Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौँ महानगरपालिकाद्वारा करमा विशेष छुट

काठमाडौँ महानगरपालिकाद्वारा करमा विशेष छुट


काठमाडौँ, साउन ६
काठमाडौँ महानगरपालिकाले करमा विशेष छुट दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को प्रभाव तथा नेपाल सरकारबाट घोषणा भएको बन्दाबन्दीका कारणले महानगरबासीहरुमा असर परेको भन्दै आर्थिक वर्ष २०७७/०७८ मा महानगरबासीहरुले बुझाउनुपर्ने करमा विशेष छुट दिने भएको हो ।

काठमाडौँ महानगरपालिकाको सातौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ को पुस मसान्तभित्र सम्पत्ति कर बुझाएमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । त्यस्तै होटल वा रिसोर्टको नाममा दर्ता भई सञ्चालनमा रहेका करदाताहरुलाई आर्थिक वर्ष २०७६/७७ सम्मको घरजग्गा र सम्पति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति करमा पुस मसान्तसम्म ८५ प्रतिशत छुट हुने र माघदेखि आउँदो असार मसान्तसम्म ७५ प्रतिशत छुट हुने निर्णय गरेको छ ।

त्यसैगरी, महानगरले आर्थिक वर्ष २०७२/०७३ लाई व्यवसाय करको आधार वर्ष मान्ने र सोभन्दा पुरानो आर्थिक वर्षहरुको व्यवसाय कर बक्यौता र जरिवानामा शत प्रतिशत छुट दिने निर्णय गरेको छ । महानगरले सोमबार सूचना जारी गरी आर्थिक वर्ष २०७७/७८ मा लाग्ने व्यवसाय करमा आर्थिक ऐन, २०७७ को (ङ) खण्डमा उल्लिखित होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्यवसाय करमा ५० प्रतिशत छुट हुने तथा अन्य व्यवसायहरुको व्यवसाय करमा २० प्रतिशत छुट हुने जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७२/०७३ लाई बहाल करको आधार वर्ष मान्ने र सोभन्दा पुरानो आर्थिक वर्षहरुको बहाल कर बक्यौता र जरिवानामा शत प्रतिशत छुट दिने जनाएको छ । नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा घरधनीले कम्तीमा एक महिनाको बहाल छुट दिएमा आर्थिक वर्ष २०७७/७८ मा लाग्ने बहाल करमा १० प्रतिशत छुट हुने पनि महानगरले जनाएको छ । त्यसैगरी बन्दाबन्दीको कारण आर्थिक वर्ष २०७६/०७७ को सम्पूर्ण कर बक्यौतामा जरिवाना नलिने पनि महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x