धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
काठमाडौं । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छापूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शिखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरूको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्वपूर्ण धरोहरको रूपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नैपर्ने मनोकांक्षा प्रत्येक हिन्दु धर्मावलम्बीको हुन्छ । हिन्दु मात्र होइन, यहाँ बौद्ध र किरात धर्म मान्नेले पनि उत्तिकै आस्थाका साथ पुग्ने गर्छन् । धार्मिक एवं ऐतिहासिकरूपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने यस मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।
पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवलाई पाथीभरा देवी भनिएको हो । आसपासमा हिमाल, बीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ । अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पत्तिस्थल रहेकाले यो देवीको नाम पाथीभरा देवी भनेर श्रद्धा एवं भक्तिपूर्वक पुज्ने गरिन्छ । परापूर्वकालमा गाई/भेँडा चराउने गोठालाहरूले स्थापना गरेको पाथीभरा देवीथान शक्ति उपासकहरूका लागि विशेष महत्व राख्छ । यहाँ अझै देवी मन्दिरको भवन बनेको छैन र देवी स्थानको रूपमै यो तीर्थ रहेको छ । पाथीभरा देवी स्थान नजिकै २०७७ सालमा किराँत मन्दिरको पनि निर्माण गरिएको छ । यसको प्राङ्गणमा गुरु फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिक राखिएको छ । यसले पाथीभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायिक आराध्य स्थल बन्न पुगेको छ । ताप्लेजुङका किराँत समुदायले पाथीभरा पहाडलाई ‘मुकुम्लुङ’ भनिन्छ । लिम्बू भाषामा ‘मुकुम’को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुङ्गा भन्ने जनाउँछ । त्यसैले लिम्बु जाति पाथीभरालाई शक्ति वा बलको स्रोतरूपमा पुजिन्छ । बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गर्छन् ।
पाथीभरा देवी उत्पत्तिको इतिहास
पाथीभरा देवीको उत्पत्तिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । पौराणिक मान्यताअनुसार पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेँडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अप्रत्यासित ढङ्गले हेर्दाहेर्दै ती गोठका बथानका बथान भेँडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालामध्येका एकले राति सपनामा साक्षात् कालीको रूप देखेछन् । सपनामै देवीले तिमीहरू नआत्तिनु, मलाई भेँडाको बलि दिनु, हराएका तिम्रा भेँडा पाउनेछौं र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युँझिएर हेर्दा आफ्ना हराएका सबै भेँडा देखे । त्यसपछि गोठालाले भेँडाको बलि दिएर त्यहाँ पूजाआजा गरी गोठ अन्यत्रै सारे । बलि दिएको भेँडाको रगत बलिस्थलमा झर्ना साथ बालुवामा पानी हराएझैँ हराउन पुग्यो ।
यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे । त्यसैबेलादेखि पाथीभरा माताको पूजाअर्चना र बलिदान दिने प्रचलन सुरु भएको इतिहास छ । यसलाई श्रद्धालु भक्तजनले पाथीभरा माताको महिमाको रूपमा लिन्छन् । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँचवटा रूप भएकी देवी भएकाले पाथीभरा भगवतीलाई पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ । पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । बलिस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले सजिलै अनुभव तथा अवलोकन गर्न सक्छन् । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालिका’ हो । भोग बलि दिइने भएकाले यसलाई रक्तकाली पनि भन्ने गरिन्छ । त्यसैले पनि रक्तकालीलाई भक्तजनहरूले चढाएको बलि स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा पनि रहिआएको छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाइ चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनले देवीलाई सिन्दुर, टीका, गाजल, काँगियोजस्त सौन्दर्य प्रशाधनका सामग्री चढाउने गर्छन् ।
बाह्र हजार फिट उचाइमा रहेको पाथीभरा मन्दिरमा प्रत्येक दिन नेपाल र छिमेकी मुलुक भारतका सयौँ हिन्दु धर्मावलम्बीको भीड लाग्ने गर्छ । आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ पाथीभरा देवीको दर्शनका लागि आउने श्रद्धालु भक्तजनकोे तल्लो फेदीमा लर्को देखिन्छ । तल्लो फेदीबाट पाँच/छ घण्टा उकालो हिँडेर पाथीभरा मन्दिर पुग्न सकिन्छ र बास बस्न पुनः फेदीमै ओर्लिनुपर्छ भने कतिपय भक्तजनले दुई/तीन घण्टा हिँडेर माथिल्लो फेदीमा पुग्छन् । तीर्थयात्रीहरू रातिको बास बसेर भोलिपल्ट एकाबिहानै तीन/चार घण्टा हिँडेर मन्दिरमा पुग्ने र माताको पूजाआर्चना गरेर पुनः माथिल्लो फेदी हुँदै तल्लो फेदीमै ओर्लिने गर्छन् ।
पाथीभरा मन्दिर कसरी जाने ?
पाथीभराको यो पवित्र स्थल जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९ दशमलव ४ किमी पूर्वोत्तरतर्फ समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा अवस्थित छ । पाथीभरा देवीको मन्दिर वरपरको तापमान प्रायः शून्यमा झर्ने गर्छ । तीर्थयात्री तथा पर्यटकहरूले लेकलाग्न र न्यून तापबाट जोगिन घरेलु उपचारको सामग्रीजस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरू लिएर जाने गर्छन् । पाथीभरा मन्दिर पुस/माघमा हिउँले सेताम्य हुन्छ भने अन्य समयमा पनि मौसम चिसो नै हुने गर्छ । त्यसैले पाथीभरा यात्राको लागि सबैभन्दा उपयुक्त समय भनेको भदौदेखि कात्तिकसम्म र फागुनदेखि जेठसम्म हो । यो समयमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । यो समयमा ऋतु परिवर्तन हुने भएकाले अत्याधिक चिसो नहुने, मौसम उचित हुने र वातावरण पनि सुन्दर हुने भएकाले यो समय पर्यटकको रोजाइमा पर्ने गर्छ ।
झापाको बिर्तामोडबाट इलाम–फिदिम–हुँदै दुई सय ७० किलोमिटर फुङ्गलिङ मेची राजमार्गमा यात्रा गरी फुङ्गलिङबाट सुकेटार–तल्लो फेदी–उपल्लो फेदी हुँदै पैदल हिँडेर पाथीभरा पुग्न सकिन्छ । अन्य मार्गमा धरानबाट धनकुटा–हिले हुँदै कोशी राजमार्गमा एक सय किलोमिटर यात्रा गरी वसन्तपुरबाट गुफापोखरी, गोर्गा दोभान हुँदै पैदल यात्रामा पुग्न सकिन्छ । फुङ्लिङ बजारबाट एक दिन पैदल हिँडेर पुग्न सकिने यो मन्दिरमा वर्षभरि भक्तजनको घुइँचो लाग्ने गर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
- एभरेस्ट कलरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
- नेपाल टेलिकम सम्मानित
- तारागाउँ रिजेन्सी सम्मानित
- आईटी क्षेत्रको अन्तर्राष्ट्रियस्तरको असोसियो अवार्ड कुँवरलाई
- लिट्मस केबल्स र फिटनेस प्रशिक्षक सनम मूल गुठीबीच सहकार्य
- प्रभु केवलकारको आईपीओ निष्काशन कुमारी क्यापिटलले गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया