Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल

लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल


काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर लक्ष्यअनुरूप हासिल गरेको बताएको छ । मन्त्रालयले तीन दशमलव ८७ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य राखेकोमा प्राप्त गरेको बताएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले वैशाख १८ गते सो आर्थिक वर्षमा एक दशमलव ९२ प्रतिशतले वृद्धि हुदै आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने अनुमान गरेको थियो ।

मन्त्रालयले आर्थिक वृद्धिदर मात्र नभई अर्थतन्त्रको आकार समेत अुनमानअनुरूप मिलेको जनाएको छ । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब पाँच अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल भएको मात्रै नभई अर्थतन्त्रका अधिकांश सूचकहरू प्रगतिमा रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । थोरै भए पनि राजनीतिक स्थिरताका कारणले गर्दा अर्थतन्त्र राम्रो भएकाले सूचकहरूमा प्रगति देखिएको अधिकारीहरूको भनाइ छ ।

अर्थतन्त्रको कुरा गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल स्थिर पुँजी लगानी चार प्रतिशतले वृद्धि भएको छ । जसमा सरकारी चार दशमलव ५९ प्रतिशत र निजी क्षेत्रको तीन दशलव ६७ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा कुल पुँजी निर्माण १७ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ भने कुल स्थिर पुँजी लगानी १३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ, जसमा सरकारी चार खर्ब ९७ अर्ब रुपैयाँ र निजी क्षेत्रको आठ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो ।

पुँजी लगानीका साथै कुल गार्हस्थ्य बचत, कुल राष्ट्रिय बचत र प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको तुलनमा गत आर्थिक वर्षमा कुल गार्हस्थ्य बचत नौ दशमलव ६६ प्रतिशतले वृद्धि हुँदै चार खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । कुल राष्ट्रिय बचत १४ दशमलव १३ प्रतिशतले वृद्धि हुँदै २० खर्ब ६२ अर्ब रुपैयाँ र प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी तीन दशमलव ६३ प्रतिशतले वृद्धि हुँदै १४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वृद्धिदर लक्ष्यअनुरूपको अर्थतन्त्रका अधिकांश सूचकहरू प्रगतिमा देखिनु मुलुक र जनताको लागि राम्रो भएको विज्ञहरू बताउँछन् ।

मन्त्रालयका अनुसार पछिल्लो दशकको मुलुकको वार्षिक औसत आर्थिक वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ । वैज्ञानिक, अनुमानयोग्य र पारदर्शी राजस्व प्रणालीको विकासबाट निजी लगानीमैत्री वातावरण सिर्जना गरी उत्पादनमूलक उद्योग तथा व्यवसाय प्रवद्र्धन र औद्योगिक संरक्षण प्रदान गर्ने राणनीति लिएको कारण अर्थतन्त्र प्रगतितर्फ लागेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । मुलुकको अर्थतन्त्र विकास गर्न दर्जनौँ रणनीति लिएकोमा सार्वजनिक खर्चलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा प्रभावकारी र न्यायोचितरूपमा विनियोजन गरी उच्च आर्थिक वृद्धि हासिल गर्ने रहेकोले अर्थतन्त्र सुधार गर्न सकिएको अधिकारीहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x