विद्युत् खेर गएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौं, असार ३०
कोशी करिडोर प्रसारणलाइन निर्माणसम्पन्न हुन नसक्दा आफूहरुले उत्पादन गरेको विद्युत् खेर गएको भन्दै ऊर्जा उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव दिनेशकुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सिंहदरबारमा भेट गरी ध्यानाकर्षण गराएका हुन् ।
कोशी करिडोर निर्माणको चरणमा रहेको भए पनि प्रभावकारी रुपमा काम हुन नसक्दा उत्पादित विद्युत् खेर जाने तर तोकिएको ऊर्जा नपुगेको भन्दै प्राधिकरणले जरिवानासमेत तिराउने गरेकाले दोहोरो मार परेको उनीहरुको गुनासो छ । वैकल्पिक व्यवस्था गरेर ३३ केभी क्षमताको प्रसारणलाइनमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको भए पनि पुरानो प्रणालीको प्रसारणलाइन भएकाले १५ मेगावाट मात्रै विद्युत् सहजरुपमा प्रवाह हुनसकेको छ ।
पछिल्लो प्रविधिको प्रसारणलाइन भएको खण्डमा सोही क्षमताको प्रसारणलाइनले ३० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने अवस्था रहन्थ्यो । त्यसैमा डबल सर्किट हुँदा समस्या नहुने भए पनि पुरानो प्रणालीको प्रसारणलाइनका कारण जटिलता उत्पन्न भएको भन्दै समस्या समाधानका लागि उनीहरुले मन्त्री, सचिव र कार्यकारी निर्देशकलाई एकै स्थानमा राखेर समस्याको जानकारी गराएको तेह्रथुम पावर कम्पनीका प्रबन्धनिर्देशक मोहन डाँगीले जानकारी दिए । उनका अनुसार उत्पादित विद्युत् प्रसारणलाइनको अभावमा खेर गएको तर तोकिएबराबरको ऊर्जा नपाएको भन्दै प्राधिकरणले जरिवानासमेत गरेपछि आफूहरु मारमा परेको भन्दै समस्या समाधान गरिदिन आफूहरुले सामूहिक रुपमा आग्रह गरिएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई नेतृत्वको सो टोलीमा विभिन्न छ जलविद्युत् कम्पनीका प्रवद्र्धक सहभागी थिए । प्रवद्र्धकहरुको गुनासो सुनेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जा उद्यमीको माग जायज रहेको भन्दै वैकल्पिक व्यवस्था गरेर भए पनि समस्या समाधान गरिने प्रतिबद्धता जनाए । उनले निर्माणाधीन कोशी करिडोर प्रसारण लाइन सम्पन्न भएको खण्डमा कुनै समस्या नहुने तर सो लाइन निर्माण हुन केही समय थप लागेको खण्डमा वैकल्पिक व्यवस्था गरेर वा विद्यमान प्रसारण लाइनको क्षमता विस्तार गरेर भए पनि उत्पादित विद्युत् खेर जान नदिने बताए । उनले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने तर तोकिएको ऊर्जा नपाएको खण्डमा लाग्ने जरिवानालगायतका विषयमा समेत आवश्यक व्यवस्था गरिने र सम्बद्ध विभागलाई निर्देशन दिने उल्लेख गरे । ऊर्जा उद्यमीको गुनासो पछि ऊर्जा सचिव घिमिरेले कोशी करिडोर निर्माणका लागि आवश्यक पहल गरिने र जायज माग सम्बोधन गर्न हरतरहले प्रयास गरिने बताए ।
ऊर्जामन्त्री पुनले सरकारले निजी क्षेत्रको सबै खाले समस्या समाधान गर्ने बताए । उनले प्राविधिक विषयमा प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने र अन्य समस्या समाधानका लागि मन्त्रालयका तहबाट विशेष पहल हुने स्पष्ट पारे । उनले विभिन्न कारणले गर्दा तोकिएको समयमा प्रसारण लाइन निर्माण हुन नसकेको र पछिल्लो समयमा कोरोनाका कारणसमेत जटिलता देखिएको भन्दै समस्या समाधान गरिने स्पष्ट पारे । प्रसारणलाइनको अभावमा खोरुङ खोला, इर्खुवा खोला, तल्लो पिलवा, सवा खोलालगायतको आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको छ । निर्माणाधीन कोशी करिडोर प्रसारणलाइनको काम विविध समस्याका कारण तोकिएको समयमा सम्पन्न हुनसकेको छैन । यद्यपि, प्राधिकरणले आवश्यक प्रयास गरिरहेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया