Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाका कारण तय हुन सकेन  नेपाल–भारत पारवहन सन्धि बैठक

कोरोनाका कारण तय हुन सकेन  नेपाल–भारत पारवहन सन्धि बैठक


काठमाडौं,भदौ ५

कोभिड १९ को विश्वव्यापी महामारीबाट अन्य क्षेत्रजस्तै नेपालको वाणिज्य क्षेत्र पनि प्रभावित बन्नपुगेको छ । नेपाल–भारतबीच स्वतः नवीकरण भएको नयाँ पारवहन सन्धिले अन्तिम रुप लिनसकेको छैन । कोभिडका कारण नयाँ पारवहन सन्धिको अन्तिम मस्यौदामा सहमति भइसके पनि हस्ताक्षर हुन नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘कोभिडकै कारण दुई मुलुकबीच बैठक बस्न सम्भव नहुँदा नयाँ सन्धिमा हस्ताक्षर हुन नसकेको हो’, मन्त्रालयका वाणिज्य सचिव वैकुण्ठ अर्यालले भने, ‘हामीले बैठकका लागि भारतीय पक्षलाई प्रस्ताव पठाएका छौँ । आशा छ छिटै बैठक बस्नेछ ।’

दुवै मुलुकले जेठभित्र वाणिज्यमन्त्रीको उपस्थितिमा मन्त्री तहबाट हस्ताक्षर गर्ने कार्यक्रम रहे पनि कोभिडकै कारण त्यो सम्भव नभएको हो । नयाँ सन्धिमार्फत नेपालले तेस्रो मुलुकसँग व्यापारका लागि जलमार्ग प्रयोग गर्न पाउने थियो भने भैरहवा, विराटनगर बल्क कार्गोको समेत सुविधा प्राप्त हुने थियो ।

गत मंसिर १०, ११ गते नेपाल–भारत सन्धि पुनरवलोकन गर्न काठमाडौंमा दुई पक्षबीच संयुक्त बैठक बसको थियो । सो बैठकमा भारतको आन्तरिक जलमार्ग (इनल्यान्ड वाटरवेज)को मोडालिटी तयार गरेको थियो । सोअनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कोलकातासम्म नेपालको झण्डायुक्त आफ्नै पानीजहाज सञ्चालन गर्नसक्ने सहमति भएको थियो ।

त्यसैगरी नयाँ सन्धिअनुरुप बल्क कार्गो ढुवानीमा भने वीरगञ्जबाट मात्रै हुँदै आएकोमा विराटनगर र भैरहवाबाट पनि बल्क कार्गो ल्याउनसक्ने सुविधा नेपालले पाएको हो । बल कार्गोअन्तर्गत कोइला, क्लिंकरलगायतका धेरै परिमाणका वस्तुहरु अर्थात् प्याकेटबाहेकका औद्योगिक कच्चा पदार्थ पर्छन् । जल यातायातअन्तर्गत भने नेपालको समुद्रसम्म पहुँच हुनेछ जसअनुसार नेपाली व्यवसायीले समुद्रबाट सामान आयातनिर्यात गर्न सक्नेछन् ।

यता निर्यात व्यवसायी संघका सचिव दुर्गा बहादुर थापाले पारवहन सन्धि समयमा हुनसक्दा नेपाली पक्ष लाभान्वित हुने बताए । ‘हाल विषय परिस्थिति रहेको छ यदि सरकारीस्तरबाट पहल गरी समयमै पारवहन सन्धि भएमा नेपाली पक्षलाई फाइदा हुनेमा निश्चित छ’, उनले भने, ‘हामीले विषय परिस्थितिमा पनि उद्योगधन्दा सञ्चालन गरेका छौँ । सीमित भए पनि सामग्री निर्यात गरिरहेको अवस्था छ । नयाँ सन्धिले जलमार्गको सुविधा प्रदान गर्दा हामीलाई उत्साह हुनेछ ।’

परिस्थिति सामान्य भएपछि यसको उपयोग बढ्ने निश्चित रहेको सचिव थापाको भनाइ छ । नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारका लागि कोलकाता पोर्टमा मात्र भर पर्नुपर्दा समस्या हुँदै आएको नेपाली व्यवसायीहरुको भनाइ छ । ‘कोलकाता पोर्टमा मात्र भरपर्दा त्यहाँका एजेन्ट, व्यवसायीहरुमार्फत हामीले समस्या भोग्दै आएका छौँ’, उनले भने, ‘थप जलमार्गले हामी लाभान्वित हुनेछौँ ।’

भारत अन्तर्राष्ट्रिय व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार हो । नेपाल आयात हुने वस्तुमध्ये अधिकांश भारत हुँदै नेपाल प्रवेश गर्छन् । हालसम्म स्थलमार्ग र रेलमार्गको उपयोग हुँदै भारतबाट वस्तु आयात हुने गरेको छ । ५ जनवरी सन् २०२० मा नेपाल भारत पारवहन सन्धिको म्याद सकिएको हो भने म्याद सकिए पनि स्वतः नवीकरण हुने व्यवस्था हुँदा बैठक आवश्यक रहेको हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x