भन्सार नाकाहरुबाट अत्यावश्यक सामग्रीको आयात निरन्तर
प्रवीण राउत
काठमाडौं, असार २८
सरकारले भन्सार नाकाहरुबाट अत्यावश्यक वस्तु आयातलाई निरन्तरता दिएको छ । लकडाउन आंशिक खुल्ला गरे पनि खाद्यान्न, दलहन, तरकारी, औषधिलगायतका अतिआवश्यक वस्तुहरुको अभाव हुन नदिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुहरुको आयातनिर्यात सहज रुपमा भइरहेको छ । पछिल्लो समय रसुवागढी नाका सञ्चालनमा आएको छ । झण्डै छ महिनापछि सोमबारदेखि रसुवागढी नाकाबाट सामान आयात गरिएको छ ।
मन्त्रालयका अनुसार विभिन्न नाका हुँदै चैत ११ देखि असार २१ गतेसम्मको अवधिमा छ अर्ब पाँच करोड एक लाख ५४ हजार रुपैयाँबराबरको तयारी औषधि तथा एक अर्ब ९३ करोड ३८ लाख ३८ हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ आयात गरिएको छ । त्यसैगरी खाद्यान्न चार लाख २५ हजार एक सय मेट्रिक टन, दलहन एक लाख सात हजार पाँच सय मेट्रिक टन, तरकारी एक लाख २२ हजार छ सय मेट्रिक टन, फलफूल ४६ हजार आठ सय मेट्रिक टन र दुग्धजन्य पदार्थ १२ हजार पाँच सय मेट्रिक टन आयात गरिएको छ ।
यसैबीच लकडाउन सुरु भएयता औषधिको आयात आइतबार सबैभन्दा धेरै भएको छ । सो दिनमात्र १७ करोड ८० लाख ६६ हजार रुपैयाँको तयारी औषधि आयात भएको हो । त्यस्तै १७ करोड ८० लाख ६६ हजार रुपैयाँबराबरको औषधिको कच्चापदार्थ सोही दिन आयात भएको छ । यता असार महिनामा मात्र १ अर्ब ४७ करोड १६ लाख दश हजार रुपैयाँको औषधि तथा ४६ करोड ९५ लाख ५६ हजार रुपैयाँको औषधिको कच्चापदार्थ आयात गरिएको छ । त्यसैगरी एक लाख १२ हजार मेट्रिक टन खाद्यान्न, २९ हजार मेट्रिक टन दलहन, २३ हजार मेट्रिक टन तरकारी, सात हजार मेट्रिक टन फलफूल र एक सय ९४ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरिएको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश दाहालले असार दोस्रो सातामा तयारी औषधिको आयात उच्च भएको बताए । ‘असार ११ गते तयारी औषधिको आयात उच्च रहेको थियो’, उनले भने, ‘पछिल्ला दिनमा समेत तयारी औषधि र औषधिजन्य कच्चापदार्थको आयातमा वृद्धि भएको छ । असार ११ गते १६ करोड १८ लाख ५० हजार मूल्यबराबरको तयारी औषधि आयात भएको छ ।’
दुग्धजन्य पदार्थको आयात भने वैशाख ५ गते एकै दिन दश हजार आठ सय मेट्रिक टन आयात भएकोले वैशाखमा अत्यधिक आयात भएको छ । त्यसपछिका दिनहरुमा भने दुग्धजन्य पदार्थको आयात कम नै भइरहेको छ । आयातको प्रकृति हेर्दा चैतको तुलनामा वैशाख र वैशाखको तुलनामा जेठमा आयात बढेको पाइन्छ । यस्तै असार महिनाको तीन हप्ताको आयातको प्रवृत्ति हेर्दा खाद्यान्न, फलफूल र दुग्धजन्य पदार्थ पहिलो हप्तामा बढी आयात भएको छ । त्यसैगरी तरकारी र औषधि तथा औषधिजन्य कच्चा पदार्थ तेस्रो हप्तामा बढी आयात भएको छ । तर, यता तरकारी, फलफूल र दुग्धजन्य पदार्थको आयात भने वैशाखको तुलनामा जेठमा घटेको छ ।
जेठ महिनाको दोस्रो हप्तामा आयातित तरकारी र फलफूलको उपभोग नगर्ने भनी केही भन्सार नाकाहरुमा भएको अवरोधले गर्दा आयातमा कमी आएको मन्त्रालयले बताएको छ । त्यसैगरी उद्योग, कृषि तथा पशुपन्छी, कृषि सहकारीहरु र स्थानीय तहसँग समेत समन्वय गरी काठमाडौं उपत्यकानजिकका कृषकहरुबाट तरकारी बजारसम्म ल्याउन सहजीकरण गरेको कारण पनि आयात कम हुन गएको हो ।
पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण घट्यो : यस्तै पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण घटेको तथा खाना पकाउने एलपी ग्यासको आयात मागभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आइतबार चार हजार ९६ किलोलिटर आयात भएकोमा सात हजार छ सय ८० किलोलिटर बिक्री गरिएको तथा ५२ हजार चार सय ४० किलोलिटर मौज्दात रहेको छ ।
आइतबार पेट्रोल एक हजार छ सय ५२ किलोलिटर आयात गरिएकोमा एक हजार छ सय ७२ किलोलिटर बिक्री गरिएको छ भने छ हजार तीन सय ७१ किलो लिटर मौज्दात रहेको छ । यस्तै सोही दिन डिजेल दुई हजार तीन सय ६४ किलोलिटर आयात गरिएको छ भने पाँच हजार नौ सय ९२ किलोलिटर बिक्री गरिएको तथा ४० हजार १७ किलोलिटर मौज्दात रहेको छ । हवाइ इन्धन आयात गरिएको छैन भने ६५ किलोलिटर बिक्री गरिएको छ ।
त्यस्तै, हवाइ इन्धन चार हजार आठ सय ४३ किलो लिटर मौज्दात रहेको छ भने मट्टीतेल ८० किलोलिटर आयात गरिएकोे छ । मट्टीतेल एक सय ३० किलोलिटर बिक्री तथा एक हजार दुई सय नौ किलोलिटर मौैज्दात रहेको छ । यता एलपी ग्यास एक हजार चार सय ३२ मेट्रिक टन मौज्दात रहेको छ । सवारीसाधन सञ्चालन नहुँदा पेट्रोलियम खपत हुनसकेको छैन । यद्यपि पछिल्लो समय सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने भनेपछि व्यवसायीहरु सो निर्देशन मान्न तयार भएका छैनन् जसले गर्दा पेट्रोलियम पदार्थको खपत हुनसकेको देखिँदैन ।
१७ सय ९८ बाहिरिँदा १२ सय १५ ट्रक भित्रिए : असार २१ गते वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी)नाकाबाट चार सय ७९ वटा ट्रक भित्रिएको तथा पाँच सय नौवटा ट्रक बाहिरिएको छ भने बाँकी चार सय चारवटा ट्रक आउजाउ गर्न बाँकी छ । ती ट्रक नाकामै रोकिएका छन् । त्यसैगरी वीरगञ्जका आईसीडी नाकाबाट ९० वटा लरी भित्रिएको छ भने एक सय ३३ वटा लरी बाहिरिएको छ । नाकामा एक हजार छ सय ५१ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ भने भैरहवा नाकाबाट दुई सय ७० वटा ट्रक भित्रिएको तथा पाँच सय १२ वटा ट्रक बाहिरिएको र दुई सय ४४ वटा ट्रक आउजाउ गर्न बाँकी छ ।
यस्तै विराटनगर आईसीपी नाकाबाट एक सय ५७ वटा ट्रक भित्रिएको तथा चार सय ३४ वटा ट्रक बाहिरिएका छन् । त्यस्तै एक सय नौ वटा ट्रक आउजाउ गर्न बाँकी तथा विराटनगर आईसीडीबाट कुनै पनि ट्रक भित्रिएको तथा बाहिरिएको छैन । त्यसैगरी काँकडभिट्टाबाट दुई सय तीनवटा ट्रक भित्रिएको तथा एक सय ८३ वटा ट्रक बाहिरिएको छ भने ५२ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको र तातोपानी नाकाबाट १६ वटा ट्रक भित्रिएको र २७ वटा ट्रक बाहिरिएको छ भने ३६ वटा ट्रक आउजाउ गर्न बाँकी रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँले बढ्यो : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्रीवितरण हुनेछ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । वृद्धि भएको मूल्य गएराति १२ बजेदेखि लागू भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया