Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसिसाखोलामा पुल नहुँदा सदरमुकाम ओहोरदोहोर गर्दा हिँड्नुपर्ने बाध्यता

सिसाखोलामा पुल नहुँदा सदरमुकाम ओहोरदोहोर गर्दा हिँड्नुपर्ने बाध्यता


महेन्द्र शाही
सोलुखुम्बु, साउन २०
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय सदरमुकाम आउँदा हिँड्नुपर्ने बाध्याता रहेको छ । नगरपालिकाका यी २ वडाका स्थानीयहरू वडा नम्बर ८ र ९ को सिसाखोलामा पुल नबन्दा हिँड्नुपर्ने बाध्यता भएको हो । यी वडामा सडक निर्माण भए पनि सिसाखोलामा पुल निर्माण हुन नसक्दा यो अवस्थाको अन्त्य हुन नसकेको स्थानीय पेम्बा शेर्पाले जानकारी दिए । सिसाखोलामा पुल नहुँदा सदरमुका सल्लेरी आउनका लागि कुनिखोप हुँदै हिँड्दै आउनुपर्ने अवस्था रहेको वडा नम्बर ९ गोराखानीका स्थानीय पेम्बा रिन्जी शेर्पाले बताए । यस्तो समस्या हरेक वर्ष वर्खाको समयमा यस्तो समस्या हुँदै आएको स्थानीयको भनाइ छ । यो क्षेत्रका स्थानीयलाई सदरमुकाम आउँदा ३ घण्टा लाग्ने गरेको छ ।

सामान्य कामका लागि भन्दा पनि सामान ढुवानीमा बढी समस्या हुने स्थानीयको भनाइ छ । यी दुई वडामा निर्वाचनको समयको अनुसार तीन हजार तीन सय ७३ जना जनसंख्या रहेको छ । आफ्नै सवारीसाधन हुँदा समेत हिँड्नुपर्ने बाध्यता छ । खोलापारिसम्म गाडी आउने र त्यहाँभन्दा माथि मानिसले सामानहरुसमेत बोकेर लानुपर्ने अवस्था रहेको वडा नम्बर १० सोल्नासाका स्थानीय दाबा तामाङले बताए । पुल नहुँदा बर्सेनि यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ ।

सिसाखोलामा अहिले बेलिब्रिज निर्माणको काम पनि भइरहेको र अर्को वर्षदेखि समस्या नहुने वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पाले दाबी गरे । निर्माणको जिम्मा लिएको कम्पनीले असोजसम्म बेलिब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको र पुल निर्माणपछि स्थानीयलाई सहज हुने उनको भनाइ छ । आफू पनि हिँड्दै जाने गरेको उनले सुनाए ।

बेलिब्रिज निर्माणका लागि नगरपालिकाको तीन करोड २३ लाख ३० हजार नौ सय ५५ रुपैयाँ ५८ पैसामा ठेक्का सम्झौता भई काम भइहरेको छ । माघमा सम्झौता भएको र अहिले पानीको बहाब बढेकाले काम रोकिएको निर्माणको जिम्मा लिएको दावा निर्माण सेवा कम्पनीका प्रमुख पामा लामाले बताए । यो पुल निर्माणका लागि मंसिरसम्मको समय रहेको र त्यसभन्दा अगाडि नै सक्ने लामाको भनाइ छ । लकडाउनका कारण पनि पुल निर्माणको काममा ढिलाइ भएको उनको भनाइ छ । अहिले एक तर्फको पिल्लर निर्माणको काम सकिएको र अर्कोतर्फको काम पानीको बहाब घट्नेबित्तिकै सुरु हुने उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x