Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि २०७७ कार्यान्वयनमा ल्याउन निर्देशन

राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि २०७७ कार्यान्वयनमा ल्याउन निर्देशन


सुरेश राउत
काठमाडा, साउन ७
नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ पूर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै असार २५ गतेदेखि नै लागू गरिएको पुनर्कर्जासम्बन्धी कार्यविधि २०७७ पूर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुरुप एकमुष्ठरुपमा प्रदान हुने पुनर्कर्जाको लागि यथासयमा आवेदन आह्वान गरिने भएकाले इजाजतप्राप्त संस्थाहरुले कार्यविधिमा उल्लिखित व्यवस्थाहरु अवगत गरी आवश्यक तयारी गर्न समेत अनुरोध गरिएको छ । राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको स्रोेतको रुपमा कृषि तथा उद्योग क्षेत्रको विकासको लागि छुट्याइएको विकास कोष’लगायत अन्य स्रोतबाट प्राप्त रकमलाई पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको रुपमा उपयोग गरिनेछ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकोले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै यो सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध स्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जा लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ । बैंकले समय–समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिनेछ ।

घरेलु, साना तथा लघुवित्त र विशेष पुनर्कर्जाअन्तर्गत नपरेकालाई भने साधारण पुनर्कर्जा मानिने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको लागि राष्ट्र बैंक स्वयंले दुई प्रतिशत एवं सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकहरुसँग पाँच प्रतिशतसम्म ब्याज लिन सक्नेछन् । यसैगरी विशेष पुनर्कर्जाको हकमा भने राष्ट्र बैंक स्वयंले लिने ब्याजदर एक प्रतिशत र इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले लिने ब्याज भने तीन प्रतिशत तोकिएको छ । साधारण पुनर्कर्जाको हकमा भने नेपाल राष्ट्र बैंकले लिने ब्याजदर तीन प्रतिशत र इजाजतप्राप्त संस्थाहरुले ग्राहकसँग लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुनेछैन । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अतिप्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।

राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ठ प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुनेछ । यसरी एकमुष्ठ प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुनेछैन । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन ।

राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुनेछैन । एकमुष्ठ रूपमा प्रदान गरिने पुनर्कर्जाको लागि बैंकले इजाजतपत्र प्राप्त संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ । राष्ट्र बैंकका अनुसार उक्त आह्वानमा तोकिएको समयावधिभित्र इजाजतपत्रप्राप्त संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनर्कर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउने गरी विवरण पेश गर्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x