Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा जम्मा भएको विदेशी मुद्राले ११ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

नेपालमा जम्मा भएको विदेशी मुद्राले ११ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त


सुरेश राउत
काठमाडौं, साउन ५
नेपालको विदेशी मुुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी ११ महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव आठ प्रतिशतले बढेर २०७७ जेठ मसान्तमा १३ खर्ब छ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब दुुई अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा ११ खर्ब ४२ अर्ब ७८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा एक खर्ब ६३ अर्ब ६८ करोड पुगेको छ । २०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव पाँच प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ को ११ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ महिना तीन दिनको वस्तु आयात र ११ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४ दशमलव सात प्रतिशत, ९७ दशमलव सात प्रतिशत र ३२ दशमलव तीन प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०७६ जेठ मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ६३ दशमलव १३ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ जेठ मसान्तमा ३९ प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर ३८ दशमलव ५४ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ जेठ मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १३५१.२५ रहेकोमा २०७७ जेठ मसान्तमा २८ दशमलव तीन प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७३३.५० पुगेको छ ।

राष्ट्र बैंकका २०७६ असार मसान्तको तुलनामा २०७७ जेठ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ नौ दशमलव ६६ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ एक दशमलव आठ प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय २१ पाँच पैसा पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ रहेको थियो ।

राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकको लाइसेन्स स्थगन : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको लाइसेन्स तत्कालको लागि स्थगन गरेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक रुपमा सूचना जारी गर्दै भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सिस्टम अपरेटर) तथा भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)को कार्य गर्न यसअघि सैद्धान्तिक सहमति प्राप्त गरिसकेका संस्थाहरुबाहेक नयाँ अनुुमतिपत्र प्रदान गर्ने हालको लागि स्थगित गरिएको जानकारी दिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x