Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने

जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने


अजरबैजान । युरोपेली संघ (ईयू)ले जलवायु परिवर्तनका कारण हुने विश्वव्यापी तापमान वृद्धिबाट प्रभावित गरिब देशहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन नेतृत्व लिने बताएको छ । सबै धनी प्रदूषक मुलुकहरूले गरिब तथा प्रभावित मुलुकहरूलाई ‘योगदान गर्ने जिम्मेवारी’ रहेको ईयूका जलवायुमामिला प्रतिनिधि वोप्के होक्स्ट्राले सोमबार बताएका हुन् ।

युरोपेली संघ विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न मद्दत गर्न पैसाको सबैभन्दा ठूलो योगदानकर्ता हो । चीनजस्ता प्रमुख उदीयमान अर्थ व्यवस्थाहरूले पनि यसमा सहयोग गर्न सहमत छन् । तर विश्वका प्रमुख अर्थव्यवस्थाहरूले योगदानको आफ्नै सीमा तोकेका कारण यो मुद्दाले अपेक्षाअनुसार गति लिनसकेको छैन ।

अजरबैजानमा नोभेम्बर ११ देखि २२ सम्म जारी कोप २९ जलवायु शिखर सम्मेलनमा गरिब देशहरूमा जलवायु कार्यका लागि आर्थिक सहयोग बढाउन राष्ट्रहरू नयाँ सम्झौतामा पुग्ने अपेक्षा गरिएको छ । तर कसले तिर्ने, कति तिर्नेजस्ता नयाँ वित्तीय सम्झौताको संरचनाका विषयका कारण वार्ताले गति लिनसकेको छैन ।

ईयूका जलवायु आयुक्त होक्स्ट्राले बाकुमा पत्रकारहरूसँग भने, ‘हामी जलवायु वित्त सहयोगका लागि नेतृत्व गर्ने कामलाई जारी राख्नेछौँ । हाम्रो हिस्सा सोभन्दा पनि बढी सहयोग हामीले सधैँ गर्दै आएका छौँ ।’

“सम्पन्नतासँगै जिम्मेवारी पनि आउँछ’, उनले क्षतिपूर्ति रकमका लागि आनाकानी गरिरहेका प्रमुख अर्थतन्त्रहरूलाई संकेत गर्दै भने । उत्सर्जन र यसका कारण उनीहरूले लिएको आर्थिक लाभका आधारमा क्षतिपूर्तिका लागि योगदान गर्ने जिम्मेवारी छ ।

बेइजिङले विश्वका सबैभन्दा गरिब देशहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न र जीवाश्म इन्धनहरू हटाउन मद्दत गर्न विश्वव्यापी हिस्साअनुसार योगदान पुर्याउनुपर्ने सुझावहरूलाई अस्वीकार गरेको छ । चीनले सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस सम्झौताअन्तर्गत जलवायु वित्तको भुक्तानी आफ्नै शर्तमा गर्दछ ।

बाकु वार्ताले सम्मेलनको पहिलो हप्तामा यस मुद्दामा खासै सहमतिको आधार बनाउन नसके पनि सम्मेलनका बाँकी दिनमा राष्ट्रहरूलाई गति लिन आग्रह गरिएको छ । होक्स्ट्राले कोप २९ आयोजक अजरबैजानलाई जलवायु वित्तको ‘नेतृत्व गर्न र सम्पूर्ण चराचरलाई सुरक्षित अवतरणको दिशामा डोर्याउन’ आह्वान गरेका छन् ।

कोप २९ सम्मेलनका पर्यवेक्षककहरूले वर्षौँको सबैभन्दा जटिल जलवायु वार्ताको रूपमा देखिएका विषयहरूलाई अगाडि बढाउन महत्वपूर्ण नेतृत्व आवश्यक रहेको तर अजरबैजानमा यसका लागि कूटनीतिक अनुभवको अभाव रहेको बताएका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x