Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुको बेनीका स्थानीयद्वारा भालु धपाउने यन्त्रको निर्माण

सोलुखुम्बुको बेनीका स्थानीयद्वारा भालु धपाउने यन्त्रको निर्माण


महेन्द्र शाही
सोलुखुम्बु, साउन ३२
सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का स्थानीयले भालु धपाउने यन्त्र निर्माण गरेका छन् । किसानहरूले भालु धपाउन प्रयोग हुने उपकरण निर्माण गरी सफल परीक्षण समेत गरेको वडाध्यक्ष मिङमार शेर्पाले बताए । पहिलो चरणमा १० वटा यन्त्र निर्माण गरिएको जनाइएको छ । माथिल्लो क्षेत्रको अधिकांश क्षेत्रमा बर्खाको समयमा भालुले आतङ्क मच्चाउँदै आएको छ । गत वर्ष मात्रै भालुको आक्रमणबाट जिल्ला भरका छ जना घाइते भएका थिए । घाइतेमध्ये ४ जना सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ का व्यक्तिहरू थिए ।

उनीहरूले केही दिनअघि मात्रै डिभिजन वन कार्यालय सोलुखुम्बुमार्फत राहत रकम बुझेका छन् । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा नौ जना भालुको आक्रमणबाट घाइते भएका थिए । घरनजिकै बारीमा लगाएको खेती भालुले नष्ट गर्ने भएपछि यहाँका स्थानीय मकै पाक्ने समय रातभरि जाग्रम बस्ने गरेका छन् । घाँस काट्न गएको बेला भालुकै निसानामा पर्नेगरेका छन् । उनीहरूले बारम्बार भालु नियन्त्रण गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयसँग माग समेत गर्दै आएका छन् ।

भालुको आतङ्कले स्थानीय त्रसित भइरहेका बेला यो यन्त्रले ठूलो सहयोग गर्ने वडाध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे । कुनै पनि जङ्गली जनवारलाई मार्न वा क्षति पु-याउन नपाइने नीति भएकाले भालु धपाउन र बाली संरक्षणका लागि उक्त उपकरण सहयोगसिद्ध हुने शेर्पाले बताए । ‘एउटा यन्त्र निर्माणको लागि करिब दुई हजार रूपैयाँ मात्र खर्च लाग्ने रहेछ,’ वडाध्यक्ष शेर्पाले भने, ‘यसको जोखिम समेत कम हुने भएकाले उपयोगी नै छ जस्तो लाग्छ ।’ डिभिजन वन कार्यालय सोलुखुम्बुले यन्त्र निमार्णका लागि कच्चापदार्थका रूपमा पाइप, कार्बोहाइडेट र लाइटर उपलब्ध गराएपछि स्थानीयले निर्माण गरेको कार्यालयका सूचना अधिकारी डम्बर भण्डारीले बताए ।

परीक्षण सफल भएमा यन्त्र निमार्णलाई प्रथामिकता दिने डिभिजन कार्यालयले जनाएको छ । वडाध्यक्ष शेर्पाले भने वडाभित्रका १०० घरधुरीलाई उक्त यन्त्र वितरण गर्ने योजना बनाइएको बताए । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको नमुनालाई आधार बनाएर तयार गरिएको उक्त यन्त्रले बाँदर धपाउनदेखि अन्य जङ्गली जनावरलाई धपाउन समेत सहज हुने स्थानीयको भनाइ छ ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोसी, थुलुङदुधकोसी, सोताङ, महाकुलुङ र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको माथिल्लो क्षेत्र भालुको जोखिम क्षेत्र मानिन्छ । वर्षेनी भालु, दुम्सी, मृग, घोरललगायत जङ्गली जनावरले बाली नष्ट गरेपछि अधिकांश जग्गा बाँझो बन्न थालेको छ । यो यन्त्र निर्माणपछि खाद्यान्न जोगाउनका लागि सहज हुने स्थानीयको विश्वास रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x