Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई-चार पैसा कमाउन विदेशिने युवाबाट मेनपावर र दलालले ठगे साढे ५३ करोड

दुई-चार पैसा कमाउन विदेशिने युवाबाट मेनपावर र दलालले ठगे साढे ५३ करोड


काठमाडा, साउन ७
विदेश पठाउने नाममा मेनपावर र दलालहरुले युवाहरुको साढे ५३ करोड रुपैयाँ ठगी गरेको पाइएको छ । वैदेशिक रोजगारी अव्यवस्थित भएकै कारण गत आर्थिक वर्ष (२०७६/०७७) को चैत मसान्तसम्म मेनपावर र दलालहरुले कुल ५३ करोड ४८ लाख ७७ हजार रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागसमक्ष उजुरी दिएका हुन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप गत आवको चैत मसान्तसम्मको अवधिमा युवाहरुलाई मेनपवारले २९ करोड २६ लाख ४४ हजार रुपैयाँ तथा व्यक्तिले २४ करोड २२ लाख ३३ हजार रुपैयाँ ठगी गरेका छन् ।

लकडाउनको अवधिमा श्रम स्वीकृति स्थगन तथा वैदेशिक रोजगारीको क्रियाकलाप ठप्प हुँदा ठगीलगायतको उजुरी विभागसमक्ष नआएको विभागका एक अधिकारीले बताए । ‘अन्तर्राष्ट्रिय उडान बन्द र श्रम स्वीकृतले गर्दा युवाहरु विदेश जाने कुरा भएन । त्यसैले गर्दा युवाहरुमाथि विदेश जाने नाममा ठगी हुन पाएन’, ती अधिकारीले भने, ‘होइन भने विदेश पठाउने नाममा ठगीको क्रियाकलाप चलि नै रहन्थ्यो ।’

युवाहरुले सो रकम ठगी गरेको भन्दै संस्थागततर्फ नौ सय चारवटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी विभागसमक्ष दिएका छन् । उजुरी आएसँगै विभागले गरेको कारबाहीअनुरुप संस्था अर्थात् मेनपावरलाई चार करोड ९२ लाख ७० हजार रुपैयाँ बिगो भराएको छ भने ५१ वटा संस्थालाई विभाग आफैँले निर्णय गरी जरिवाना समेत गरेको छ । यस्तै विभागले व्यक्तिगत उजुरी भने वैदेशिक रोजगार न्यायाधिकरण तथा अदालतमा पठाएको छ ।

त्यसैगरी चैत महिनामा मात्र ५५ लाख ४० हजार रुपैयाँ ठगी गरेको भन्दै युवाहरुले २५ वटा उजुरी विभागमा दर्ता गराएका छन् । चैत ११ गतेदेखि लकडाउन सुरु भए पनि मेनपावर अर्थात् संस्थाहरुले करिब दुई साताको समयमा सो रकम ठगी गरेका हुन् । विभागले चैत महिनामा आएको २५ वटा उजुरी फरफारक गरे पनि बिगो रकम भने भराएको छैन । त्यसैगरी चैत महिनामा व्यक्तिगततर्फ एक करोड २४ लाख २९ हजार रुपैयाँ ठगी भएको छ । युवाहरुले यससम्बन्धी १४ वटा उजुरी विभागमा दर्ता गराएका छन् । सोही समयमा एक करोड २२ लाख २४ हजार रुपैयाँ बिगो दाबीसहित उनीहरुले नौवटा मुद्दा अदालतमा दर्ता गराएका छन् ।

यस्तै फागुन मसान्तसम्मको अवधिमा समेत मेनपावर र व्यक्तिले गरेर विदेश पठाइदिने नाममा युवाहरुमार्फत ५१ करोड ६९ लाख रुपैयाँ ठगी गरेको विभागले जनाएको छ । युवाहरुलाई विदेश पठाउने नाममा मेनपवार र व्यक्तिहरुले मासिक करोडौं रुपैयाँ ठगी गरेका छन् । ठगी गरेका मेनपावर र व्यक्तिहरुमध्ये थोरैले मात्र कारबाही भोग्छन् । ठूलो संख्यामा ठगी गर्नेहरु कानुनी कारबाहीबाट बाहिर नै रहने गरेका छन् । सोही कारण ठगी नियन्त्रणभन्दा पनि बढ्दै गएको छ । सरकारले श्रम सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा ठगी, न्यूनतम पारिश्रमिक, श्रमिक सुरक्षा लगायतका अनगिन्ती समस्याहरु देखा पर्दै आएको सरोकारवालाहरु बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x