Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेवाग्राहीको स्वास्थ्य सुरक्षाको कारण स्मार्ट लाइसेन्स वितरण स्थगन

सेवाग्राहीको स्वास्थ्य सुरक्षाको कारण स्मार्ट लाइसेन्स वितरण स्थगन


काठमाडौं, साउन २१
कोेभिड १९ को जोखिम बढ्दै गएसँगै यातायात व्यवस्था कार्यालय ललितपुरले यसको सुरक्षाको तयारी समेत थालेको छ । कार्यालयले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै हालको लागि स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) वितरण नगर्ने भएको हो ।

कार्यालयका प्रमुख सम्बर बहादुर कार्कीले सेवाग्राहीको भीडका कारण स्वास्थ्यमा असर पर्ने हुँदा सो निर्णय लिइएको आर्थिक दैनिकलाई जानकारी दिए । ‘हामीले सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै सोमबारदेखि स्मार्ट लाइसेन्स वितरण नगर्ने निर्णय लिएका हौँ’, उनले भने, ‘बढ्दो सेवाग्राहीका साथै कोरोनाका लागि आवश्यक स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढ्ने सम्भावना उच्च रहेको छ । कार्यालयले सेवाग्राहीका लागि सामाजिक दूरी, स्यानिटाइजरलगायतका सुरक्षाको उपायको व्यवस्था गरेको छ ।’

कार्यालयबाट वितरण भइरहेको स्मार्ट लाइसेन्स वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको तथा बन्दाबन्दी अवधिमा सवारी चालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने हकमा यातायात व्यवस्था विभागको प्रणालीमा सच्याएपश्चात् मात्र जरिवाना नलाग्ने, साथै आफ्नो मञ्जुरीनामासहित जरिवाना बुझाई नवीकरण गर्न चाहेको खण्डमा नियमानुसार नवीकरण गर्ने प्रमुख कार्कीले बताए । उनले अवस्था सामान्य भएपछि भने स्मार्ट लाइसेन्स वितरणलाई तीव्रता दिने बताए । ‘हामीले लकडाउनको अवधिमा पनि स्मार्ट लाइसेन्स छपाइको कामलाई निरन्तरता दिएका छौँ’, उनले भने, ‘भोलि अवस्था सामान्य हुनेबित्तिकै वितरण गर्नेछौँ ।’

सेवाग्राहीको अत्यधिक भीड हुनेमध्ये यातायात कार्यालय पनि एक हो, त्यसैले गर्दा कोरोनाको जोखिम बढ्दै जाँदा सेवाग्राही मात्र नभएर कार्यरत कर्मचारीमा समेत स्वास्थ्य जोखिम रहेको छ । ‘सेवाग्राहीको बाग्लो उपस्थितिका बीच सेवा दिनुपर्ने हुँदा कर्मचारीको स्वास्थ्य समेत जोखिममा रहेको छ’, प्रमुख कार्कीले भने, ‘त्यसैले गर्दा पछिल्लो समय हामीहरुको पनि स्वाब परीक्षण गरियो, सबै जनाको नेगेटिभ देखियो । जुन खुसीको कुरा हो ।’

दक्षिणकाली नगरपालिकाका सेवाग्राही सबिन केसीले पनि यातायात कार्यालयमा देखिएको भीडका कारणले असुरक्षित रहेको बताए । ‘स्मार्ट लाइसेन्स बनिसकेको भनी बुझेर लिन आएको थिएँ’, केसीले भने, ‘तर भीड देखेर मैले जोखिम मोल्ने निर्णय गरिन, अब अवस्था सामान्य भएपछि आउनेछु ।’ उनीसँगै आइतबार कार्यालय परिसरमा स्मार्ट लाइसेन्स लिन पुगेका थिए ।

यसैबीच कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सदस्यहरुले समेत कार्यालय भ्रमण गरेका थिए । उनीहरुले कार्यालयमा आउने सेवाग्राहीको संख्या उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका थिए । मुलुकभरका यातायात कार्यालयले प्रदान गर्ने स्मार्ट लाइसेन्स भने यातायात व्यवस्था विभागले छाप्दै आएको छ भने चार वर्षदेखि यसको वितरण समेत गर्दै आएको हो ।

विभागका सूचना अधिकारी तीर्थराज खनालले स्वास्थ्यलगायत विभिन्न समस्याका कारणले गर्दा स्मार्ट लाइसेन्स वितरणमा ससाना समस्या उत्पन्न हुन्छ भने त्यस अवस्थामा निर्णय लिने अधिकार सम्बन्धित कार्यालयको भएको बताए । सरकारले पाँच वर्षपहिले स्मार्ट लाइसेन्स सुरु गरेको हो भने त्यसको करिब एक वर्षपछि वितरण गर्न थालेको थियो । पछिल्लो समय भने स्मार्ट लाइसेन्स छपाइमा समेत तीव्रता दिएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x