Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुरिया मल ढुवानीका नाममा भारतीय नागरिक खुलेआम नेपाल प्रवेश

युरिया मल ढुवानीका नाममा भारतीय नागरिक खुलेआम नेपाल प्रवेश


विराटनगर, साउन १३
सीमामा खटिएका प्रहरीसँगको मिलेमतोमा भारतीय नागरिक निर्बाधरूपमा नेपाल प्रवेश गरिरहेका कारण प्रदेश १ को राजधानी विराटनगर नै असुरक्षित बन्दै गएको छ । कोरोनाको सन्त्रासले ४ महिनासम्म गरिएको लकडाउन हालै हटाइए पनि भारतसँगको अन्तर्राष्ट्रिय नाका भने बन्द छन् । तर, सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भारतीय क्षेत्रबाट निर्बाधरूपले भारतीय नागरिक रासायनिक युरिया मल लिएर नेपाल भित्रिरहेका दृश्य अहिले विराटनगरका लागि कुनै नौलो विषय बन्न सकेको छैन । मोरङ जिल्लाको जहदा, कटहरी, नयाँ बजार, कर्सीया र मायागञ्ज क्षेत्रबाट कृषि मल युरिया बोकेका भारतीय नागरीकहरूको लाइन नै लाग्नेगरेको कुरा स्थानीयले बताएका छन् ।

नेपाली कृषकले धानबाली लगाइसकेको अवस्थामा युरिया मलको आवश्यकता भएका कारण सरकारले समयमा मल उपलब्ध गराउन नसकेपछि अहिले भारतीय नागरिक आफैँ संम्लग्न भएर भारतीय युरिया मल दोब्बर पैसामा नेपाली किसानलाई युरिया मल बिक्री गरिरहेको कुरा नयाँ बजारका एक कृषकले बताएका छन् । त्यस्ता मल बोकेका भारतीय नागरिकबाट नेपालको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले आर्थिक लाभ लिएर नेपाल प्रवेश गर्न दिएको कुरा स्थानीयले बताएका छन् । जसले गर्दा पछिल्लो समय विराटनगरलगायत वरिपरिका क्षेत्रमा कोरोनाको संन्त्रास बढेर गएको दाबी पनि स्थानीयले गरेका छन् ।

माहानगरपालिकाले कोरोनाको उच्च जोखिम रहेको भन्दै सम्पूर्ण काम बन्द गरी कोरोना नियन्त्रणमा सक्रिय भएको बेला प्रदेश सरकार र संघीय सरकार निर्बाध नेपाल भित्रिएका भारतीय नागरिकको नियन्त्रणमा संवेदनशील नभएको कुरा स्थानीयले बताएका छन् । स्थानीयले दिएको जानकारीअनुसार प्रहरीको सेटिङमा भारतीय नागरिकले युरिया मलको निहुँमा नेपालतर्फ व्यवसाय गर्ने गरेका छन् । यसरी खुलमखुला भारतीयहरू नेपाल प्रवेश गर्दा मोरङका ग्रामीण सहरदेखि प्रदेश राजधानी विराटनगर महानगरपालिका समेत पछिल्लो समय कोरोना भाइरसको उच्च जोखिममा परेको छ ।

कोरोनाका कारण सीमा सिल भएपछि विराटनगर भन्सार कार्यालयले मालबाहकबाहेकका भारतीय नम्बर प्लेटका मोटरसाइकल र कारको भन्सार सुविधा दिएको छैन । सरकारले नै भारतीय नागरिक र निजी सवारी प्रवेशमा रोक लगाएपछि सुविधा काट्न छाडिएको कुरा विराटनगर भन्सारले बताएको छ । तर जिल्लाका सीमावर्ती क्षेत्र कर्सिया, जहदा, मायागञ्ज र रङ्गेलीलगायतका क्षेत्रमा भारतीय नागरिकहरू प्रहरीकै सेटिङमा निर्बाध आवतजावत गरिरहेको दाबी समाचारस्रोतहरूले गरेका छन् ।

अहिले भारतमा तीव्ररूपमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । तर नेपाल प्रहरीसँगको सेटिङमा भारतीय नागरिकले मल बोक्ने बहाना बनाएर धमाधमा नेपाल भित्रिरहँदा यसले प्रदेश १ को राजधानी विराटनगर नै उच्च जोखिममा परेको कुरा जानकाहरूले बताएका छन् । अविलम्ब सम्बन्धित निकायले नियन्त्रण गर्नेतर्फ कदम नचालेमा भोलिको दिन अझ ठूलो जोखिम हुनेतर्फ सचेत हुन विज्ञले सुझाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x