Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक दूरी र ट्राफिक नियम पालनामा थप कडाइ गर्दै ट्राफिक प्रहरी

सामाजिक दूरी र ट्राफिक नियम पालनामा थप कडाइ गर्दै ट्राफिक प्रहरी


काठमाडौं, साउन ८
उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ । झण्डै चार महिनाको लकडाउन अन्त्य भएपछि उपत्यकाको सडकमा गुड्ने निजी तथा भाडाका सवारी साधनमा चाप देखिन थालेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरे/नगरेको, चालक र यात्रुले मास्क लगाएको/नलगाएको, तोकिएको भाडादर लिए/नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

‘उपत्यकाका २९ स्थानमा चेकप्वाइन्टका साथै बसपार्क, बस बिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘बुधबार मात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकलअनुसार नचलाइएका आठ सय ७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाईबुझाई गरेको छ ।’

त्यस्तै लकडाउन सुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो । लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरूप बिगारेर चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्नेउपर पनि बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘बुधबार मात्रै ट्राफिक नियम उल्लघंन गर्ने दुई सय ६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने ।

मापसे चेकिङ पनि सुरू : महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन (मापसे) चेकिङ पनि गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।

महाशाखाका अनुसार बेर्थलाइजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ । संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले विशेष आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x