Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवेदकोटले आइसोलेसन केन्द्र सञ्चालनको खर्च लुकायो

वेदकोटले आइसोलेसन केन्द्र सञ्चालनको खर्च लुकायो


धन बहादुर जप्रेल
कञ्चनपुर, साउन २९
कञ्चनपुरको वेदकोट नगरपालिकाले नगर आइसोलेसन केन्द्र सञ्चालनमा लागेको खर्च लुकाएको छ । नगरपालिकाको कोरोनासम्बन्धी सार्वजनिक खर्च विवरणमा वेदकोट नगर आइसोलेसन केन्द्रको खर्च समावेश नगरी लुकाइएको पाइएको हो । वेदकोटले आइसोलेसन केन्द्र बनाउँदा स्थानीय तहलाई क्वारेन्टाइन सञ्चालनको मात्रै अधिकार दिइएको थियो । नगरपालिकाका कर्मचारीका अनुसार आइसोलेसन केन्द्रको भवन मर्मत, रंगरोगन, बेड निर्माण, लत्ताकपडासहित १० लाख बढी खर्च गरिएको थियो । स्थानीय तहले आइसोलेसन केन्द्र सञ्चालन अधिकार पाउनुअघि नै हचुवाका भरमा ६ शैयाको नगर आइसोलेसन केन्द्र बनाइएको थियो ।

नगरपालिकाले अधिकार क्षेत्रबाहिर गएर आइसोलेसन केन्द्र बनाएको आलोचना भएपछि त्यसलाई छाडिएको थियो । वेदकोटका मेयर अशोककुमार चन्दले आइसोलेसन केन्द्र निर्माण गरी उद्घाटन गरिएको भन्दै फेसबुकमा सामूहिक तस्बिर सार्वजनिक गरेका थिए । त्यसको उद्घाटन कार्यक्रममा उपमेयर सुशिला सिंहलाई भने बोलाइएको थिएन । मेयरसहित वडा अध्यक्ष र सदस्यहरूसहितको यो तस्बिर सार्वजनिक भएको केही दिनपछि एकाएक आइसोलेसन केन्द्र बन्द गरी क्वारेन्टाइन व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताए । क्वारेन्टाइन व्यवस्थापन गरिएपछि एकाएक बन्द गरिएको आइसोलेसन केन्द्रका लागि खरिद गरिएका बेडसहितका सामग्रीको अत्तोपत्तो नभएको कार्यालय स्रोतको दाबी छ ।

वेदकोटले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा ६३ लाख ७५ हजार खर्च गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा झण्डै डेढ करोड खर्च गरिएको छ । वेदकोट नगरपालिकाका सूचना अधिकारी शंकरदत्त भट्टले आइसोलेसन केन्द्र स्थापना गरिए पनि सञ्चालन नभएको बताए । ‘आइसोलेसन केन्द्र बनाइएको हो, सञ्चालन हुन सकेन’ उनले भने, ‘त्यसको खर्च पनि क्वारेन्टाइनमा जोडिएको हुन सक्छ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x