Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुनर्निर्माण प्राधिकरण दोलखामा पुनरावेदन दिनेको भीड

पुनर्निर्माण प्राधिकरण दोलखामा पुनरावेदन दिनेको भीड


सुबास बस्नेत
दोलखा, साउन १५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखामा गैरलाभग्राहीको सूचीमा नाम परेका भूकम्पपीडितहरूको भीड लाग्न थालेको छ । चौथो पटकको गुनासोमा समेत गैरलाभग्राहीको सूचीमा नाम आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा दोलखामा पुनरावेदन दिने भूकम्पपीडितको भीड लागेको हो ।

पुनर्निर्माण प्राधिकरण चरीकोटको तथ्यांकअनुसार ४ दिनको अवधिमा नौ सय जनाले पुनरावेदन दिएका छन् । पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनर्जाँच गर्न ३५ दिनको सूचना जारी गरेको हुँदा जिल्लाका ९ स्थानीय तहका नौ सय जनाले प्राधिकरणमा पुनरावेदन दर्ता गराएका हुन् । २ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा सात हजार एक सय ५५ जना गैरलाभग्राही सूचीमा परेका छन् । जसमध्ये हालसम्म नौ सय जनाले पुनरावेदन समितिमा पुनरावेदन पाऊँ भनी पुनरावेदन दिएका हुन् ।

दोलखामा ५ वर्षको अवधिमा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष दुई महिना पूरा हुँदा जिल्लामा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको हो । पुननिर्माण सकिएका मध्ये ५९ हजार चार सय ४४ लाभग्राहीले अन्तिम किस्ताबापतको रकम प्राप्त गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका निमित्त प्रमुख अश्विन पोखरेलले जानकारी दिए । निर्माण सुरु गरेका ६३ हजार एक सय ७२ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम पाइसकेका छन् । ७३ हजार तीन सय ४२ परिवार लाभग्राहीको सूचीमा रहेका छन् । त्यसमध्ये अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने लाभग्राहीको संख्या ६८ हजार छ सय ९७ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको वैतेश्वर र बिगु गाँउपालिकामा केही घरहरू दाताको सहयोगमा पुनर्निर्माणको काम सकिएको छ । कार्यालयका निमित्त प्रमुख पोखरेलले लकडाउनका कारण सुरुमा रफ्तारमा काम अगाडि बढाउन नसकिए पनि अहिले कामलाई निरन्तर अगाडि बढाइरहेको बताए । राज्यले तोकेकै समयमा दोलखाको पुनर्निर्माण सक्ने योजना रहेको उनले बताए । पुनर्निर्माण सम्पन्न गर्ने ३० हजार लाभग्राहीले निजी आवास निर्माणसम्पन्न प्रमाणपत्र समेत पाइसकेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x