुनसक्ने आशंका गरेका छन् । यसबाट दाहुवालाई अनुचित फाइदा पुग्ने व्यापारीहरुको दाबी छ । प्रतिस्पर्धी कम्पनीहरुलाई बाहिर राखेर दाहुवालाई मात्रै फाइदा पुग्नेगरी प्रहरीले चलखेल गरेको आंशका व्यापारीहरुको छ ।

“पहिले त प्रहरीको आफ्नै थियो, तर यसपाली मूल्यांकन समितिमा केही प्रहरीहरू संलग्न हुनुहुन्छ । उहाँहरू दाउवासँगको ‘सेटिङ’ मा नै बस्नु भएको हो,” एक व्यापारीले भने, “प्रहरीलाई मूल्यांकन गर्न दिने हो भने उनीहरूको आवश्यकता बुझ्ने हो । उनीहरूले हाल भनेको स्पेसिफिकेसन सबै हाल्ने होइन ।”

भरतपुर महानगरले खुलाएको टेन्डरमा छ वटा भेन्डरहरूले आवेदन दिएका छन् । जसमध्ये तीन वटा चिनियाँ कम्पनी दाहुवाकै उत्पादन बिक्री गर्ने कम्पनी हुन् । महानगरपालिकाले नमूना परीक्षण गर्न प्रत्येक भेन्डरहरूलाई बोलाइसकेको छ । कानूनतः त्यसमा जसले राम्रो गर्छ र कम मुल्यमा काम सम्पन्न गर्छु भन्छ त्यही भेन्डरले टेन्डर पाउँछ । तर यसो हुनेमा व्यापारीहरूले आशंका गरेका छन् ।

“प्राविधिक डेमोमा दाहुवाले सत प्रतिशत राम्रो गर्न नसके बाँकी सबै कम्पनीलाई स्वतः नलिने सम्भावना छ । अरु कम्पनीले ७०÷८० प्रतिशत मात्र राम्रो गर्ने हो भने जसले कम रकममा बोलकबोल गर्छ उसलाई दिनु पर्छ,” एक व्यापारीले भने । तर २०८१ असोज ७ गते महानगरले प्राविधिक मुल्यांकनका लागि डेमो लिने काम सकिसकेको छ । तर अहिलेसम्म त्यसको नतिजा आएको छैन । नतिजा आउन ढिलाई हुनुलाई ब्यापारीहरुले चलखेल हुनसक्ने बताएका छन् ।

श्रोतका अनुसार हालसालै केहि कम्पनीका प्रतिनिधिहरु प्रहरी मुख्यालय गइ उच्च प्रहरी अधिकृतलाई भेटेर मुल्यांकन निस्पक्ष गर्न अनुरोध गरेका थिए । उच्च प्रहरी अधिकृतले सो सम्बन्धमा सत्य तथ्य बुझी आवस्यक कदम चाल्ने र उक्त निस्पक्ष मुल्यांकन गरिने आश्वासन दिएको श्रोतको दाबी छ ।

यसअघि बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्यामेरा जडान गर्न टेन्डर आह्वान गर्दा पनि यही कम्पनीको सीसीटिभी स्पेसिफिकेसनसँग मिलेको थियो । त्यसमा पनि व्यवसायीहरूले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।


क्याटेगोरी : समाचार, महानगर

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x