Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगोजस्तै फैलियो कोरोना, राजधानीमै लाग्यो निषेधाज्ञा

आगोजस्तै फैलियो कोरोना, राजधानीमै लाग्यो निषेधाज्ञा


काठमाडौं, भदौ ४
देशका सहरी क्षेत्रमा कोरोना फैलिने क्रम जारी छ । बुधबार मात्रै छ सय ८१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एकै दिन सात जनाको कोरोनाको कारण मृत्यु भएको छ । मंगलबार एक हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो । संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमितको संख्या अत्यधिक भएपछि त्यहाँको स्थानीय प्रशासनले बुधबार रातिदेखि निषेधाज्ञा लगाएको छ । यस्तो निषेधाज्ञा बाहिरी जिल्लाहरुमा दुई साता अगाडिदेखि लाग्दै आएको छ ।

उपत्यका सबै जिल्ला तथा भारतलगायत विदेशबाट पनि आउनेको जमघट हुने मुख्य स्थान हो । यहाँ पछिल्लो एक सातामा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । त्यही भएर स्थानीय प्रशासनले निषेधाज्ञा कडा हुने जानकारी दिएका छन् । राजधानी उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरले निषेधाज्ञा लगाएका हुन् ।

‘खरमा आगो सल्किएर फैलिएको जस्तै राजधानीमा कोरोना फैलिन लाग्यो’, जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने, ‘बाँचिएछ भने चाडबाड अर्को वर्ष पनि मनाउन पाइन्छ । त्यही भएर निषेधाज्ञा कडा गर्नुपरेको हो ।’ बिहीबार नै महिलाहरुको चाड तीज सुरु भएको छ । यो बेला धेरै भीड हुने भएकाले स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको हो । यद्यपि चाडलाई लक्षित गरेर निषेधाज्ञा लगाएको भन्न भने चाहँदैनन् ।

निषेधाज्ञा लगाएर काठमाडौंमा परीक्षणलाई तीव्रता दिने स्थानीय प्रशासनको तयारी छ । एक साताको अवधिमा कोरोना संक्रमणको दर कस्तो देखिन्छ त्यहीअनुसार थप निर्णय हुने स्थानीय प्रशासनको भनाइ छ । बुधबार थपिएका छ सय ८१ नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकामा एक सय ५९ फेला परेका छन् ।

बुधबार थपिएका सङ्क्रमितमध्ये चार सय ६५ पुरुष र दुई सय १६ महिला छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक सय ३४, ललितपुरमा १७ र भक्तपुरका आठ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार पाँच सय २२ नमूना परीक्षण भएको थियो । हालसम्म पाँच लाख ५४ हजार तीन सय ८८ नमूना परीक्षण भइसकेको छ ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा एक सय २० जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको सङ्ख्या १७ हजार सात सय रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ६१ दशमलव दुई प्रतिशत हो । देशभरमा क्वारेन्टाइनमा रहनेको सङ्ख्या १३ हजार पाँच सय ७१ रहेको छ । देशभर जम्मा ११ हजार एक सय १८ सक्रिय सङ्क्रमितमध्ये सात हजार नौ सय २७ संस्थागत आइसोलेसन र तीन हजार एक सय ३१ होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशअनुसार संस्थागत सक्रिय सङ्क्रमित प्रदेश नं १ मा एक हजार ६०, प्रदेश नं २ मा दुई हजार ३७, वाग्मती प्रदेशमा दुई हजार छ सय ७९, गण्डकी प्रदेशमा ४ मा दुई सय ८८, प्रदेश नं ५ मा आठ सय ३८, कर्णाली प्रदेशमा दुई सय ४५ र सुदुर पश्चिम प्रदेशमा आठ सय ३० रहेका छन् । त्यस्तै, होम आइसोलेनमा प्रदेश नं १ मा दुई सय पाँच, प्रदेश नं २ मा दुई हजार पाँच सय ४५, वाग्मती प्रदेशमा एक सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा दुई सय चार, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ रहेका छन् ।

देशभरमा गरी एक सय १३ सङ्क्रमित आईसीयूमा छन् । प्रदेश नं १ मा १०, प्रदेश नं २ मा ४६, वाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा छ र प्रदेश नं ५ मा १२ जना आईसीयूमा रहेका छन् । वाग्मती प्रदेशमा छ जना सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् । नेपालमा प्रति १० लाख जनसङ्ख्यामा बुधबारसम्म १८ हजार नौ सय ९८ जनामा पीसीआर परीक्षण भएको छ भने प्रति १० लाख जनसङ्ख्यामा मृत्यु चार दशमलव एक रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा आठ सय ३० कल प्राप्त भएको पनि डा. गौतमले बताए ।

जिल्लागत रुपमा काठमाडौँमा एक सय ३४, ललितपुरमा १७ र भक्तपुरका आठ नयाँ सङ्क्रमित फेला परेका छन् । ओखढुङ्गामा एक, झापामा १६, पाँचथरमा एक, मोरङमा ६९, सुनसरी ३६, धनुषा २८, पर्सा १०८, बारा १५, महोतरी १२, रौतहट चार, सप्तरी १३, सर्लाही १९, सिरहा १९ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तै, चितवन २४, धादिङ एक, कास्की पाँच, गोरखा तीन, तनहुँ चार, नवलपरासी पूर्व १२, लमजुङ तीन, कपिलवस्तु छ, दाङ तीन, नवलपरासी एक, पाल्पा एक, प्युठान दुई र बर्दिया दुई छन् । बाँके १८, रुपन्देही ५२, जुम्ला नौ, दैलेख चार, सल्यान १७, सुर्खेत १३, अछाम तीन, कैलाली तीन र डोटीमा चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x