बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरूको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सहभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एसियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्याङ्कन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न छ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा आयोजकहरूमा मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एसियाली पहल (साइवाग) रहेका छन् ।
उक्त भेलामा लागि देशका सातवटै प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका बालबलिकाका प्रतिनिधिहरूका साथै आयोजक एवं बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्य संघ संस्थाका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको छ । प्रत्येक प्रदेशबाट तीन÷तीन जना समेत गरी २१ जना तथा विभिन्न अल्पसंख्यक समुदायबाट थप १० जना समेत गरी ३१ जना बालबालिकालाई समेत सहभागी गराएर कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाहरूले बालविवाह रोकथामका लागि गरेका प्रयास र त्यस क्रममा देखिएका चुनौती बारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रमको उद्घाटन सत्रमा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालविवाह रोकथामका लागि कानुनी मात्रै नभएर अन्य पक्षहरूलाई ध्यान दिनुपर्नेमा जोड दिए । अहिले बालविवाहको अभियोगमा पक्राउ परेकाहरूलाई जबरजस्ती करणी, शरीर बन्धकजस्ता अभियोग लगाएर वर्षौँसम्म जेलमा राख्ने गरेको भन्दै यसमा बालविवाहको कसुरमा मात्रै कारबाही गर्नुपर्नेमा जोड दिए । उनले एउटा अस्पतालमा ९९ जना सुत्केरीमध्ये १७ जनालाई २० वर्षभन्दा कम उमेरको पाएको बताउँदै कानुनी व्यवस्थाले मात्रै बालविवाह अन्त्य हुने अवस्था नरहेको बताए । यसका लागि समाजका विभिन्न पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरूले १० बन्दीगृह र तीन बाल सुधारगृहको अनुगमन गर्दा बालविवाहकै आरोपमा धेरै थुनामा पर्ने गरेको पाइएको बताइन् । सुवेदीले पनि बालविवाहको रोकथामका लागि जरासम्मै पुगेर समाधान खोज्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपालले बालविवाह हुनुमा मुख्य दुईवटा कारण रहेको पाइएको बताए । उनका अनुसार तराई क्षेत्रमा दाइजोका कारण बालविवाहको क्रम रोकिएको छैन । छोरीलाई धेरै पढायो भने त्यहीअनुसारको केटा खोज्नुपर्ने र त्यहीअनुसार दाइजो दिनुपर्ने भएकोले छिटै विवाह गरिदिने प्रचलन रहेको उनले बताए । त्यस्तै, पहाडी क्षेत्रमा भने विद्यालय पढ्दापढ्दै प्रेम गरेर भाग्ने प्रचलनले बालविवाह बढेको पाइएको उनको भनाइ छ ।
कतिपय अवस्थामा गरिब समुदायका बालबालिकामा दोस्रो तथा तेस्रो सन्तानलाई हेर्न पहिलो सन्तानलाई स्कुल नपठाउने गरेको पाइएको भन्दै यो समेत छिटो विवाहलाई प्रोत्साहन गर्ने समेत उनको भनाइ छ । त्यसैले यस्ता कुराहरू रोक्न समस्याको मूल कारण थाहा पाउनुपर्नेमा उनले जोड दिए । उनले २०३० सम्म बालविवाह उन्मुलन गर्ने लक्ष्यअनुसार मन्त्रालयल बालविवाहविरुद्ध रणनीति बनाउन लागेको भन्दै कार्यक्रमले दिने सुझावलाई रणनीतिमा समेट्ने बताए ।
कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेलले पछिल्लो समय दक्षिण एसियाली क्षेत्रमा बालविवाह कम हुँदै गएको बताए । केही समय अघिसम्म बालविवाहमा पहिलो रहेको दक्षिण एसिया त्यसबाट माथि उक्लिएको भन्दै अझै सुधारका धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
त्यस्तै, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बाल अधिकारका क्षेत्रमा कुरा गर्दैगर्दा घरमा हुने निर्णयमा बालबालिकाको मतलाई कति ध्यान दिइन्छ भन्ने विषय महत्वपूर्ण रहेको बताए । घरको कुनै निर्णय गर्दा बालबालिकाको सल्ला लिइन्छ कि लिइँदैन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ । आफू विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा समितिमा बालबालिकाको प्रतिनिधित्व गराउने प्रयास गरेको बताउँदै उनले बालबालिकालाई अह्राएको गर्ने व्यक्तिको रूपमा मात्रै विकास गर्न नहुनेमा जोड दिए ।
कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले २०२६ सालमा नेपाल अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सम्बन्धमा यसपछि बालवालिकाको सवालमा हुने परिवर्तनबारे समेत भेलामा छलफल हुने जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया