Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभगवान् रामको जन्म नेपालकै अयोध्याधाममा : प्रधानमन्त्री ओली

भगवान् रामको जन्म नेपालकै अयोध्याधाममा : प्रधानमन्त्री ओली


काठमाडौं, साउन २५
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालकै अयोध्याधाममा भएकोमा दृढ देखिएका छन् । उनको उक्त भनाइको भारतले मात्र होइन उनकै नेकपाका नेताहरुले पनि विरोध गरिरहेको बेला प्रधानमन्त्री ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

शुक्रबार त्यहाँका वडा अध्यक्षलाई फोन गरेका प्रधानमन्त्रीले जनप्रतिनिधिलाई भेट गर्न शनिबार बालुवाटार बोलाएका थिए । उनीहरु शनिबार नै प्रधानमन्त्री निवास बालुवाटारमा आएका थिए । माडी नगरपालिकाका प्रमुखलगायतका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम सुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिएको राससले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा रामको जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायतका काममा सरकारको तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उपप्रमुख महतोले उल्लेख गरेको राससले जनाएको छ । माडीमा सहज यातायातका लागि समेत असुविधा भएको भन्दै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने प्रधानमन्त्रीसमक्ष माग राखेका थिए ।

स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गर्ने विश्वाससमेत दिलाएका थिए । भानु जयन्तीको दिन प्रधानमन्त्री ओलीले राम नेपालकै माडीको अध्योध्यायमा जन्मिएको बताएका थिए । साथै केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको भन्दै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिने बताएका थिए । सो अवसरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x