Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदेशको आन्तरिक अर्थतन्त्र अझै सुस्त

देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त


काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति बढेको छ । यस्तै शोधनान्तर स्थिति बचत बढ्दै गएको छ भने निजी क्षेत्रतर्फ जाने कर्जा पनि केही बढेको छ । तर मूल्यवृद्धि दर गत वर्षको तुलनामा घटेको भए पनि भदौ महिनाको तुलनामा असोजमा केही बढेको छ ।

ब्याजदर घट्दा पनि निजी क्षेत्रमा कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्नु र कमजोर सरकारी खर्चका कारण आन्तरिक अर्थतन्त्रको शिथिलता यथावत देखिन्छ । रेमिट्यान्स आप्रवाह बढेको, आयात खुम्चिँदा विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको कारण बाह्य क्षेत्र चुनौतीमुक्त देखिएको छ । तर, आन्तरिक अर्थतन्त्र अझै दबाबमा देखिन्छ । ब्याजदर घटेकाले बजारमा माग बढ्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । माग बढ्न नसक्दा उत्पादन र आयात प्रभावित भएको छ । यसको असर कर्जाको मागमा परेको छ । कर्जा विस्तार अपेक्षित नहुँदा अर्थतन्त्र अझै सुस्त रहेको छ । त्यसैले रेमिट्यान्स बढेर सुधारिएको बाह्य क्षेत्रबाहेक अर्थतन्त्रमा अन्य कुनै उपलब्धि देखिएको छैन ।

मूल्यवृद्धि दर बढ्यो
भदौको तुलनामा असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको छ । भदौ महिनामा तीन दशमलव ८५ प्रतिशत रहेको मुद्रास्फीति दर असोजमा चार दशमलव ८२ प्रतिशत पुगेको छ । गत वर्ष असोजको तुलनामा भने कम छ । गत वर्ष असोजमा मुद्रास्फीति साढे सात प्रतिशत थियो ।

असोजसम्म खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत थियो । तरकारीजन्य समूहको मुद्रास्फीति २५ दशमलव १५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्यवस्तुको नौ दशमलव ५७ प्रतिशत, घ्यू तथा तेलको चार दशमलव ९८ प्रतिशत छ ।

२०८१ असोज महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोज महिनामा दुई दशमलव ७८ प्रतिशत थियो ।

रेमिट्यान्स चार खर्ब बढी भित्रियो
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाह ११ दशमलव पाँच प्रतिशत बढेर चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड छ । गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब ७६ करोड डलर भित्रिएको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोड थियो ।

तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार नौ सय ३९ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख १३ हजार तीन सय ९७ र ४९ हजार दुई सय ९७ थियो ।

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब
विदेशी मुद्रा सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म नौ दशमलव चार प्रतिशतले बढेर २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा आठ दशमलव सात प्रतिशत बढेर १६ अर्ब ६० करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा सात दशमलव पाँच प्रतिशतले बढेर १९ खर्ब ८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६ दशमलव नौ प्रतिशतले बढेर दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको छ ।

पहिलो त्रैमासको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १८ दिनको वस्तु आयात र १४ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९ दशमलव एक प्रतिशत, एक सय २१ दशमलव नौ प्रतिशत र ३० दशमलव नौ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका थिए ।

शोधनान्तर स्थिति र चालू खाता बचतमा
असोज मसान्तसम्म शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालू खाता एक खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) चार अर्ब ८१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) तीन अर्ब ३८ करोड थियो ।

सेवा आय घाटामा
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय साढे तीन प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब १३ करोड रुपैयाँ थियो । सेवा खाताअन्(तर्गत भ्रमण व्यय सात दशमलव सात प्रतिशतले वृद्धि भई ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ३२ अर्ब १८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रुपैयाँ थियो ।

निजी क्षेत्रमा प्रवाह भएको कर्जा
बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा साढे दुई प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्ष यही अवधिमा दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब नौ अर्ब रुपैयाँ बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित क र्जा छ प्रतिशतले बढेको छ ।

निजी क्षेत्रमा प्रवाहित भएको कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवारतर्फ ३६ प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थागत क्षेत्रतर्फ ६३ दशमलव एक प्रतिशत र घरपरिवारतर्फ ३६ दशमलव नौ प्रतिशत छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x