मजदुरी गरेर खाने परिवार खाद्य सङ्कटको जोखिममा
आशिष बहादुर बस्नेत
बझाड., भदौ ४
लकडाउन लम्बिँदै गएपछि दैनिक मजदुरी गरी जीविका चलाउँदै आएका हलिया परिवारमा खाद्य सङ्कटको जोखिम बढेको छ । दिनभर साहुको घरमा काम गरी साँझ चुलो बाल्ने उनीहरूलाई लकडाउनपछि काम नपाउने चिन्ता छ । थलारा गाउँपालिका सिरेटाको हलिया बस्तीका सेत्या लुहारले तीन सातादेखि काम पाएका छैनन् । उनी खेतीपातीको सिजनमा साहुको काम गर्ने र अरुबेला ज्याला मजदुरी गरी परिवार धान्दै आएका थिए । अलिकति पाखोबारीको कमाइले १० जनाको परिवारलाई तीन महिना खान पुग्दैन ।
मजदुरी गरेर जोहो गरेको दाल, चामल, गहुँ, नुन, तेल पनि सकिनलागेको छ । ‘मेरो परिवार ठूलो छ, रासन सकिनलागेको छ, काम पनि पाइँदैन, के खानु, केटाकेटीलाई के खुवाउनु ?,’ उनले चिन्तित हुँदै भने, ‘साहुलाई ऋण मागांँ भने पहिलेकै तिरेको छैनौँ ।’ उनीसँग साहुको अढाइ लाख ऋण छ । विशेषगरी खेतीपातीको सिजन सुरु भएपछि हलिया परिवारमा उत्साह जाग्छ । तर यसपाली उनीहरूलाई त्यो अवसर गुम्ने चिन्ता छ । सिजन सुरु भए पनि बाहिर जान नदिइएकाले साहुले काम लगाउने या नलगाउने कुनै टुङ्गो छैन । खेतीपातीकै सिजनबाट साहुलाई रिझाउने मौका गुमे वर्षभरि भोकमरी खेप्नुपर्ने हुन्छ ।
सेत्याका छिमेकी ६६ वर्षिया झिमा लुहार र उनकी छोरी कल्पना विकलाई पनि उही पिरलो छ । उनीहरूसित सातादिन पुग्ने चामलबाहेक अरु अन्नपात मौज्दात छैन । भएको चामल पनि साताअघि साहुबाट दुई हजार ऋण लिएर किनेका थिए । उनीहरूको परिवारलाई अरुबेला समेत छाक टार्न मुश्किल पर्छ । घरमा खानकै दुःखले यसपाली उनका छोराबुहारी कमाइ गर्न भारत पसे । नयाँ वर्षमा घर खर्च पठाउने भनेका थिए । तर पुसमा गएका उनीहरूले राम्ररी काम गर्न नपाउँदै कोरोना महामारी फैलियो ।
लकडाउनले गर्दा एकै कोठामा थुनिएका छन्, बेखर्ची भएर बसेका छन् । ‘भाइबुहारी भित्रका भित्रै छन् अरे, खर्च सकिएर फोनमा रिचार्ज गर्न पाएका छैनौँ भन्छन्,’ कल्पनाले भनिन्, ‘हामी पनि यता ऋण काढेर भात खाँदै छौँ, साहुको घरमा बेमौसम छ, गहुँ पाकेको छैन, कोरोनाले गर्दा कसैलाई कसैको घर नजाऊ भनेको छ ।’ उनीहरूको कमाइ खाने जग्गा छैन । झुप्रो घर भए पनि दोशा (अर्का)को जग्गा पर्छ । भान्सामा चुलो बाल्न साहुकै मुख ताक्नुपर्छ । चार जना साहुको ऋणको ब्याजमाथिको स्याज गरी दुई लाख रुपैयाँ ऋण छ । लकडाउनकै कारण साताअघि पनि ऋण थपियो । ‘हामी सुकुम्वासीलाई हेरिदिने कोही भएन, साहुको काम गर्न पाएनौँ भने भोकै हुन्छौँ,’ उनीहरूले भने ।
कोरोना महामारीको बेला सरकारले प्रदेश र स्थानीय सरकारमार्फत राहत प्याकेज वितरण गरिरहेको छ । तर, बझाङमा सेत्या र झिमाजस्ता धेरै हलिया परिवार राहतमा अटेका छैनन् । हलिया मुक्ति समाजका लेखापाल रामबहादुर सार्कीका अनुसार जयपृथ्वी नगरपालिकाको डाडाँगाउँमा ४२ हलिया परिवार छन् । जसमध्ये १४ परिवारले मात्रै राहत पाए ।
अन्य पालिकाहरूमा पनि केही परिवारले मात्रै राहत पाइरहेको बताए । ‘यहाँका सबै हलिया ज्यालादारी गरेरै पेट पाल्ने हुन्, सबैलाई राहत नदिँदा छुटेकाहरूले भोकै पर्नुपर्ने भयो,’ उनले भने । सरकारले हलिया मुक्तिका क्रममा गरेको परिभाषाअनुसार, ‘आफू, आफ्नो परिवार वा पुर्खाले लिएको ऋण वा अरू कसैको जमानी बसेकामा त्यस्तो ऋणको ब्याज चुक्ता गर्न ऋणदाताको कृषि श्रमिकका रूपमा वर्षभरि वा अर्धवार्षिक रूपमा हलिया, हली, गोठालो, बाउसे, खेताला, खलिया, डोलिया र भुण (कमारो)का रूपमा काम गर्ने व्यक्ति’ हलियाभित्र पर्छन् । खासगरी सुदुरपश्चिम र कर्णाली प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, हुम्ला, जाजरकोट र सुर्खेतमा हलिया प्रथाकै रूपमा विद्यमान थियो । बाजेबराजुको पालादेखिको ऋण चुक्ता गर्न नसक्दा उनीहरूले साहुको हलो जोत्दै आएका छन् ।
दशकअघि सरकारले गरेको हलिया मुक्ति कागजमा मात्रै सीमित छ । उनीहरूको अवस्था फेरिएको छैन । जसले गर्दा महामारी, विपद्को बेला उनै हलिया खाद्य सङ्कटको पहिलो शिकार हुनेगरेका छन् । लकडाउन बढ्दै जाने, काम नपाउने, सबैले राहत पनि नपाउने हो भने हलिया परिवार भोकमरीको चपेटामा पर्छन्,’ अधिकारकर्मी दिनेश नेपालीले भने । उनीहरूसँग घर, जग्गा पर्याप्त छैन । गाँस, बास र कपासको न्युनतम आवश्यकता पूरा गर्न धौधौ पर्छ । तत्कालीन जिल्ला विकास समिति, बझाङले २०७२ मा तयार पारेको ‘दलित प्रोफाइल’ मा १६ सय ८३ जना परिवारसँग आफ्नो घरजग्गा नभएको उल्लेख छ । उनीहरू सबैजसो ‘हलिया’ र ‘खलिया’ छन् । जसले गैरदलित समुदायको हलो जोत्ने, लुगा सिउने, ठेकी बनाउने, छाला र आरनको काम गर्ने र त्यसबापत पाइने खलो (अन्न)का भरमा गुजारा चलाउँछन् ।
तल्कोट गाउँपालिकाको भुलवाडा, ल्वारवाडा, खौला, सुनिकोट, मस्टा गाउँपालिकाको रिलु, मस्टा, भातेखोला, डुग्राकोट, रनाडा, जयपृथ्वी नगरपालिकाको डाँडागाउँ, छयाला, भण्डार, हेमन्तवाडा, रिठापाटा, छबीस पाथीभेरा गाउँपालिकाको उदयपुर, झुटेडा, ल्वाडा, व्यासी र दुर्गाथली गाउँपालिकाको गैरा, थलारा गाउाँलिकाको बिस्खेत, मालुमेला, पारा काट्ने, केदारस्युँ गाउँपालिकाको बागथला, देउरा, भामचौर, भैरवनाथ, बुङगल नगरपालिकाको खिरातडी, पीपलकोट देउलीकोट, खप्तड, छान्ना, गडराय, लामातोला, कालुखेती, पौवागढी, पाटादेवललगायत गाउँमा करिब एक हजार दुई सय ‘हलिया’ परिवार छन् । जो लकडाउनले गर्दा खाद्य सङ्कटको जोखिममा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया