कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
‘निक्षेप सुरक्षित छ, राष्ट्र बैंकको कारबाहीले फरक पर्दैन’
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाउने गरी शिघ्र सुधारात्मक कारबाही गरेको जनाएको छ ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको पुँजी कोष अनुपात नपुगेको र निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम भएको पाएपछि शीघ्र सुधारात्मक कारबाही गर्दै समस्याउन्मुख घोषणा गरेको हो ।
‘कर्णाली डेभलपमेन्ट बैंकको २०८१ साउन छ गतेदेखि विसं २०८१ साउन ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदनअनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन गर्दा राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुनेलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको थियो । यो अवस्थामा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियमबमोजिम छ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने सर्तमा मंगलबार अर्थात् २०८१ मंसिर ११ गतेकै मितिदेखि लागू हुनेगरी थप निक्षेप सङ्कलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको हो’, सूचनामा भनिएको छ ।
नेपालगञ्जमा केन्द्रीय कार्यालय रही क्षेत्रीयस्तरमा बैंकिङ कारोबार सञ्चालन गर्दै आएको कर्णालीको हाल तुलसीपुर, लमही, घोराही, गडवा, भुरीगाउँ, भालुवाङ, सानोश्री, बाँसगढी, ठाकुद्वारा, राजापुर, खजुरा, कोहलपुर, बैजापुर, सिसेनिहा, विजयपुर, नारायणपुर, शमसेरगञ्जसहितका १९ वटा शाखाहरू सञ्चालनमा छन् ।
बैंकमा हाल डा. ओमप्रकाश मिश्रको अध्यक्षतामा युवराज अधिकारी, उषाा भण्डारी, निशार अमर दर्जी र टंकबहादुर बस्नेतसहितको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाह छन् । अधिकृत पुँजी ६० करोड तथा जारी पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९८ लाख २९ हजार सात रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले चार करोड आठ लाख ६१ हजार ४३ रुपैयाँ नाफा कमाएको थियो । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच अर्ब २१ करोड १८ लाख दुई हजार पाँच सय ६५ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ८१ करोड ५५ लाख ९७ हजार तीन सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ लाख ९१ हजार तीन सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा सात दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले चार अर्ब ५२ करोड २६ लाख ३७ हजार चार सय २७ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब ४१ करोड ८३ लाख १७ हजार दुई सय चार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ९३ लाख ९० हजार तीन सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको चार दशमलव ७४ प्रतिशत निष्क्रिय कर्जा थियो । ‘पछिल्लो दुई आर्थिक वर्षको वित्तीय अवस्थालाई हेर्दा हाम्रो बैंकको वित्तीय अवस्था सुधारोन्मुख रहेको छ’, कर्णाली डेभलपमेन्टमा सूचना अधिकारीको समेत जिम्मेवारी बहन गर्दै आएका डेपुटी म्यानेजर हरिहरप्रसाद श्रेष्ठले बताए । समस्याग्रस्त घोषणा गर्नु र शिघ्र सुधारात्मक कारबाही गर्नु फरक कुरा हो, कर्णाली डेभलपेन्ट बैंकलाई राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरेको हो, यसबाट हामी आत्तिनुपर्ने, हाम्रा निक्षेपकर्ता ग्राहकहरू हतोत्साही हुनुपर्ने कुनै कारण छैन, यो कारबाहीले बैंकलाई खासै फरक पार्देन, सबै निक्षेप सुरक्षित छ, बैंकको अवस्था सुधारोन्मुख छ, प्रवक्ता श्रेष्ठले बताए । ‘बैंकमा अहिले सबै क्षेत्रमा गरी एक लाखभन्दा बढी निक्षेपकर्ता ग्राहक छन्, बैंकको अवस्था सुधारोन्मुख रहेको छ, त्यस कारण राष्ट्र बैंकको कारबाहीबाट कोही पनि आत्तिनु पर्दैन’, उनले भने ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया