Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा विमानस्थल ६० प्रतिशत काम सम्पन्न, छ महिनाअघि हस्तान्तरण नहुने

पोखरा विमानस्थल ६० प्रतिशत काम सम्पन्न, छ महिनाअघि हस्तान्तरण नहुने


प्रवीण राउत
काठमाडौं, असार ३०
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न भएको छ । लकडाउनका बीच पनि निरन्तर काम भइरहेको हुँदा प्रगति देखिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले सामग्री र प्राविधिकलगायतको कामदारहरुको अभावका बीच पनि निरन्तर काम गरिरहेको बताए । ‘हाल टर्मिनल भवनको बाहिरी भाग, सहायक सडक, ट्याक्सी पार्किङ, ह्यांगर एप्रोन, आइसोलेटेड पार्कलगायतको निर्माणसम्पन्न गरेका छौँ’, उनले भने, ‘चिनियाँ र नेपाली गरेर दैनिक करिब साढे तीन सय जना कामदारले आयोजनामा नियमित काम गरिरहेका छन् । आयोजनामा काम गर्नेमध्ये धेरै संख्यामा नेपाली रहेका छन् ।’

अन्तर्राष्ट्रिय उडान तथा सीमा नाका बन्द हुँदा भने आयोजना निर्माणमा समस्या भएको बताइएको छ । सामान्य अवस्थामा प्राविधिक तथा अन्य कामदार गरी दैनिक साढे पाँच सय जनाले काम गर्ने गरेकोमा पछिल्लो समय सो संख्या न्यून हुँदा आयोजना प्रभावित बन्नपुगेको छ । ‘नेपाली कामदारहरु पनि सबै जना आयोजनामा काम गर्नका लागि आएका छैनन् भने चिनियाँ कामदारहरु समेत रोकिएका छन्’, प्रमुख मुनाकर्मीले भने, ‘अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द हुँदा करिब दुई सय जना चिनियाँ प्राविधिक तथा कामदारहरु नेपाल आउन नसकेका हुन् । यदि उडान सुचारु भएको खण्डमा भने प्राविधिकलगायतका कामदार आउने र विमानस्थल निर्माणको काम तीव्र रुपमा अघि बढ्नेछ ।’

सरकारले अन्तर्राष्ट्रिय उडान खुलाउने विषयमा छलफल चलाए पनि हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन । यस्तै सामान्य अवस्थामा एक्स्काभेटर, लोडर, क्रेनलगायतका एक सय १० वटा मेसिनरी सामग्री चल्ने गरेकोमा हाल भने १० वटा मात्र सञ्चालनमा रहेको छ । प्राविधिक तथा मजदुरहरु अभाव रहेको विषयमा चिनियाँ पक्षलाई जानकारी गराए पनि तत्काल नयाँ कामदार नराख्ने पक्षमा उनीहरु रहेका छन् ।

‘कोभिड १९ का कारण नयाँ कामदार नराख्ने चिनियाँ पक्षले जानकारी गराएको छ’, उनले भने, ‘यदि राख्नै परेमा पनि कोरोना परीक्षण गरेर क्वारेन्टाइनमा राखी काममा लगाउने भने पनि चिनियाँ पक्षले स्पष्ट निर्णय लिनसकेको छैन । जसले गर्दा न्यून कामदारले आयोजनामा काम गरिरहेका छन् ।’ सोही क्रममा विमानस्थल निर्माणको क्रममा भित्र रहेका मानिसहरु बाहिर र बाहिर रहेका मानिसहरु भित्र आउजाउ नगरून् भनेर प्रवेशद्वारमा ‘लक’ गरेर काम गरिरहेका छन् ।

आयोजनाका अनुसार चीनमा दुई सय जना प्राविधिकहरु रोकिनुको साथै विभिन्न सामग्री समेत आयोजनास्थलमा ल्याउन नसक्दा काम अघि बढ्नसकेको छैन । चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री तथा डोजर, एक्स्काभेटर, ट्रान्सफर्मर, इलेक्ट्रिक लगायतका सामग्री नआइसकेको हुँदा काम अघि बढ्न नसकेको हो ।

प्रमुख मुनाकर्मीका अनुसार आयोजनालाई आवश्यक सामग्रीहरु कलकत्ता बन्दरगाहमा रहेको छ । ल्याउनको लागि केही समय लाग्नेछ । चिनियाँ पक्षले केरुङ नाकाबाट सामग्रीहरु आयात गर्न असहज भएसँगै कलकत्ता बन्दरगाहबाट ल्याउनलागेको हो । त्यसैगरी सरकारसँग भएको सम्झौताभन्दा छ महिनाअगावै आयोजना निर्माणसम्पन्न गरी हस्तान्तरण गर्ने भने पनि अब सम्भव नभएको बताइएको छ ।

यसअघि नै लकडाउन अवधि बढ्दै गएमा विमानस्थल निर्माणको काम प्रभावित बन्ने बताउँदै आएको आयोजनाले पुनः सोही कुरालाई दोहो-याएको छ । ‘सामग्री अभाव, जनशक्ति अभावले गर्दा विमानस्थल छ महिनाअघि हस्तान्तरण गर्न सकिने अवस्था छैन’, उनले भने, ‘२०२१ जुलाईसम्ममा विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने सम्झौता भने पालना हुन्छ ।’ सरकारले २०२० मा सञ्चालनमा ल्याउने तयारीस्वरुप आयोजना अघि बढाएको थियो ।

यद्यपि पछिल्ला दिनमा समेत विमानस्थल निर्माणको काम वर्षाको कारण प्रभावित बन्नपुगेको छ । भारी वर्षाको कारण विमानस्थल निर्माणको काम अघि बढ्न नसकेको बताँउदै उनले भने, ‘गिट्टी, बालुवा, सिमेन्टलगायतका सामग्री स्टक भएको कारण सिभिलतर्फको काम नियमित भइरहेको छ । स्थानीय बजारमा उपलब्ध निर्माण सामग्री ल्याई विमानस्थल निर्माणको कामलाई अघि बढाइएको छ ।’ विमानस्थल निर्माणमा सरकारी असहयोग रहेको बताइँदै आएको छ । आयोजनाले सरकारले खाद्यान्न ढुवानी गरेजस्तै निर्माण सामग्री ल्याउनको लागि सहयोग गरेको भए काम अघि बढ्ने बताउँदै आए पनि सरकारले त्यसो नगर्दा समस्या हुनपुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x