Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिडका कारण चिनियाँ बन्दरगाह प्रयोगमा अझै अन्योल

कोभिडका कारण चिनियाँ बन्दरगाह प्रयोगमा अझै अन्योल


प्रवीण राउत
काठमाडौं, असार ३१
नेपाललाई व्यापारको लागि एउटा मुलुकमा अर्थात् भारतमा भर पर्नुपर्ने स्थितिबाट मुक्त राखेको चिनियाँ बन्दरगाह प्रयोगको विषय अझै अन्योलमा रहेको छ । नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौताको कार्याविधि (प्रोटोकल)अनुरुप चीनको सातवटा बन्दरगाह नेपाली पक्षले प्रयोग गर्न पाइने भए पनि कोभिडका कारण अन्योल देखिएको हो ।

सातमध्ये चारवटा सामुद्रिक र तीनवटा सुख्खाबन्दरगाह रहेका छन् । जनवरी १ देखि कार्यान्वयनमा आएको प्रोटोकलअनुरुप नेपाल व्यवसायीले चीनको सेन्जेन, लियान्युगाङ, तियान्जिन, झयाङीझयाङ सामुद्रिक बन्दरगाह तथा ल्हासा, सिगात्से र लान्जाओ सुक्खा बन्दरगाह प्रयोग गर्न नेपालले पाउँछ । तर ती बन्दरगाह प्रयोगको विषय भने कोभिड १९ कै कारण अन्यौलमा रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघ (एनटीएचबीसीए)ले बताएको छ । कोभिड १९ कै कारण चिनियाँ पक्ष अर्थात् चीनतर्फको भन्सार कार्यालयले सामग्री निर्यातमा बन्देज लगाएको छ भने आयातको स्थिति पनि नगन्य रहेको संघका अध्यक्ष बच्चु पौडेलले आर्थिक दैनिकलाई बताए ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि बन्दरगाह प्रयोगमा भने कुनै पनि कानुनी समस्या नरहेको बताएको छ । कार्यान्वयनमा आएसँगै बन्दरगाह प्रयोगमा भने कुनै कानुनी समस्या छैन तथा नाकाहरु समेत सञ्चालनमा रहेको मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले बताए । मन्त्रालयले भने व्यवसायीहरुलाई बन्दरगाह प्रयोगको विषयमा यसअघि नै जानकारी गराइसकेको बताँउदै उनले भने, ‘बन्दरगाहसम्म पुग्ने विषयमा भने दुवैतर्फको व्यवसायीहरुबीच प्रक्रियागत विषयहरु होलान् तथापि कोभिडका कारणले गर्दा पनि समस्या उत्पन्न भएको हुनसक्छ । मन्त्रालयले बन्रगाह प्रयोगमा सहजीरकण गरिदिने समेत बताएको छ ।’

संघले भने कानुनी आधार खुल्ला भए पनि प्रक्रियागत विषयहरु टुंग्याउनुपर्ने आवश्यकता रहेको बताएको छ । ‘दुवैतर्फका व्यवसायीहरु बसेर प्रक्रियागत विषयहरु टुंगो लगाउनुपर्ने थियो तर अहिलेको परिस्थितिमा त्यो सम्भव छैन’, अध्यक्ष पौडेलले भने, ‘त्यसैले बन्दरगाह प्रयोगको विषयलाई लिएर पर्ख र हेरको स्थितिमा छौँ ।’ चिनियाँ बन्दरगाह प्रयोग गर्न नपाएसँगै अहिले पनि कलकत्ता बन्दरगाह प्रयोग गरी सामग्री आयात गरिएको उनको भनाइ छ । सामान आयातनिर्यातको लागि कलकत्ता बन्दरगाह नै प्रयोग गरिरहेको उनले बताए । उनले भने, ‘चीनतर्फबाट स्पष्ट जानकारी नआउँदा कलकत्ता बन्दरगाह जानुपरेको हो ।’

चीनको बन्दरगाह प्रयोग गरिएको खण्डमा व्यवसायीहरुलाई मंगोलिया, जापान, दक्षिण कोरिया, भियतनामलगायतका मुलुकबाट सामग्री आयातनिर्यात गर्न सहज हुनेछ ।यसैबीच सरकारले चैत दोस्रो साता चीनतर्फको तातोपानी र रसुवा नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । रसुवा नाका पछिल्लो समय एकतर्फी रुपमा सञ्चालनमा रहेको छ अर्थात् चीनबाट भने सामग्री आयात भइरहेको छ । दैनिक तीन/चार कन्टेनर सामग्री आयात भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x