Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग क्षेत्रमा वैदेशिक लगानी : १० वर्षमा ७८ अर्ब लेखाङ्कन

उद्योग क्षेत्रमा वैदेशिक लगानी : १० वर्षमा ७८ अर्ब लेखाङ्कन


प्रवीण राउत
काठमाडौं,साउन २२
नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ठूलो आकारको आउने गरे पनि सोअनुरुपको लगानी नआउने समस्या रहेको छ । यसैबीच विदेशी लगानीकर्तामार्फत नेपालको उद्योग क्षेत्रमा एफडीआई पछिल्लो १० आर्थिक वर्षमा करिब ७८ अर्ब रुपैयाँ लेखाङ्कन भएको छ । यो भनेको नेपाल भित्रिएको लगानी रकम हो ।

नेपाल राष्ट्र बैंकका अनुसार १० वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०६६/०६७ देखि आव २०७६/०७७ सम्ममा ७८ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ लेखाङ्कन भएको छ । गत आवको असार मसान्तसम्म १४ अर्ब छ करोड ८१ लाख भित्रिएसँगै एफडीआईमार्फत मुलुकको उद्योग क्षेत्रमा सो रकम भित्रिएको बैंकका प्रवक्ता डा. गुणाकार भट्टले जानकारी दिए ।

एफडीआईमार्फत उद्योग क्षेत्रमा आउने रकममध्ये बैंकले पछिल्लो १० वर्षमा सबैभन्दा बढी रकम आव २०७५/०७६ मा ३१ अर्ब ९७ करोड २७ लाख र सबैभन्दा कम आव २०६६/०६७ मा नौ करोड ७० लाख रुपैयाँ लेखाङ्कन गरेको छ ।

त्यसैगरी एफडीआईअन्तर्गत नै उद्योग क्षेत्रका लागि आव २०७४/०७५ मा आठ अर्ब छ करोड १४ लाख, आव २०७३/०७४ मा पाँच अर्ब ८६ करोड दुई लाख, आव २०७२/०७३ मा चार अर्ब चार करोड ६१ लाख, आव २०७१/०७२ मा पाँच अर्ब पाँच करोड १७ लाख रुपैयाँ लेखाङ्कन गरेको छ भने आव २०७०/०७१ मा पाँच अर्ब ४८ करोड ५५ लाख, आव २०६९/०७० मा तीन अर्ब छ करोड १६ लाख, आव २०६८/०६९ मा ६० करोड ९१ लाख रुपैयाँ बैंकले एफडीआई लेखाङ्कन गरेको छ ।

विदेशी लगानीकर्ताहरुले सोही समयमा राष्ट्र बैंकसमक्ष सबैभन्दा धेरै सेवा क्षेत्रका उद्योगमा २८ अर्ब १५ करोड ६१ लाख र सबैभन्दा कम सूचना सञ्चार तथा प्रविधिमा १८ करोड ८३ लाख लेखाङ्कन गरेको छ । त्यसैगरी कृषिजन्यमा ८७ करोड ३८ लाख, ऊर्जामा ६ अर्ब ४४ करोड ६५ लाख, उत्पादनमा २० अर्ब ९३ करोड ७६ लाख, पर्यटनमा पाँच अर्ब ६९ करोड ७७ लाख लेखाङ्कन गरेको छ ।

लेखाङ्कन भन्नाले विदेशीले नेपालमा ल्याएको रकम सम्बन्धमा राष्ट्र बैंकले अभिलेख राख्ने काम हो । बैंकले प्रत्येक आवमा रकम लेखाङ्कन गरे पनि सो रकम सोही आवमा नभित्रिने गरेको प्रवक्ता भट्टले बताए ।

बैंकले उद्योग विभाग र लगानी बोर्डलगायतका संस्थाहरुबाट आएको एफडीआई रकम लेखाङ्कन गर्ने गरेको छ । ‘हामीले विभागसमक्ष आउने तथा लगानीबोर्डमार्फत आउने अर्बौं रकमबराबरको रकम होस् वा साना, लघु तथा घरेलु उद्योगकै किन नहोस्, सबै एफडीआई लेखाङ्कन गर्ने गरेका छौँ’, उनले भने ।

बैंकका अनुसार लगानीकर्ताले आवश्यकताअनुसार लेखाङ्कन गर्ने भएकोले पहिले नै रकम ल्याएर खर्च गरेको र पछि मात्र बैंकमा आएर रकमको बारेमा जानकारी दिने गरेका छन् ।

विदेशी लगानीकर्ताले रकम ल्याएर खर्च भएको लामो समय अर्थात् केही वर्षपछि मात्र राष्ट्र बैंकमा आएर लगानी गरिएको रकमको बारेमा वा खर्च गरिएको रकमको बारेमा जानकारी गराउनसक्ने व्यवस्था हुँदा कुन आवमा कति रकम ल्याएको भन्ने विषय बताउन कठिन हुने गरेको छ ।

विदेशी लगानीकर्ताहरुले राष्ट्र बैंकमा रकम लेखाङ्कन नगरेमा उद्योग सञ्चालनबाट प्राप्त मुनाफा लैजान सक्दैनन्, जसले गर्दा उनीहरु बाध्य भएर राष्ट्र बैंकमा रकम लेखाङ्कन गर्नुपर्ने देखिन्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानीकर्ताहरुले उद्योग सञ्चालनका लागि ल्याएको पुँजीबारे बैंकमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x