सुरेश राउत
काठमाडौँ, साउन २
नेपालले २०७६/०७७ को ११ महिनामा १० खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । नेपाल राष्ट बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार नेपालले ११ खर्ब ८१ करोड रुपैयाँबराबरको सामान आयात गरेको छ । यस अवधिमा जम्मा ८८ अर्ब रुपैयाँको सामान निर्यात गरेको नेपालले २०७६/०७७ मा १० खर्ब १२ अर्ब ८१ रुपैयाँबराबरको वैदेशिक व्यापारघाटा व्यहोरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि विश्वका धेरै देशहरुले जस्तै नेपालले पनि चैत ११ गते लकडाउन गरेको र यसको प्रत्यक्ष असर मुुलुकको आयातनिर्यातमा परेकाले पनि यस वर्ष गत वर्षको तुुलनामा आयात, निर्यात र वैदेशिक व्यापारघाटामा समेत विगतका वर्षहरुको तुुलनामा केही कमी आएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा कुल वस्तु निर्यात शून्य दशमलव दुुई प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ ११ दशमलव दुुई प्रतिशतले निर्यात वृद्धि हुुँदा चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४२ दशमलव एक प्रतिशत र १८ दशमलव तीन प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडीबुटी, प्लाष्टिकका भाँडा, एम.एस. पाइपलगायतका वस्तुको निर्यात बढे पनि जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा कुल वस्तु आयात १५ दशमलव तीन प्रतिशतले घटेको छ । वस्तुु आयात घट्नुको प्रमुुख कारण आन्तरिक उत्पादन बलियो भएको नभई कोभिड १९ को नियन्त्रणको लागि गरिएको लकडाउन देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव तीन प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २० दशमलव तीन प्रतिशत, नौ प्रतिशत र चार दशमलव एक प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, कम्प्युटर तथा पार्टपुर्जा, खाने तेललगायतका वस्तुको आयात बढेको भए पनि सुन, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको देखिएको छ ।
निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा कुल वस्तु व्यापारघाटा १६ दशमलव चार प्रतिशतले संकुचन आएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव दुुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यातआयात अनुपात आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दशमलव आठ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
चालू खाता घाटा ७१ अर्ब ६४ करोड : मुलुकको चालू खाता घाटा आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा ७१ दशमलव दुुई प्रतिशतले घटेर अर्ब ६४ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा दुई खर्ब ४९ अर्ब आठ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ११ महिनामा दुुई अर्ब २० करोड चालू खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब पाँच करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८० करोड रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ११ महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा एक अर्ब ५० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खुद सेवा आय झण्डै पाँच अर्बले घाटामा : आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाको अवधिमा खुद सेवा आय चार अर्ब ८९ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय नौ अर्ब २७ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १७ दशमलव तीन प्रतिशतले कमी आई ५७ अर्ब ८६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७० अर्ब २५ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ३५ दशमलव आठ प्रतिशतले घटेर ५१ अर्ब ८३ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २५ अर्ब १६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८० अर्ब ७८ करोड रहेकोमा शिक्षातर्फको व्यय ४० अर्ब ९९ करोेड रहेको राष्ट्र बैंकले जनाएको छ ।
११ महिनामा भित्रियो सात खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स : वैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण अर्थात् रेमिट्यान्समा कमी आएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा परेका कारण पनि रेमिट्यान्स रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को ११ महिनामा रेमिट्यान्स रकम तीन प्रतिशतले घटेर सात खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच दशमलव एक प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह आठ दशमलव एक प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२ दशमलव चार प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५ दशमलव सात प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २३ दशमलव ३१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या पाँचमलव दशमलव प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा तीन दशमलव छ प्रतिशतले कमी आई आठ खर्ब ७२ अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ दशमलव छ प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया